मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्माण टिमकाे दाबी: ‘नमेटिने घाउ’ फिल्म मात्र नभएर एउटा अभियान हो

काठमाडौँ– सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’का निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मलाई एसिड आक्रमण जस्तो जघन्य अपराधलाई पूर्ण रुपमा रोक लगाउने एउटा अभियानकै रुपमा रहेको बताए ।

बिहीवार राजधानीमा पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर रिलिजकै अवसरमा ढुंगानाले उक्त धारणा राखेका हुन् । ‘सामाजिक चेतना र अभियानका साथमा हाम्रोमा कमै फिल्म बनेका छन्,’ उनले भने, ‘फिल्ममा प्रधानमन्त्री, माननीय र प्रहरी प्रशासन समेत हुनुहुन्छ । एसिड सर्भाइभरले भोगेको पीडा जस्तै अरुले भोग्न नपरोस् भन्ने हाम्रो यो फिल्म मात्र नभएर एउटा अभियान हो ।’

एसिड बजारमा सजिलै किन्न सकिने भएकोले श्रीमानरले श्रीमतीलाई, प्रेमीले प्रेमिकालाई एसिड आक्रमण गरिरहेको घटना भइरहेको सुनाउँदै उनले यस्ता आपराधिक गतिविधिलाई रोक लगाउन जनचेतनाकै लागि यस्ता खाले फिल्महरु बन्नुपर्ने धारणा राखे । एसिड आक्रमणमा परेकाहरुको शरीरको मात्र नभएर मनको घाउ समेत कहिल्यै नमेटिने भएकोले फिल्मको नाम नै ‘नमेटिने घाउ’ जुराएको उनले सुनाए ।

सार्वजनिक भएको ट्रेलरमा एसिड आक्रमणको पीडादायी अवस्थादेखि पीडितले न्याय पाउनुपर्ने पक्षमा यस विरुद्धको आन्दोलन र नारा जुलुसहरु भएको देखाइएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा एसिड आक्रमणका परेका मुस्कान खातुन, जेनी खड्का र रामराजा थापा समेत सहभागी थिए । फिल्ममा समेत देखिएकी खातुन एसिड आक्रमणको क्षणलाई स्मरण गर्दा भावुक बनिन् । उनले भनिन्, ‘१४ वर्षको उमेरमा एसिड भन्ने चीज नै मलाई थाहा थिएन ।

जतिबेला ममाथि आक्रमण भयो, त्यतिबेला कसैले मलाई जिउँदै जलाएको जस्तै भएको थियो । त्यो क्षण सम्झँदा मलाई अझै डर लाग्छ ।’ यस्तो पीडा अरुले भोग्नु नपरोस् भन्ने कामना गर्दै उनले भोगेकाहरुलाई पनि हिम्मत जुटाएर अगाडि आउन आग्रह गरिन् ।

उनले जोडिन्, ‘जलेको अनुहार त फर्कँदैन तर मेरो अनुहार जलेपनि सपना र हिम्मत जलाउन सक्दैन ।’ यस्तो अपराधलाई रोक लगाउन र यसबारे जनचेतना जगाउन यस्ता फिल्महरु धेरै बन्नुपर्ने उनको मत छ ।

खातुनको धारणामा सहमति जनाउँदै खड्काले एसिड सर्भाइभरहरुलाई विगतको इतिहास कोट्याएर फेरि दुःख बल्झाउने खालका प्रश्न नगर्न आग्रह गरिन् । एसिड आक्रमण र कसरी र किन भयो खालका प्रश्नले पीडितहरुको तन र मनमा लागेको घाउ बल्झने सुनाउँदै उनले यस्ता प्रश्नको सट्टामा आत्मबल बढाउने र समाजमा समान रुपमा बाँच्न सक्ने वातावरण दिनुपर्ने बताइन् ।

निकै कम स्रोत र साधनबाट निर्माण गरिएको फिल्मले एसिड आक्रमण जस्तो अपराधलाई रोक लगाउन सहायता पुर्‍याउने निर्देशक ढुंगानाको विश्वास छ ।

फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीलाई समेत अतिथि भूमिकामा देख्न सकिन्छ ।

शिवम अधिकारीको लेखन रहेको फिल्ममा निर्मातामा अमित ढुंगाना लगायत ढुंगाना परिवार समेत छन् । फिल्मको सम्पादनमा बनिश शाह, सन्देश शाह, छायाङ्कनमा निरज कँडेल छन् ।

कार्यकारी निर्माता मिरन पोखरेल रहेको फिल्ममा सङ्गीतमा ओम सुनार, द्वन्द्वमा किरण दाहाल र मुख्य सहायक निर्देशनमा रोजल थापा छन् ।
फिल्म भदौ ७ गते प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?