मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मी मौसममा हैजा सर्नबाट कसरी जोगिने ?

गर्मी मौसममा विभिन्न प्रकारका सरुवा रोगहरुले सताउने गर्दछ । यो मौसम झाडापखाला, आउँ, हैजा, भाइरल ज्वरो रुघाखोकी लगायत रोगहरुको सिजन हो । यसकारण जाडो महिनाको तुलनामा शतर्कता अपनाउन चिकित्सकहरू सुझाव दिन्छन् ।

केही समययता काठमाडौँ लगायत नेपालका विभिन्न स्थानमा हैजा संक्रमितको सङ्ख्या बढ्दो छ । यसकारण हैजा कस्तो स्वास्थ्य समस्या हो ? हैजा के–कस्ता कारणहरुले गर्दा फैलन्छ ? यो रोग सर्नबाट कसरी बच्ने लगायतका सन्दर्भमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

हैजा कस्तो रोग हो ?

हैजा भनेको एक प्रकारको सरुवा रोग हो । यसले झाडाबान्ता गराउँछ । विशेषगरी धेरैपटक धेरै पातलो दिसा गराउँछ । यसकारण शरीरको पानी धेरै नै खेर भएर मानिसहरुमा डिहाइड्रेसन भएर समयमा उपचार गरिएन भने मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ ।

यो रोग लाग्नुका कारक तत्वहरु के–के हुन् ?

‘भिब्रिओ कोलेरा’ नामक जीवाणुको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा यो रोग लाग्ने गर्छ । हैजा मुख्यतया सरसफाइको अभावका कारण प्रदुषित भएको खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ । पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सर्छ ।

यसका लक्षणहरु कस्ता हुन्छन् ?

पेट दुख्ने, धेरै पटक पातलो दिसा हुने, बान्ता हुनु, हैजामा धेरैपटक धेरै नै पटक पातलो दिसा हुन्छ । अकस्मात् र छिनछिनमा पानीजस्तो पातलो दिसा दिनमा १०–१५ पटक हुनु, लगातार दिसा र बान्ता भइरहनु, दिसामा मासी तथा रगतको अंश देखिन थाल्नु, लगातारको दिसा र वान्ताका कारण शरीरमा पानीको कमी हुन थाल्नु र मुख, घाँटी सुक्नु र तिर्खा लागिरहने जस्ता लक्षण देखापर्दछन् ।

हैजा एक व्यक्तिमार्फत कसरी अर्को व्यक्तिमा सर्छ ?

सरसफाइ नभएका फोहोर ठाउँहरूमा हैजा हुने र फैलिने सम्भावना बढी हुन्छ । रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्ने सम्भावना हुँदैन तर सङ्क्रमित व्यक्तिको कपडा लगाउँदा, एउटै पानी, साबुन प्रयोग गर्दा र उसँग नजिक रहँदा यो रोग सर्ने हुन्छ ।

यसबाट के–कस्ता जटिलता निम्तिन सक्छन्?

हैजाका बिरामीहरूको समयमै उपचार गरिएको खण्डमा बिरामीहरू निको हुन्छन् । हैजाले बालबालिका र वयस्क दुवैलाई असर गर्छ र उपचार नगरिए ज्यान समेत लिन सक्छ । गम्भीर हैजा भएका व्यक्तिहरूमा गम्भीर निर्जलीकरण हुन्छ अर्थात् शरीरमा पानीको मात्रा निकै कम हुन्छ । जसलाई यदि समयमै उपचार नगरिएमा बिरामीको मृत्यु समेत हुन सक्छ । करिब १० जना बिरामीमध्ये एक जना हैजाका बिरामीमा गम्भीर लक्षण विकास हुन्छ ।

यसको रोकथामका लागि उपचारका उपायहरु के–के छन् ?

हैजा लागेका बिरामीमा मुख्यगरी पानी र इलेक्ट्रोलाइट्सको कमी हुने हुनाले तरल पदार्थ शरीरमा कमी हुन नदिन विशेष ध्यान दिनुपर्छ । जसका लागि सामान्य अवस्थामा जीवनजल पानी खुवाउने र आवश्यक परेमा सलाइन पानी पनि दिनुपर्छ । साथै ल्याब रिपोर्टको आधारमा र चिकित्सकको सल्लाह अनुसार आवश्यक एन्टिबायोटिकहरु पनि दिन साकिन्छ ।

झाडापखाला लागेर हैजा हुने हो अथवा झाडापखाला र हैजा एकै समस्या हुन् ? यी दुईबिच के फरक छ ?

हैजा भनेको झाडापखाला गराउने एक कारक तत्व हो । विभिन्न कारणहरुले झाडापखाला हुने गर्छ र यहि कारणहरुमध्ये हैजा एक सक्रामक तत्व हो, जसकारण भाडापखाला, निमोनिया, आउँ, टाइफाइड जस्ता अन्य सरुवा रोगहरु पनि लाग्ने सम्भावना हुन्छ ।

यसबाट बच्न कस्ता सुझावहरु दिनुहुन्छ

यसको रोकथामका लागि स्वच्छ, सफा, उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउनुपर्छ । दिसापिसाब गरेपछि वा केही काम गरेर फर्किए पश्चात् साबुनपानीले राम्ररी मिचीमिची हात धुनुपर्छ । शौचालयमा मात्र दिसापिसाब गर्ने, खानेपानीको स्रोत वरीपरी दिसापिसाब नगर्ने, भान्साकोठा र शौचालयको सरसफाइमा विशेष ध्यान दिने, साथै हैजाको बिरामीको दिसा उचित रूपमा व्यवस्थापन गर्ने र बिरामीको हेरचाह गर्ने व्यक्तिले आफ्नो शारीरिक सफाइमा विशेष ध्यान दिन सकेमा हैजाबाट बच्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?