मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यक्ति

अर्थशास्त्र पढाउन अमेरिकाबाट बङ्गलादेश फर्किएका मोहम्मद युनुस

नोबेल पुरस्कार विजेता युनुसको आरोह अवरोहको कथा

काठमाडौँ– विद्यार्थी आन्दोलन चर्किँदै गएपछि बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएसँगै पूर्वबैंकर मोहम्मद युनुसको नेतृत्वमा सरकार बन्ने भएको छ ।

आन्दोलन हिंसात्मक भएपछि राजीनामा दिएर विगत १५ वर्षदेखि सरकार चलाउँदै आएकी प्रधानमन्त्री हसिनाले देश छाडिसकेकी छिन् ।

हसिनाले देश छाडेसँगै राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद भंग गरेका छन् । यससँगै बंगलादेशमा राजनीतिक संकटको अवस्थामा पुगेको छ । ‘गरीबका बैंकर’ उपमा पाएका युनुसले देशलाई राजनीतिक निकास दिनका लागि अब अन्तरिम सरकारको नेतृत्व गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

आन्दोलनकारी विद्यार्थी, सैनिक अधिकारी तथा नागरिक समाजका अगुवा सहभागी बैठकले युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न दिने निर्णय गरेको हो ।

युनुसले लामो समयदेखि प्रधानमन्त्री हसिनाको आलोचकका रुपमा बंगालदेशी समाजमा पहिचान बनाएका थिए । सन् १९४० मा तटीय शहर चटगाउँमा जन्मेका जन्मेका युनुसले ढाका विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

पछि फुल्ब्राइट छात्रवृत्ति पाएर उनी अमेरिकाको भाण्डरबिल्ट विश्वविद्यालयमा पढ्न गए । त्यहाँबाट उनले सन् १९६९ मा अर्थशास्त्रमा पीएचडी गरेका थिए । त्यसको एक वर्षपछि उनले अमेरिकाको मिडिल टेनिसी स्टेट विश्वविद्यालयमा सहायक प्राध्यापकका रुपमा अर्थशास्त्रको अध्यापन थालेका थिए ।

तर, बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता पाएको एक वर्षपछि सन् १९९२ मा युनुस स्वदेश फर्किए । चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्र पढाउन भनेर स्वदेश फर्केका उनको जीवनमा अर्को मोड आयो ।

उनी स्वदेश फर्केको दुई वर्षपछि बंगलादेशमा अनिकाल पर्‍यो । सन् १९७४ मा परेको अनिकालका कारण १५ लाख बंगलादेशीले ज्यान गुमाउनुपर्‍यो ।

अनिकालले मानिसहरुको ज्यान गइरहेको बेला उनलाई अर्थशास्त्रका सिद्धान्तहरु पढाउन खासै रुचि लागेन ।

‘बंगलादेशमा भयानक अनिकालको पृष्ठभूमिमा मैले विश्वविद्यालयका कक्षाकोठामा अर्थशास्त्रका सिद्धान्त पढाउनु मलाई कठिन लाग्यो ।’ उनले एक पटक भनेका थिए, ‘गरिबी र भोकमरीको अवस्थामा एक्कासी मैले ती सिद्धान्तमा शून्यताको अनुभव गरेँ ।’

‘मैले मेरा आसपास रहेका मानिसहरुलाई सहयोग गर्न तत्कालै केही गर्न चाहेँ ।,’ उनको भनाइ थियो ।

त्यसपछि उनले आफ्नो समुदायका सबैभन्दा गरिब मान्छेलाई स–सानो रकम ऋण दिन थाले । उनले सन् १९८३ मा ग्रामीण बैंक स्थापना गरेसँगै उनको यो क्रम थप विस्तार भयो ।

ठूला बैंकहरुले साना उद्यमीलाई कर्जा दिन हिचकिचाउने र दिएपनि विभिन्न झन्झट खेप्नुपर्ने देखेर युनुसले ग्रामीण महिलाहरुलाई लक्षित गरी यो बैंकको स्थापना गरेका थिए । उनले स्थापना गरेको यो बैंकमार्फत् दशौँ लाख मानिसहरुले कर्जा पाएर उद्यम गरेका छन् ।

ग्रामीण बैंकले १ सय डलरभन्दा कम ऋण दिने गरेको थियो । उनले शुरु गरेको यही पहल लघुवित्त अभियानका रुपमा विश्वका १ सयभन्दा धेरै देशहरुमा फैलिएको छ ।

सन् २००४ मा अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँगको कुराकानीका क्रममा उनले ग्रामीण बैंक स्थापनाको रहस्य बताएका छन् । उनका अनुसार उनले एक जना गरिब महिलाले बाँसको सामान बनाइरहेको देखेका थिए । ती महिला ठूलो ऋणमा डुबेकी पनि रहिछन् ।

युनुसले एपीलाई भनेका थिए, ‘यस्ता सुन्दर सामान बनाउने ती महिला कसरी गरीब हुन सक्छिन् भन्ने बुझ्नै सकिनँ ।’

युनुसको यो पहललाई सम्मान गर्दै सन् २००६ को नोबेल पुरस्कार पनि प्रदान गरिएको थियो । सन् २००८ मा भएको निर्वाचन ताका उनले राजनीतिक पार्टी पनि खोल्ने चर्चा चलेको थियो । यद्यपि त्यसबेला उनले राजनीतिक पार्टी भने खोलेनन् । तर, पार्टी खोलेर राजनीतिमा आउने उनको महत्वकांक्षाले उनलाई शेख हसिनाको आँखाको तारो भने बनायो ।

सन् २००८ मा शेख हसिना प्रधानमन्त्री निर्वाचित भएसँगै सरकारसँग उनको सम्बन्ध विस्तारै बिग्रिँदै गयो । हसिना सरकारले उनीविरुद्ध अनुसन्धानको श्रृङ्खला नै थाल्यो । अनुसन्धानका क्रममा सरकारले उनीमाथि गरिब महिलाहरुलाई दिइएको ऋण उठाउन बल प्रयोग गरेको आरोप लगाएको थियो ।

युनुसले यस्ता आरोपको खण्डन गर्दै आएका थिए । हसिनाले एक पटक उनीमाथि ‘गरीबको रगत चुसेको’ आरोप समेत लगाएकी थिइन् ।

सन् २०११ मा सरकारले उनलाई ग्रामीण बैंकको प्रमुखबाट निलम्बन गर्‍यो । उनले ६० वर्षमा अवकाश लिनुपर्ने भए पनि नलिएको भन्दै उनलाई त्यसबेला पदबाट हटाइएको थियो । सरकारले त्यसबेला उनको उमेर ७३ वर्ष रहेको दाबी गरेको थियो ।

उनलाई पदबाट हटाउँदा हजारौँ बंगलादेशीले त्यसको विरोधमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका थिए ।

सन् २०१३ मा सरकारको सहमतिबिना पैसा लिएको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो ।

त्यसबेला सरकारले उनले नोबेल पुरस्कार प्राप्त गर्दा पाएको पैसा र किताब बेचेर रोयल्टीमार्फत कमाएको पैसा सरकारी सहमतिबिना नै लिएको आरोप लगाएको थियो ।

त्यसयता उनले सरकारबाट अनेकौँ आरोप र झन्झटको सामना गर्दै आएका थिए । उनीमाथि लागेका आरोपहरु खारेज गर्न माग गर्दै गत वर्ष १ सयभन्दा धेरै नोबेल पुरस्कार विजेताले पत्र नै लेखेका थिए ।

उनीमाथि अझै पनि १ सयभन्दा धेरै मुद्दा अदालतमा चलिरहेको छ । यसै वर्षको शुरुमा अदालतले उनीमाथि श्रम कानूनको उल्लङ्घन गरेको आरोपमा ६ महिनाको जेल सजाय सुनाएको थियो ।

त्यसैगरी, यसै वर्षको जुन महिनामा अदालतले उनी र अरु १३ जनामाथि २० लाख अमेरिकी डलर घोटाला गरेकोमा दोषी ठहर गरेको थियो । तर, उनलाई कारागार भने चलान गरिएको थिएन ।

उनी लामो समयदेखि हसिना सरकारको आलोचना गर्दै आएका थिए । गत फेब्रुअरीमा अमेरिकी टेलिभिजन च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा उनले शेख हसिनाको शासनकालमा बंगलादेश ‘आफैँले विनाश गरिरहेको सभ्यता’ बन्न पुगेको टिप्पणी गरेका थिए ।

त्यसैगरी जुन महिनामा रोयटर्सलाई दिएको अन्तरवार्तामा उनले बंगलादेश एकदलीय मुलुकको रुपमा अघि बढिरहेको बताएका थिए । रोयटर्सलाई अब बंगलादेशमा कुनै राजनीति बाँकी नै नरहेको बताउँदै उनले सत्तारुढ पार्टीले सबै किसिमका राजनीतिक प्रतिस्पर्धालाई कुल्चिँदै गएको आरोप समेत लगाएका थिए ।

रोयटर्सका अनुसार हसिनाविरुद्धको आन्दोलन उत्कर्षमा रहेका बेला उनी स्वास्थ्य जाँचका लागि फ्रान्सको राजधानी पेरिसमा थिए । तर, आन्दोलनकारीको विशेष आग्रहमा उनी बंगलादेश फर्केका छन् ।

उनले गत सोमबार सीएनएनसँगको कुराकानीका क्रममा हसिनाले ‘आफूहरुलाई यातना दिएको’ र ‘गरिबलाई बस्नै नसक्ने बनाएको’ आरोप लगाएका थिए । उनले हसिनाको बहिर्गमनलाई बंगलादेशको ‘दोस्रो स्वतन्त्रता’ को संज्ञा दिएका थिए ।

अब उनी सरकारको नेतृत्व गर्ने तहमा पुगेका छन् । उनीमाथि बंगलादेशलाई सही बाटोमा डोहोर्‍याउने ठूलो चुनौती रहेको विज्ञहरु बताउँछन् । उनले सर्वप्रथम समाजमा विश्वासको वातावरण बनाउनु आवश्यक रहेको बताइन्छ ।

पछिल्लो समय सरकारप्रति जनताको विश्वासमा ह्रास आइरहेका बेला विश्वासको वातावरण निर्माण नै उनको प्रमुख प्राथमिकता हुनेछ । यसका लागि उनले बंगलादेशी समाजका सबै पक्षलाई समेटेर समावेशी सरकार चलाउनु आवश्यक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?