मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

काखी गन्हाउने समस्याबाट कसरी छुटकारा पाउने?

गर्मी मौसममा धेरै पसिना आएर काखी गन्हाउने समस्याले पिरोलिएको हुन्छ । हुन त जाडोयाममा पनि काखी गन्हाउने समस्या पनि नहुने भन्ने होइन । तर, जाडोको तुलनामा गर्मी मौसममा यो समस्या बढी देखिन्छ । काखी गन्हाउने समस्याका विभिन्न कारण हुने चिकित्सकहरू बताउने गर्छन् ।

धेरै पसिना आउनु भनेको शरीरभित्रको विकार अर्थात् टक्सिन निस्कनु हो । पसिनासँगै ब्याक्टेरियाको संक्रमणले पनि काखी गन्हाउने गर्छ । काखी गन्हाउने समस्याका कारण कतिपयलाई अन्य मानिसहरुका बीच बस्न समेत समस्या भइरहेको हुन्छ ।

‘आखिर काखी गन्हाउने समस्या किन हुन्छ,’ ‘यसमा कुन कुरामा ध्यान पुर्‍याउनुपर्छ,’ ‘यसको रोकथामका लागि केके गर्न सकिन्छ’ लगायतका प्रश्नहरुमा आधारित रहेर छाला रोग विशेषज्ञ डा.राजन ताज्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

काखी गन्हाउने समस्या किन हुन्छ ?

सामान्यतया काखी गन्हाउने समस्या ४० वर्ष पार गरेपछि शुरु हुने गर्छ । तर कतिपय व्यक्तिहरुमा भने यो भन्दा कम उमेरमा पनि काखी गन्हाउने समस्या हुने गर्छ । काखी गन्हाउनुमा वंशाणुगत कारण पनि हुनसक्छ । पुरुष र महिला दुवैमा काखीमा बाक्लो रौं छ भने पनि काखी गन्हाउने समस्या हुन्छ । बाक्लो रौं का कारण काखीमा धेरै फोहोर हुने हुँदा ब्याक्टेरियाको संक्रमण हुन्छ, जसकारण काखी गन्हाउँछ । साथै सरसफाइमा ध्यान नदिँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ ।

काखी कसैको गन्हाउने र कसैको नगन्हाउने पनि हुन्छ, होइन?

यो मानिसको शरीर अनुरुप भर पर्ने कुरा पनि हो । कतिपयको वंशाणुगत कारणले पनि काखी गन्हाउने समस्या हुन्छ । यस्तै, तपार्इं कत्तिको घाम, धुँवा–धुलो प्रदुषणमा हिँड्नुहुन्छ भन्ने कुरा पनि रहन्छ । शरीरमा पसिना आउने एउटा ग्रन्थी हुन्छ, जसलाई एक्रिन स्वेट ग्ल्यान्ड भनिन्छ ।

सेबेसियस ग्रन्थीले छालालाई नरम बनाउँछ । एपोक्राइन ग्रन्थी कसैमा हुन्छ भने कसैमा हुँदैन । यो ग्रन्थी धेरै रौं भएको व्यक्तिमा बढी सक्रिय हुन्छ, जसले काखी गन्हाउँछ ।

यस्तो समस्याबाट कसरी छुटकारा पाउने ? उपचार विधि के–के छन् ?

यस्तो समस्याबाट छुटकारा पाउन एन्टी सेफ्टिक मलम पाइन्छ त्यो लगाउनु भयो भने एकहप्तामै यो समस्या निर्मूल हुँदै जान्छ । अहिले पर्मानेन्ट रुपमा रौँ हटाउने लेजर हेयर रिमुभल उपचारविधि आइसकेको छ । यसका साथै काखीका रौंहरु सफा गरेर फाल्ने गरेमा यो समस्यालाई हल गर्न सकिन्छ । अर्को भनेको अत्याधिक काखी गन्हाउने समस्या छ भने बोटोक्स विधि पनि बजारमा आइसकेको छ ।

यो इन्जेकसन लगाइसकेपछि पसिना आउन बन्द हुन्छ र काखी गन्हाउने समस्या कम हुन्छ ।

हाम्रो आम बुझाइमा काखी गन्हाउने समस्या एक व्यक्तिबाट अर्कोमा सर्छ भन्ने छ, के यो सहि बुझाइ हो ?

काखी गन्हाउने समस्या एक व्यक्तिबाट अर्कोमा सर्ने भन्दापनि एउटै कपडा अन्य व्यक्तिहरुले पनि लगाएमा ब्याक्टेरिया सर्ने हुन्छ र काखी गन्हाउने समस्या निम्तिन्छ ।  काखी गन्हाउने व्यक्तिको लुगा नधोइकन लगाउँदा सर्न सक्छ । लुगामा भएका ब्याक्टेरियाको संक्रमणले अर्को व्यक्तिको काखी गन्हाउने गर्छ  ।

यसको रोकथामका लागि घरेलु उपायहरु के–कस्ता छन् ?

धेरैजसो घरेलु उपायहरु गरेँ भन्दै चेकजाँचका लागि आउनुहुन्छ । तर, त्यो प्रभावकारी हुनुको सट्टा झन फैलिन्छ । काखी गन्हाउने समस्या हटोस् भनेर फिटकिरी जस्ता उन्य कुरा प्रयोग गर्नुभएको हुन्छ । तर झन समस्या बढेको देखिन्छ । यसकारण म घरेलु उपचारमा नअल्झिएर स्किन डाकटरकोमा परामर्श लिएर मलमहरुको प्रयोग गर्न सुझाव दिन्छु ।

अन्त्यमा यो समस्याबाट छुटकारा पाउन कस्ता टिप्सहरु फलो गर्न सकिन्छ ?

त्यसका लागि दिनहुँ नुहाउने साथै पसिनाले भिजेको कपडा लगाइ नराख्ने गर्नुपर्छ । यस्तै गर्मीमा पसिना सोस्ने खालका सुतीको कपडा लगाउने गर्दा पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै कतिपयको पानी कम पिउने समस्या हुन्छ । पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ भने शरीरको तापक्रम पनि कम गर्ने उपाय अपनाउनुपर्छ । पसिनाको गन्ध नआओस् भनेर काखीमा डियोड्रेन लगाउने पनि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?