काठमाडौँ– लोकसेवा वा जिके प्रश्नमा प्राय आउने प्रश्न हो ‘नेपालको प्रथम हिराइन को हुन् ?’ परीक्षाको तयारीकै लागि भए पनि अधिकांशले जवाफको लागि ‘भुवन चन्द’ को नाम कण्ठस्त पार्ने गर्छन् ।
सिनेमा क्षेत्रको इतिहास बोकेकी चन्दलाई यो श्रेय नेपालको पहिला फिल्म ‘आमा’ ले दिएको हो । जसमा उनले मुख्य भूमिका निभाएकी थिइन्, जुनबेला उनी १६ वर्षकी मात्रै थिइन् ।
फिल्मको निर्माण वि.सं.२०२१ सालबाट शुरु भए पनि २०२२ मा तत्कालीन राजा महेन्द्रको उपस्थितिमा प्रर्दशन गरिएको थियो । नेपालको पहिलो फिल्मको पहिलो हिरोइन भए पनि उनी अडिसनमार्फत छनोट भएको सुनाउँछिन् ।
फिल्ममा हिरोइनको लागि केही महिला कलाकारहरु अडिसनका लागि उपस्थित भएका थिए । तर ती सबैलाई पछाडि पार्दै उनी फिल्ममा कलाकार नभएको समयमा पनि अडिसनमार्फत फिल्मको लागि छनौट भएकी थिइन् ।
फिल्ममा जोडीका रुपमा थिए, सङ्गीतकार शिव शंकर ।
अडिसनमा फिल्मको हिरोको लागि अर्के व्यक्ति रहेको उनी स्मरण गर्छिन् । तर उनले फिल्ममा अभिनय गर्न अस्वीकार गरेपछि शिव शंकर हिरोको रुपमा आएका थिए । तत्कालीन समयमा कलाकारको कमी भएकाले गर्दा ङ्ंगीतकार हिरोको रुपमा आउन बाध्य भएको उनी बताउँछिन् ।
फिल्म प्रिमियममा अभिनेत्री चन्दको अभिनयबारे राजा महेन्द्रले खुलेर प्रशंसा गरेका थिए । तर उनी सो प्रियिमयमा उपस्थित नभएकाले प्रत्यक्ष रुपमा सुन्न पाएनन् । उनी त्यतिबेला चीनमा नृत्य कार्यक्रमको लागि पुगेकी थिइन् ।
राजा महेन्द्रले आफ्नो अभिनय देखेर भारतीय कलाकारभन्दा कम अभिनय नगरेको भन्दै प्रशंसा गरेको र चार हजार रुपैयाँ बक्सिस दिएको खबर पाएको उनी सुनाउँछिन् । सो पैसा अरुको माध्यमबाट पछि उनले पाएकी थिइन् ।
तत्कालीन समयमा एक वर्षमा मुस्किलैले एउटा वा दुई वटा मात्रै फिल्म बन्थ्ये । ‘आमा’ फिल्म प्रदर्शनमा आइसकेको एक वर्ष पनि ‘हिजो, आज र भोली’ निर्माण भएको थियो । जसमा उनी मुख्य भूमिकामा देखिएकी थिइन् ।
४ वर्षबाट अभिनय यात्रा
अभिनेत्री भुवन चन्दको अभिनय ६ वर्षको उमेरदेखि नै शुरु भएको थियो । बुबा भैरव थापा पनि कला क्षेत्रमै भएकाले उनलाई अभिनय क्षेत्रमा आउन समस्या भएन । उनका बुबा थापा गायक तथा सङ्गीतकार थिए ।
उनले ४ वर्षको उमेरमा साहित्यकार बालकृष्ण समको नाटक ‘अन्धवेग’ बाट अभिनय शुरु गरेकी थिइन् ।
नाटकको लागि बाल कलाकारको आवश्यकता थियो । जुन बेला नेपालमा कलाकार निकै कम थिए । सोही बेला साहित्यकार थापालाई नाटकको लागि बाल कलाकार आवश्यक परेको र खोज्नको लागि अनुरोध गरेका थिए ।
उनले जवाफमा भनेका थिए, ‘मेरी छोरी छ । उसैलाई लिएर लैजानु त ।’ नभन्दै नाटकको लागि चन्दलाई लिएर गए । पहिलो टेकमा भुवनले आफ्नो संवाद स्पष्ट रुपमा बोलिन् । जसलाई खुलेर सबैले प्रशंसासमेत गरेका थिए ।
त्यसपछि उनले विभिन्न नाटकका अभिनय गर्न थालिन् । जसले गर्दा उनमा अभिनयको नसा चढ्यो ।
कलाकारलाई समाजको हेय
भुवन चन्दले अभिनय शुरु गर्दा कलाकारलाई तल्लो दर्जाको रुपमा हेर्ने गरिन्थ्यो । नाच्ने वा गाएर खाने वर्गको रुपमा समाजमा हेयको दृष्टिकोणको रुपमा हेर्ने गरिन्थ्यो । अझ छोरी मान्छेको लागि त झन् निकै गाह्रो थियो ।
अभिनय गर्दा नराम्रो दृष्टिकोणले हेर्ने भएकोले छोरी मान्छेको ठाउँमा छोरा मान्छेले नै भूमिका निभाउँथे । छोरा मान्छेले छोरी मान्छेको लवज, पहिरन लगाएर अभिनय गर्दथे ।
तर चन्द भने कलाकारकै छोरी भएकै कारणले सो समस्या भोग्नु परेन । अभिनय गर्नको लागि उनलाई कसैबाट रोकतोक थिएन । घरबाट कुनै समस्या नभए पनि मामाघरबाट फरक नजरले हेर्ने गरेको उनी स्मरण गर्छिन् ।
तर, आफूसँगै काम गर्ने साथीहरुलाई घरबाट निकाल्ने, कुटपिट गर्ने समस्या भोग्न बाध्य भएको उनी बताउँछिन् । समाजले फरक दृष्टिकोणबाट हेरे पनि छुट्टै सम्मान हुने गर्दथ्यो । सीमित संख्यामा मात्रै कलाकार भएको कारणले गर्दा राजासँगको हरेक कार्यक्रममा अभिनय गर्नको लागि आफूहरु पनि सँगै जानुपर्ने उनको भनाइ छ ।
तत्कालीन समयमा कलाकारको संख्या निकै कम भएकाले पनि आफूहरु जहाँ पनि जानु पर्ने उनी सुनाउँछिन् । अझ राजा महेन्द्र कलाप्रेमी भएकाले पनि आफू पुग्ने हरेक ठाउँमा नाटक तथा नृत्य कार्यक्रम गर्ने र सोही अनुरुप कलाकारलाई पनि सँगै लिएर हिँड्ने उनको अनुभव छ ।
तत्कालीन समयमा चौबन्दी चोलो लगाएर अभिनय गर्नुपर्ने उनी सुनाउँछिन् । आफ्नो समयमा जति छोप्यो त्यत्ति नै राम्रो हुने भएकाले सकेसम्म छोप्ने कपडा लगाइन्थ्यो । आफूले अभिनय गर्दा हाफ बाउला कपडासम्म लगाइएको उनी स्मरण गर्छिन् ।
उनका अनुसार पछिल्लो समय जति उदाङ्गो त्यत्ति राम्रो भन्ने मान्यता छ । त्यसैले अधिकांश कलाकारसँग सकेसम्म छोटो कपडा लगाएर प्रस्तुत हुने गरेका छन् ।
रंगकर्मीबाट शुरु भएको यात्रा निर्मात्रीसम्म
अभिनेत्री भुवन चन्दले नाटकमार्फत आफ्नो अभिनयको यात्रा शुरु गरेकी थिइन् । रंगकर्मीमार्फत उनी नृत्यकर्मी, नेपालको पहिलो अभिनेत्री हुँदै निर्मात्रीसम्मको यात्रा तय गरिन् ।
उमेरले हिरक वर्ष पुगेकी भुवनमा अभिनयको मोह अझै हराएको छैन । उनी अहिले पनि विभिन्न फिल्ममा अभिनय गर्दै आएकी छिन् । निर्देशकले फिल्म खेल्नको लागि अफर गर्ने बित्तिकै उनी अभिनय गर्न तयार भइहाल्छिन् ।
रंगकर्मी हुँदै उनले नृत्य शुरु गरिन् । उनी १३ वर्षको उमेरमै राष्ट्रिय नाचघरमा जागिरे भइन् । नाच घर भर्खरै शुरु भएको र कलाकारको कमी भएकोले उनले जागिरे हुनको लागि कुनै समस्या भएन । जागिरबाट उनले मासिक डेढ सय रुपैयाँ पारिश्रमिक आउँथ्यो ।
सोही पैसाबाट उनले आफूसँगै परिवारका अन्य सदस्यलाई मासु भात खान तथा कोठाको भाडा तिरेर अझ केही रकम बचाउँथिन् । डेढ सय रुपैयाँबाट शुरु भएको उनको जागिर मासिक दश हजार रुपैयाँ भएपछि रिटायर्ड भइन् ।
लामो समय अभिनय क्षेत्रमा रहेकी अभिनेत्री चन्दले केही वर्ष पहिले मात्रै फिल्म ‘साइनो’ निर्माण गरिन् । करीब एक करोडभन्दा बढी लगानी गरेको फिल्मले खर्च उठाउन त सकिनन् । तर फिल्म निर्माणको अनुभव लिन पाएकोमा उनी सन्तुष्ट छिन् ।
आफूले फिल्म खेल्दा उनले पैसा नलिए पनि आजभोलि बार्गेनिङ हुने गरेको उनले सुनाइन् । अझ फिल्म निर्माणमा कलाकार, प्राविधिक तथा विभिन्न पक्षको प्यानलले गर्दा पनि खर्च धेरै हुने गरेको उनको अनुभव छ ।
उनले हालसम्म करीब ७५ वटा नाटकमा अभिनय, दर्जनौँ फिल्ममा अभिनय तथा करिब दुई दर्जन गीत गाइसकेकी छिन् । यसका साथै उनले गीति नाटक समेत गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया