म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको ४६ लाख ८४ हजार दुई सय ५१ रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो ।
आयोजनामार्फत ६४ घरमा एकएक र स्थानीय सिद्ध शान्ति माविमा दुईवटा धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले बताए ।
‘सबै घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ’, उनले भने, ‘खानेपानीका लागि सार्वजनिक धारा, कुवा, पँधेरामा धाउँदा हुने समयको बचतका साथै सहज भएको छ ।’
हिदी मङ्गला गाउँपालिकाको विकट र दुर्गम क्षेत्रमा पर्ने बस्ती हो । त्यहाँका बासिन्दाले यसअघि सार्वजनिक धारा, कुवा र मुहानबाट व्यक्तिगत लगानीमा पाइपमार्फत घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए । व्यवस्थित रूपमा वितरणपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ ।
उपभोक्ता समितिका अध्यक्ष पुनले भने, ‘पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकताअनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् ।’ उनले आयोजनाको दिगो सञ्चालनका लागि महसुल निर्धारण र हेरालुको व्यवस्था गर्ने बताए ।
छहरा टाउको, चुच्चे ओखर र लामो छहरामा रहेका तीनवटा मुहानको पानीलाई तीनवटा ट्याङ्कीमा सङ्कलन गरी आठ हजार दुई सय मिटर पाइप लाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ ।
आयोजना निर्माणका लागि नेवा संस्थाले २२ लाख २० हजार नौ सय ४३ र मङ्गला गाउँपालिकाले १० लाख ६४ हजार दुई सय ६३ सहयोग गरेका नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताए ।
१२ लाख छ हजार पाँच सय ३७ बराबरको श्रमदान गरेका उपभोक्ताले एक लाख ९२ हजार पाँच सय आठ नगद पनि लगानी गरेका छन् ।
नेवा, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा आर्थिक वर्ष २०८०–८१ मा हिदीसहित मङ्गलाको र्यालेखोर–खुम्लिया–भाइवाङ र खानीगाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएको छ ।
खुम्लिया, र्यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठवटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ ।
र्यालेखोरको आयोजना लिफ्ट प्रविधिको हो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया