मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओलम्पिक

‘बाहिर हेर्दा शान्त देखिए पनि मभित्र तुफान चलिरहेको थियो’

न त कान रक्षा गर्ने गियर, पाइन्टको खल्तीमा देब्रे हात

काठमाडौँ– फ्रान्सको राजधानी पेरिसमा जारी ओलम्पिक खेलकुद अन्तर्गत १० मिटर एअर पेस्तोल शुटिङको मिक्स्ड टिममा सर्बियाका डामिर मिकेच र जोराना अरुनोभिचले स्वर्ण पदक जिते ।

यो खेलमा रजत पदक भने टर्कीका युसुफ डिकेच र सब्बल इल्यादा तरहानले जिते । टर्कीले ओलम्पिकको शुटिङमा पदक जितेको यो पहिलो अवसर हो ।

तर, स्वर्ण जितेका सर्बियाली मिकेच र अरुनोभिचको जति चर्चा हुनुपर्ने त्योभन्दा बढी तरहानसँगै रजत जित्ने टर्कीका युसुफ डिकेचको चर्चा भयो । कारण थियो– उनको लुक्स ।

सामान्य टिसर्ट, आँखामा नियमित चश्मा, न त कान रक्षा गर्ने गियर, पाइन्टको खल्तीमा एउटा हात, अर्को हातमा पेस्तोल र सोझो नजर । यही लुक्सका कारण उनी सामाजिक सञ्जालभरी छाएका छन् । उनको यो तस्वीर भाइरल भएसँगै अनेकौँ मिमका पात्र बनेका छन् । उनलाई अरु थुप्रै फ्ल्मिको पात्रसँग पनि तुलना गर्न थालिएको छ ।

पिपुलको एउटा रिपोर्टअनुसार उनले शुरुमा टर्कीको जन्डार्म सैनिक सेवामा काम गरेका थिए । त्यससँगै उनले सन् २००१ देखि नै निशाना लगाउन थालेका थिए । रजतसँगै ५१ वर्षीय डिकेच टर्कीका सबैभन्दा पाको उमेरका ओलम्पिक पदक विजेता पनि बने ।

ओलम्पिकका लागि डिकेच नौलो खेलाडी भने होइनन् । उनले सन् २००८ मा ३५ वर्षको उमेरमा बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । त्यसको ४ वर्षपछि लण्डनमा आयोजित ओलम्पिकमा पनि उनी सहभागी भए । त्यसमा उनी ५० मिटरको फ्रि पेस्तोमा १३ औँ स्थानमा रहेका थिए ।

त्यसैगरी, सन् २०१६ मा रियो र सन् २०२१ मा टोकियोमा आयोजित ओलम्पिकमा पनि उनको सहभागिता रहेको थियो । त्यसबाहेक उनले टर्कीको राष्ट्रिय च्याम्पियनसिपको उपाधि पनि धेरै पटक जितिसकेका छन् । ७ पटक त उनले युरोपेली च्याम्पियनसिप नै जितेका छन् ।

सन् २०१४ को विश्व च्याम्पियनसिपमा उनले दुई उपाधि जितेका थिए । त्यसबेला उनले २५ मिटरको सेन्टरफायर पेस्तोल र २५ मिटरको स्टाण्डर्ड पेस्तोलको उपाधि उचालेका थिए ।

लस एन्जल्समा सन् २०२८ मा आयोजना हुने आगामी ओलम्पिकमा पनि आफू सहभागी हुने उनले बताएका छन् । अर्को ओलम्पिकमा भने स्वर्ण जित्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । यसअघिका खेलहरुमा पनि उनी यस्तै लुक्समा देखिएका थिए ।

उनले विशेष प्रकारको चश्मा वा अरु ‘गियर’ किन लगाएनन् भन्ने चासो जताततै छ । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार खेलाडीलाई प्रतियोगितामा कस्तो पोसाक वा गियर लगाउने भन्ने छुट छ ।

ओलम्पिकमा प्रतिस्पर्धा गर्ने कतिपय खेलाडीले आफ्नो दृष्टिलाई निशानामा केन्द्रित गर्नका लागि विशेष किसिमको चश्मा लगाउने गरेका छन् । खेलस्थलमा राखिएका प्रकाशका कारणले राम्रो निशाना नलाग्ने भएकाले यस्ता गियरहरु प्रयोग हुने गरेका छन् ।

‘मलाई विशेष सामान चाहिँदैन ।’ युरोन्युजका अनुसार टर्किस मिडियालाई उनले भनेका छन्, ‘म स्वभाविक निशानेबाज हुँ ।’ दुबै आँखा खुल्ला राखेर निशाना लगाउने भएका कारण आफूलाई अरु सामान सहज नलाग्ने उनी सुनाउँछन् । निशाना लगाउँदा एउटा हात पाइन्टको खल्तीमा हाल्नुको रहस्य सुनाउँदै उनी भन्छन्, ‘म त्यसबेला सबैभन्दा सहज र स्थीर हुने पोजिसनमा थिएँ । बाहिर हेर्दा शान्त देखिए पनि मभित्र तुफान चलिरहेको थियो ।’

यत्रोविधि आफ्ना चर्चा होला भन्ने नठानेको उनको भनाइ छ ।

‘मैले यस्तो चर्चा पाउँला भन्ने सोचेकै थिइनँ ।’ टर्कीको अनादोलु समाचार संस्थासँग उनले भनेका छन्, ‘सधैँजस्तै हामी आ–आफ्नो पोजिसनमा जान्छौँ र निशाना लगाउछौँ ।’

उनी आफ्ना युवा साथीहरुलाई पदक जित्नुसँगै देशको प्रतिनिधित्व गर्नु पनि महत्वपूर्ण रहेको बताउने गर्छन् ।

‘मेरा युवा खेलाडी साथीहरुलाई भन्छु– पक्कै पनि पदक जित्नु हाम्रो प्रमुख कर्तव्य हो । तर, देशको प्रतिनिधित्व पनि अर्को महत्वपूर्ण पक्ष हो ।’

‘यो मेरोमात्रै होइन, टर्कीकै सफलता हो । हामीले यो प्रतियोगिताका लागि राम्रो तयारी गरेका थियौँ । हाम्रो चाहना स्वर्ण जित्ने थियो । तैपनि हामीले राम्रो खेल्यौँ ।’ अनादोलुलाई उनले भनेका छन् ।

ओलम्पिकमा प्रतिस्पर्धा गरेर उनी स्वदेश फर्किसकेका छन् । उनलाई स्वागत गर्न हजारौँ फ्यानहरु उपस्थित रहेका थिए । टर्कीको झण्डासहित हजारौँ समर्थकले उनको गलामा माला पहि¥याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?