मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुमघाम

अलौकिक कला बोकेको बाजुराको बडीमालिका

घुम्ने होइन त बडीमालिका?

काठमाडौँ– घुम्न भनेपछि कसलाई पो मन नपर्ला र ? अझ काठमाडौँको यो कोलाहल जिन्दगीबाट केही दिनका लागि प्रकृतिको मनोरम दृश्य हेर्दै आफैमा हराउनुको मजा बेग्लै हुन्छ ।

व्यस्त जीवनशैलीले गञ्जागोल भइरहेको दैनिकीलाई रिफ्रेस बनाउनका लागि पनि नयाँ ठाउँमा घुम्नुपर्छ । आज हामीले तपाईँलाई घुम्नका लागि निकै मनोरम ठाउँ बाजुराको बडीमालिकाका बारेमा जानकारी गराउँदै छौँ ।

यदि घुमघामको योजना बनाउँदै हुनुहुन्छ भने बाजुराको बडीमालिका क्षेत्र तपाईँका लागि उत्कृष्ट गन्तव्य हुनसक्छ । त्यसका लागि तपाईँले कम्तिमा एक हप्ताको समय भने छुट्याउनुपर्ने हुन्छ ।

बडीमालिका प्राकृतिक रूपमा निकै मनोरम छ । यो स्थान धार्मिक हिसाबले पनि उत्तिकै चर्चित छ ।

बाजुरा र कालीकोट जिल्लाको सीमानामा पर्ने यो ठाउँमा कुनै कलाकारले कोरेको चित्रभन्दा कम छैन । जहाँ अलौकिक कलाले भरिपूर्ण छ ।  चारैतिर हरियाली चौर, रङ्गीबिरङ्गी फूल, छिन छिनमा लाग्ने बादल, पानी र घामले बडीमालिकालाई थप सुन्दर बनाएको छ ।

जुन कुनै कृत्रिम नभई प्राकृतिक छ ।

काठमाडौँबाट बडीमालिका जानको लागि धनगढी वा नेपालगञ्ज हुँदै अछामको साँफेबगर पुग्नुपर्छ । साँफेबगरबाट ब्रह्मतोलाको शेराबजारसम्म गाडी पाइन्छ । हवाईमार्ग मार्फत नेपालगञ्जबाट बाजुरा विमानस्थल कोल्टीमा पुगिन्छ ।

कोल्टीबाट एक दिन हिँडेर बाजुराको सदरमुकाम मार्तडीमा पुगिन्छ । मार्तडीबाट पैदल हुँदै बडीमालिका पुग्न जम्मा तीन दिन लाग्छ ।

लामो समय पैदल यात्रा गर्नुपर्ने भए पनि तपार्इंको थकानलाई बाटोमा देखिने दृश्यले मेटाइदिन्छ । बाटोमा देखिने प्राकृतिक कलाकृत दृश्य र घाम  छुँदै गर्ने यात्राले निकै रोमाञ्चक बनाउँछ ।

अपी र सैपाल हिमाललाई पृष्ठभूमिमा राखेर यात्रा गर्न पाइन्छ । अझ विशाल फाँट, फाँटमा चरिरहेका भेडा, फूलेका विभिन्न फूल, छिन छिनमा आउने घाम, पानी र बादलले हरेक पर्यटकलाई स्वागत गरिरहेको हुन्छ ।

बडीमालिकामा पाउने त्यो स्वागत, प्राकृतिक दृश्य र चराचुरुङ्गीको सुरिलो लयमा तपाईंका थकानलाई मेटाउने छुट्टै जादू हुन्छ । जसले तपाईं हिँड्नको लागि थप प्रेरित र हौसला दिन्छ ।

बाजुरा र कालीकोटको सीमानामा पर्ने यो ठाउँमा हिउँदमा सेताम्मे हिउँ पर्नुका साथै वर्षायाममा छिन छिनमा पर्ने पानीले यहाँ सधैँ चिसो हावा चल्छ ।

प्राकृतिक रुपमा धनी बडीमालिका भौतिक रुपमा भने विकट छ । अझ चिसो स्थान भएकाले यहाँ मानव बस्ती खासै भेटिँदैन । बरु भेडीगोठहरू भने थुप्रै भेटिन्छन् ।

बस्तीसँगै कुनै स्थायी पसल नभएकाले पर्यटकले बस्न तथा खानका लागि आफैँले व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर बाटोमा बथान भेडा चराउने गोठालोहरु भने भेटिन्छन् ।

बडीमालिका समुद्री सतहबाट करीब चार हजार २०० मिटर उचाईमा पर्छ । त्यसैले हामी जति माथि हिँड्छौँ, त्यति नै कहाली लाग्दो भिरलाई दायाँ र बायाँ साथमा राखी यात्रा गर्नुपर्ने हुन्छ । अझ जति माथि पुग्यौँ त्यति नै घामसँग हिँडेको अनुभूति समेत गर्न पाउँछौँ ।

हामी त्रिवेणी पाटनमा पुगेपछि एउटा मन्दिर भेट्छौँ । छेउकै त्रिवेणी घाटमा ऐना झैँ छर्लङ्ग अनुहार नै देखिने गरी बग्ने खोलामा नुहाएर चोखो भएपछि मात्रै बडीमालिका मन्दिरको दर्शन गर्नुपर्ने मान्यता छ ।

त्यसैले पनि बडीमालिका जाने जोसुकै पर्यटकले खोलामा डुबुल्की मार्छन् । त्रिवेणी पाटनबाट बडीमालिका पुग्न करीब तीनदेखि चार घण्टाको यात्रा गर्नुपर्छ ।

त्रिवेणी घाटमा हरेक वर्ष गजुरी तान्ने मेला लाग्छ । सो मेलामा बाजुरा, अछाम र कालीकोट जिल्लाका स्थानीयबीच गजुर तान्ने मेला लाग्छ । सो मेलामा जसले गजुर आफ्नो पक्षमा तान्न सक्यो उसैले जित्ने जनविश्वास छ ।

त्रिवेणी घाटबाट पाटन नै पाटनको बाटो हुँदै जानुपर्छ । तलबाट माथि उचाईमा हेर्दा जति नजिक लाग्छ, बडीमालिका पुग्न पनि त्यति नै समय लाग्न सक्छ । तर बाटोमा अन्य विभिन्न मन्दिरहरु भेटिन्छन् ।

बाटोमा पानीको मुहान खासै भेटिँदैन । तर केही पर बाटोमा ढुङ्गाबाट निस्किएको पानी जम्मा गर्नको लागि पानी ट्यांकी निर्माण गरिएको छ । सोहीबाट बटुवाले पानी भर्न सक्छन् ।

बडीमालिका नेपालकै धार्मिक र शक्तिशाली पीठ हो । यहाँ दर्शन गरेमा आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । त्यसैले वर्षेनी हजारौं तीर्थालु मन्दिरको दर्शनको लागि पुग्ने गर्छन् ।

यहाँ नेपाली दर्शालु मात्रै नभई विदेशी पनि जाने गर्छन् ।

किम्बदन्तीमा बडीमालिकाको महत्व

प्राकृतिक रुपमा रमोणम बडीमालिकाको धार्मिक रुपमा पनि छुट्टै महत्व छ । सतीदेवीको देहपछि महादेवले दक्ष प्रजापतिसँग बदला लिए । बदलापछि प्रियाको विछोडले विछिप्त भएका भगवान् महादेवले सतीदेवीको लास बोकेर संसार फन्को लाउन थाले ।

महादेवको सो अवस्थाले ब्रम्हाण्ड नै लथालिङ्ग हुने अवस्थामा पुगेपछि भगवान् विष्णुले आफ्नो चक्र प्रहार गरेर सतीदेवीको लासमा घाउ बनाए । घाउ लागेको शरीर कुहाउन त्यसै बेला झिंगाको पनि उत्पत्ति भयो ।

सतीदेवीका शरीरका कुहिएका भागहरु पृथ्वीको विभिन्न ठाउँमा झर्न थाले । जहाँ जहाँ सतीदेवीको टुक्राहरु झरे ती सबै पीठ भए । सतीदेवीको देब्रे कुम मल्लैया पर्वतमा खस्यो । कुम खसेपछि बडीमालिका मन्दिरको उत्पत्ति भएको भन्ने किम्बदन्ती पाइन्छ ।

सोही बेलादेखि यो स्थानको नाम बडीमालिका रहन गएको स्थानीय बताउँछन् ।

यसैगरी १४२३ भन्दा अघि स्थापना भएको भगवतीको मन्दिर पनि छ । यो मन्दिरमा कालीकोट र बाजुराको पुजारीले संयुक्त रुपमा पूजा गर्ने गर्छ ।

प्राचीन कालमा भगवतीले महिषासुर दैत्यको वद गरिसकेपछि त्रिवेणी, पञ्चपुरी पाटन, मल्ल पुरी पाटन, हुँदै बडीमालिकामा गएर बसेको किम्बदन्तीमा उल्लेख गरिएको छ ।

बडीमालिकामा हरेक जनैपूर्णिमाको दिन मेला लाग्ने गर्छ । त्यसैले पनि यो दिन यहाँ तीर्थालुहरुको ठूलो भीड लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?