महोत्तरी– मसलाको रुखले भूमिगत पानीमा असर पारेको निष्कर्ष सहित महोत्तरीका पालिकाहरूले धमाधम निरुत्साहित गर्ने नीति बनाएका छन् ।
उत्तरी क्षेत्रमा वृक्षारोपण गर्दा मसलाको बिरुवालाई पुर्णरुपमा निषेध गरिएको छ भने भएका रुखहरूलाई हटाउने अभियान नै चलाइएको छ ।
बर्दिबास मेडिकल कलेज निर्माणार्थ १९ हजार ६ सय ७० बिरुवा रोप्दा पनि मसलाको बिरुवालाई सर्वसाधारणको अनुरोधमा निषेध गरिएको मेडिकल कलेज पूर्वाधार विकास आयोजना प्रमुख देवी सुवेदीले बताए ।
निर्माणस्थलमा काटिने १९६७ रुखको सट्टामा १० गुणा बिरुवा रोप्ने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने क्रममा मसलाको बिरुवाहरूलाई निषेध गरिएको प्रमुख सुवेदीको भनाई छ ।
सबैभन्दा बढी रुख भएको क्षेत्र पनि जिल्लाको उत्तरी क्षेत्र गौशाला र बर्दिबास नगरपालिकामा नै हो । सागरनाथ वन परियोजना अन्तर्गतका वन, सामुदायिक वन र साझेदारी वनहरूमा २० औ हजार मसलाका रुखहरू अहिले पनि छन् ।
छिटो हुर्कने र आयआर्जनका हिसाबले किसानहरूको निजी जमिनमा समेत लगाइएको यो रुखले भूमिगत पानी सखाप बनाएको भन्दै किसानहरू स्वयमले नगरको न्यायिक समितिमा निवेदन दिने गरेको पालिकाहरूले जनाएका छन् ।
यसै अनुरूप बर्दिबास नगरपालिकाले यसअघिको नगरसभावाट मसलाको रुखलाई पुर्णरुपमा निरुत्साहित गर्ने नीति नै बनाएको छ । मेडिकल कलेज निर्माणार्थ बिरुवा रोप्दादेखी नै उक्त नीतिलाई कार्यान्वयन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री बताउछन ।
किसानहरूको अनुभवसहित आएका निवेदनहरूलाई आधार बनाएर जिल्लाको दक्षिणी क्षेत्रका पालिकाहरूले समेत विस्थापन गर्ने अभियान चलाएका छन् ।
यस्को सुरुवात मनरासिस्वा नगरपालिकाले गरेको छ । पालिकाले किसानहरूलाई ३ महिनाको समायावधी समेत दिएको छ । निजी जमिनमा रहेका मसला(सपेता) को रुखलाई हटाएर अन्य प्रजातिका बिरुवा रोप्न सुचना जारी गरेको छ ।
मधेश प्रदेश लगायत पालिकामा भूमिगत पानीमा समस्या र जमिन बन्जर बनाउन यहीँ रुखले सहयोग पुर्याएको निष्कर्ष सहित तुरुन्त विस्थापन गर्न सूचनामा निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया