काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षका लागि दावेदारी प्रस्तुत हुन थालेको छ ।
हिजो (बुधवार) मात्रै बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान गरिएकोमा सबैभन्दा पहिलो औपचारिक दावेदारी भने दिनेश डिसीले पेश गरेका छन् ।
उनको नाम पहिल्यैदेखि चर्चामाथियो । उनले ६९ बुँदे कार्ययोजना सहित आवेदन दिएको बताइएको छ । अनुभवी सञ्चारकर्मी तथा चलचित्र निर्देशक डिसी सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेसँग पहिल्यैबाट निकट छन् ।
विकास बोर्डका अन्य आकाङ्क्षीहरूमा अभिनेत्री करिश्मा मानन्धर, हल व्यवसायी नरेन्द्र महर्जन तथा राष्ट्रिय नाचघरका भुतपूर्व अध्यक्ष राजेश थापा पनि छन् । एमालेकै नजिक अभिनेत्री मानन्धरले प्रधानमन्त्री ओलीलाई पनि भेटिसकेकी छन् । उनी हिजो मात्रै डेलिगेसनसहित सञ्चारमन्त्री गुरुङलाई भेट्न पुगेकी थिइन् ।
अर्का आकाङ्क्षी नरेन्द्र महर्जन पनि सञ्चारमन्त्रीकहाँ पुगेका छन् । उनी एमालेका प्रमुख सचेतक महेश बर्तौला र बाग्मती सरकारका पूर्व मुख्यमन्त्री डोरमणी पौड्याललाई लिएर लविङ गर्न गएका हुन् ।
चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको नियमन गर्ने प्रमुख निकाय हो । बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको मात्र हुने प्रावधान रहेको छ । हालै भुवन केसी आफ्नो कार्यकाल पूरा गरेर विदा भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया