काठमाडौँ– एउटा यस्ता व्यक्ति जसलाई कसैले ‘सेक्स गुरु’ भन्छन् त कसैले ‘भगवान्’ । कतिपयले उनलाई ‘प्रेमका व्याख्याता’ भनेर पनि सम्बोधन गर्छन् ।
हुन त महान् विचारक र दार्शनिक भनेर उनको सहज परिचय अथवा जीवन रहस्यमयी रहेको विश्वासलाई अघि ल्याएर जटिल पनि बनाइदिन सकिन्छ ।
अर्कातर्फ सन्यासीको महङ्गो जीवनशैली भनेर आलोचना गर्न पनि सकिन्छ वा ‘सन्यास’ लाई पुनर्व्याख्या गर्ने आधुनिक धर्मगुरूका रूपमा पनि अर्थ्याउन सकिन्छ । उनको नाम हो – ओशो अर्थात रजनीश ।
जसलाई कतिपयले ‘जादुमयी व्यक्ति’ पनि भन्छन् ।
आखिर जसले जे भने पनि ओशो युग पुरुष हुन् । उनले लामो जीवन बाँचेनन् तर जति बाँचे सार्थक जीवन बाँचे । सँगै उनलाई जीवनभर विवादले छोडेन । यौन, समाजवाद र गान्धीको विरोधका कारण उनको आलोचना पनि हुन्थ्यो ।
ओशोको तर्क र भाषाशैली अद्वितीय थियो । प्रवचन दिनकै लागि प्राध्यापकको जागिर छोडेका उनी आफूलाई दार्शनिकका रूपमा होइन, कविका रूपमा सम्झना गरियोस् भन्ने चाहना राख्थे ।
उनी धारा प्रवाह रूपमा जे बोल्थे, त्यही नै जीवन र जगतका निम्ति अमूल्य हुन्थ्यो । यही कारण उनले दिएको हजारौँ मिनेटको अडियो प्रवचनलाई लगभग सात सयवटा किताबका रूपमा प्रकाशित पनि गरिएको छ । उनका लाखौँ अनुयायी छन् ।
ओशोको वास्तविक नाम चन्द्रमोहन जैन हो । तर सन् १९६० को दशकमा उनी ‘आचार्य रजनीश’, सन् १९७० देखि ८० सम्म ‘भगवान् श्री रजनीश’ र सन् १९८९ पछि ‘ओशो’ को नामबाट चिनिए ।
ओशो ल्याटिन भाषाबाट ल्याइएको शब्द हो । जसको अर्थ ‘समुद्रमा समाहित’ भन्ने हुन्छ ।
ओशोको जन्म सन् १९३१ डिसेम्बर ११ मा भारतको मध्य प्रदेशस्थित कुचवाडामा भएको थियो । उनी आफ्ना मातापिताका ११ मध्ये जेठो सन्तान थिए । उनको हुर्काइ मामाघरमा भयो । हजुरबाको निधनपछि उनी पिता बाबुलाल र माता सरस्वती जैनसँगै बस्न आफ्नै गाउँ लगिए । जतिबेला उनी ७ वर्षका थिए ।
उनी आफ्नो व्यक्तित्व विकासमा मामाघरको बसाइ नै एक प्रमुख कारण ठान्थे । भनिन्छ, हजुरआमाले उनको कुण्डली एक जना प्रख्यात ज्योतिषलाई बनाउन लगाएकी थिइन् । तर, ती ज्योतिषले उनी सात वर्षमै मर्ने योग छ भनिदिए ।
ज्योतिषको यो भविष्यवाणीलाई ‘असत्य साबित’ गर्दै उनी बाँचे । र, आफ्नो जीवनकालमा निकै चर्चित व्यक्तित्व पनि बने ।
बाल्यकालदेखि नै तार्किक र विद्रोही स्वभाव भएका उनी प्रश्न सोध्न र प्रयोग गर्न रमाइलो मान्थे । शुरुदेखि नै मानिसहरूप्रति चासो राख्थे भने उनको मुख्य सोख मानवीय प्रवृत्तिलाई नजिकबाट नियाल्नु थियो ।
उनी यति जब्बर थिए कि, आफ्ना बाबुले मन्दिरमा लगेर मूर्तिको अगाडि शिर निहुर्याउन आग्रह गर्दा इन्कार गरिदिन्थे ।
किशोरावस्थमा आइपुग्दा पूर्ण रुपमा नास्तिक बनेका उनले आफ्नो विद्यार्थी कालमै कुशल वक्ता र तार्किक व्यक्तित्वको छवि बनाइसकेका थिए ।
सन् १९५१ मा जबलपुरको हिताकारीणी कलेजमा बीए पास गरेपछि उनी दर्शन शास्त्रका एक प्राध्यापकबाट प्रभावित भए । तर, ओशोले यति धेरै प्रश्न सोधिदिन्थे कि प्राध्यापक जवाफ दिँदा दिँदा दिक्क हुन्थे र समयमा आफ्नो कोर्स (पाठ्यक्रम) पूरा गर्न सक्दैनथे ।
यही कारण ती प्राध्यापकले प्राचार्यलाई कि रजनीश कि आफूमध्ये एकमात्र रहने भन्दै चेतावनी नै दिए ।
आफ्ना वरिष्ठ प्राध्यापकलाई राजीनामा गराउन सक्ने अवस्थामा नरहेका प्राचार्यले गल्ती नभए पनि रजनीशलाई कलेज छाड्न भने । यद्यपि प्राचार्यले उनलाई अर्कै कलेजमा भर्ना गराउने शर्त भने माने ।
रजनीश यति प्रख्यात भइसकेका थिए कि, शुरुमा हरेक कलेजले उनलाई पढाउन अस्वीकार गर्यो ।
पढाइप्रति अत्यधिक आकर्षणका कारण दर्शन शास्त्रमा प्राध्यापकको भन्दा उनको ज्ञान निकै माथि पुगिसकेको थियो । त्यसको दबाब प्राध्यापकले थेग्न नसकेपछि २०/२१ वटा क्याम्पसबाट रजनीश निष्कासित हुनुपरेको थियो ।
तर, जसोतसो उनी डीएन जैन कलेजमा भर्ना भए ।
उनको जीवनको अर्को अध्याय शुरु भयो, प्राध्यापकका रुपमा ।
सन् १९५७ मा उनले रायपुर विश्वविद्यालयमा दर्शन शास्त्रको प्राध्यापकको काम थाले । तर, हरेक कुरामा प्रश्न उठाउने तथा परम्परामाथि नै प्रहार गर्ने उनको स्वभावले विद्यार्थीमा असर गर्ने भन्दै उनलाई त्यहाँबाट सरुवा गरियो ।
अर्को वर्षबाट उनले जवलपुर विश्वविद्यालयमा प्राध्यापन शुरु गरे ।
उनको प्रवचन यति प्रभावशाली थियो कि, दर्शन शास्त्रजस्तो गम्भीर र निरश विषयमा समेत उनको कक्षामा विद्यार्थीको चाप अत्यधिक बढी हुने गर्थ्यो ।
यही समय देशभर प्रवचन दिएर हिँड्न थालेका उनी जहाँ पुग्थे, उनका कुरा सुन्न मानिसको भीड उर्लिएर आउँथ्यो । उनको जीवनले यहीँबाट नयाँ मोड लियो ।
अर्थात्, यही भीडलाई प्रयोग गर्दै उनले सन् १९६० को दशकमा ‘जीवन जागृति केन्द्र’ नामको ध्यान केन्द्रको स्थापना गरे ।
भारतको पुणेमा २५ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आश्रम अध्यात्मको वैज्ञानिक र प्रयोगात्मक केन्द्र थियो ।
मानसिक तनाव र कुण्ठाबाट पिल्सिएका मानिसलाई यहाँको ध्यान र ज्ञानको सागरले शान्ति र आनन्दले आकर्षण गर्यो । ओशोले त्यहीँ प्रवचनका श्रृंखला शुरु गरे । अध्यात्मिक गुरु बन्न उनले विश्वविद्यालयको जागीरबाट राजीनामा दिए ।
यहीँबाट उनको नवसन्यास आन्दोलन शुरु भयो ।
मुम्बईको हावापानीले साथ नदिएका कारण पुणे रोजेका ओशोको आश्रमका कारण पर्यटन बढ्न थाल्यो । यसले पुणेको अर्थ व्यवस्थालाई स्थिरता प्रदान गर्यो र शहरमा धन र रङ्ग ल्यायो ।
उनका आश्रमा दिइने विभिन्न थेरापीमध्ये ‘सेक्स थेरापी’ले सबैभन्दा बढी महत्व पाउन थाल्यो ।
आश्रममा विवादित विषयमा प्रवचन दिने ओशोले त्यसका लागि हिन्दी वा अङ्ग्रेजी भाषा रोजे । विभिन्न व्यक्तिहरूलाई आकर्षित गर्न विभिन्न विषयहरू रोजेका उनका दर्शकहरू मिश्रित पृष्ठभूमिबाट आएका हुन्थे ।
जो कोही पनि उनको सम्पर्कमा आउँथ्यो, कि त उनको चेला वा उनको विरोधी बन्थे । उनका विचारहरू यति विवादास्पद थिए कि धेरै पटक भारतीय संसदमा उनीहरूमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको थियो ।
धेरै वर्षसम्म ओशोकी सचिव रहेकी आनन्द शीलाले आत्मकथा ‘डन्ट किल हिम, द स्टोरी अफ माइ लाइफ विथ भगवान् रजनीश’मा आश्रमबारे लेखेकी छिन् ।
जसमा उल्लेख भएअनुसार आश्रमभित्र बच्चा जन्माउन निषेध गरिएको थियो । न त गर्भवती महिला आश्रमभित्र बस्न सक्थे ।
यो परस्परा विवादस्पद नियमका बीच भिक्षुहरू खुला यौन जीवन बिताउँथे, जसका कारण आश्रममा संक्रामक यौन रोगहरू बढ्न थाले । कुनै–कुनै भिक्षुहरूले एक महिनामा ९० वटासम्म यौन सम्पर्क राख्थे ।
सन् १९८१ मा ओशो आफ्ना दुई हजार ५ सय अनुयायीसहित अमेरिका पुगे । जसमा चर्चित बलिउड अभिनेता विनोद खन्ना समेत सामेल थिए ।
जहाँ ओरेगन राज्यको एक ठाउँमा रहेको ६४ हजार एकड क्षेत्रफलको बाँझो जमिन ओशोले किने ।
चार वर्षभित्र सुव्यवस्थित सहरमा परिणत भएको यो सहरभित्रै विमानस्थल थियो । आफ्नै ५ वटा विमान थिए । ५ सय गाडी थिए । ५ हजार जना मान्छे एउटै परिवार भएर बस्थे । यसबीच ओशोले ९३ वटा रोल्स रोयस कार किने । तर, यहीँबाट उनका खराब दिन शुरु भए ।
उनीमाथि अध्यागमन नियम उल्लङ्घन गरेको अभियोगमा मुद्दा चलाइयो ।
१७ दिन जेलमा बसेपछि अमेरिका छोड्न राजी भएका उनले यसपछि धेरै देशमा शरण लिन खोजे तर एकपछि अर्को गर्दै धेरै देशले उनलाई अस्वीकार गर्यो । अन्ततः उनी भारतको पुणेस्थित आश्रम फर्किए ।
नियति पनि कस्तो भने, अमेरिका जानुअघि पुणे र त्यहाँ आउने भारतीय अनुयानीबाट उनी वाक्क भएका थिए ।
किनभने उनले यहाँ रहँदा भारतीयहरूलाई बेवास्ता गर्ने मात्र नभई उनीहरुलाई निरुत्साहित गर्न अङ्ग्रेजीमा भाषण दिन थालेका थिए ।
जब उनलाई आफ्नो आश्रममा कौतुहलताका कारण धेरै मानिस आउँदैछन् भन्ने लाग्न थाल्यो । उनले आश्रममा भर्ना शुल्क बढाएका थिए ।
अर्थात् जसलाई उनी अनुयायीहरू नभइ कामदारहरू खोजिरहेका रुपमा व्याख्या गरिएको थियो । यद्यपि अन्ततः उनी त्यही ठाउँ फर्किन बाध्य भएका थिए ।
उनको निधन सन् १९९० को १९ जनवरीमा भएको थियो । अझै पनि उनको निधनलाई रहस्यमय मानिन्छ । उनको समाधिको शिलामा लेखिएको छ ’ओशो, न कहिल्यै जन्मिए, न त कहिल्यै मरे ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया