नवजात शिशुहरुलाई पोलियोको जस्तो संक्रमणबाट बचाउन पोलियो थोपा खुवाउने र सुई लगाउने गरिन्छ । पोलियोको खोप शिशु जन्मिए पश्चात् ६, १० र १४ हप्ताको उमेरमा तीनपटक दिइन्छ ।
यसले ‘पोलियोमाइलाइटिस’बाट जोगाउँछ । शिशु ६ हप्ता र १४ हप्ता भएपछि एफआईपीभी पनि दिइन्छ । दुई पटक दिनुपर्ने यो खोपले रोटा भाइरसद्वारा हुने पखालाविरुद्ध काम गर्छ । विगत केही दिनअघि टुकुचा–बागमती खोलाको संगमस्थल नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा स्वरूप परिवर्तित भएको पोलियो भाइरस भेटिएको थियो ।
पोलियो जीवाणु भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भइरहेको छ ।
यसकारण आज हामीले पोलियो रोग कस्तो समस्या हो, यसको खोप लगाउन किन आवश्यक छ, यदि लगाइएन भने कस्तो समस्या देखा पर्न सक्छ लगायतका प्रश्नहरुमा केन्द्रित भएर परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमसँग कुराकानी गरेका छौं । डा. अभियान गौतमसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
पोलियो कस्तो रोग हो ?
पोलियो भाइरसद्वारा लाग्ने पक्षघात हो । यो मुख्य रुपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ । संक्रमित व्यक्तिको दिसा–पिसाब, उसले खाएको खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । यो पोलियो जिवाणु विशेषरुपमा ढलमा भेटिन्छ । पोलियो भाइरसले पहिले आन्द्रालाई संक्रमित गर्छ ।
जसकारण फ्लु जस्तो लक्षण देखिने गर्छ । यसपछि संक्रमणले मस्तिष्क र मेरुदण्डलाई असर गर्छ । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भएपछि निको हुँदैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ । नेपाल २०१४ मा पोलियोमुक्त देश घोषणा भएको थियो ।
उपत्यकाका ढलमा उक्त जिवाणु फेला परेपश्चात् अहिले धमाधम खोप लगाउने कार्य भइरहेको छ । खोपको तोकिएको समयअवधि त सकिएको छ तर अझै पनि खोप लगाउन छुट्नुभएका बालबालिकाहरु धेरै नै भएको कारण यो अभियान असार १५ गतेसम्म थपिएको छ ।
पोलियो भाइरस कति प्रकारका हुन्छन् ?
पोलियो भाइरस ‘पी १,’ ‘पी २’ र ‘पी ३’ गरी तीन प्रकारका हुन्छन् । र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो संक्रामक रोग हो, जसलाई फिकोरलुट पनि भनिन्छ ।
पोलियोका लक्षण के–कस्ता हुन्छन् ?
पोलियोको रोग लक्षण लागेको ३४ दिनभित्रमै देखापर्छ । यसको ठ्याक्कै चिन्ने लक्षण पक्षघात हो । तर त्यो भन्दा अगाडि बालबालिकालाई पोलियोको संक्रमण भइसकेपछि सामान्यतया ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकान महसुस हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण बारम्बार देखिने गर्छन् ।
यो भाइरसले मुख्यगरी कुन उमेरसमूहका बालबालिकाहरुलाई असर गर्छ ?
पोलियोले मुख्यगरी १५ वर्षमुनिका बालबालिकालाई असर गर्छ । तर अपवादका रुपमा जुनसुकै उमेरका मानिसहरुमा यो समस्या देखिन सक्छ । बालबालिकाहरुलाई पोलियो भयो भने पक्षघात हुन्छ तर वयस्क व्यक्तिहरुको हकमा भने उनीहरुमा पक्षघात हुँदैन तर ती व्यक्तिहरुको सम्पर्कमा रहेका बालबालिकाहरुमा यो रोग सर्नसक्छ ।
पोलियो थोपा खुवाउने र पोलियोको सुई लगाउने भन्ने एकै प्रक्रिया हो ?
पोलियो थोपा खुवाउने र पोलियो खोप लगाउने भन्ने कुरा सुन्दा फरक सुनिए पनि प्रक्रिया एकै हो । पहिला पहिला सुईका प्रयोग भएको थिएन यसकारण पोलियो थोपा अर्थात ड्रपलाई नै पोलियो खोप भनेर भन्ने गरिन्थ्यो । खोपेर सुईमार्फत र अर्को मुखबाट औषधि दिएर पोलियो सुई लगाउने प्रोसेस दुई तरिकाको हुन्छन्, यी एकै कुरा हुन् ।
पोलियोको उपचार र रोकथाम के छ ?
पोलियोको कुनै पनि उपचार हुँदैन । पक्षघात भइसकेपछि यसको कुनै पनि उपचार सम्भव छैन । त्यसैले यो लाग्नबाट नै बच्नुपर्छ । यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय नै पोलियो खोप हो । यसबाट जोगिन बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियोको नियमित खोप पूर्ण मात्रामा दिनुपर्छ ।
यदि खोपको डोज छुटेमा खोपले राम्ररी काम गर्दैन र विभिन्न संक्रमणको जोखिम रहन्छ । त्यसैले पूर्ण खोपलाई अनिवार्य रुपमा लगाउनैपर्छ । यसबाट बच्न व्यक्तिगत सरसफाइ, स्वच्छ पानी र सफा खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया