काठमाडौँ– पछिल्लो समय सामाजिक सञ्जाल हाम्रो जीवनको एउटा अभिन्न अङ्ग भइसकेको छ । सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले गर्दा अहिले सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेर गएको छ । साथीभाइ, आफन्तसँग सम्पर्कमा रहन, संसारका गतिविधिबारे जानकारी लिन वा व्यापार व्यवसाय गर्न समेत सामाजिक सञ्जाल महत्वपूर्ण साधनका रुपमा विकसित भएका छन् ।
एउटा तथ्यांकअनुसार हाल संसारका ४ अर्ब ८० करोडभन्दा धेरै मानिसहरु सामाजिक सञ्जाल प्रयोग गर्छन् । यो कुल जनसङ्ख्याको झण्डै ६० प्रतिशत हुन आउँछ । यस्तो अवस्थामा संसारमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल कुन होलान् भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।
तर, मोबाइल र इन्टरनेटमा संसारभरका मानिसहरुको पहुँच बढिरहेको र एउटै सामाजिक सञ्जालमा एक जनाले एकभन्दा धेरै अकाउन्ट बनाउने चलन पनि बढ्दो छ । यस्ता कारणहरुले गर्दा कुनै सामाजिक सञ्जाल ठ्याक्कै कति जनाले प्रयोग गर्छन् भन्ने स्पष्ट तथ्याङ्क पाउन मुस्किल नै हुन्छ ।
संसारमा कुनै सामाजिक सञ्जाल कति लोकप्रिय छन् भन्ने बुझ्नका लागि उक्त सामाजिक सञ्जालका मासिक सक्रिय प्रयोकर्ता कति छन् भन्ने जान्नु आवश्यक हुन्छ । मासिक सक्रिय प्रयोगकर्ता भन्नाले निश्चित महिनामा कति जना प्रयोगकर्ताले सक्रिय रुपमा उक्त सामाजिक सञ्जाल चलाउँछन् भन्ने हो ।
अहिलेको अवस्थामा संसारका सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल कुन होलान् त ? आज हामी सोही विषयमा चर्चा गर्न गइरहेका छौँ ।
फेसबूक
संसारमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल फेसबुक नै हो । पछिल्ला केही वर्ष फेसबुकको लोकप्रियता घट्दै गइरहेको छ । खासगरी पछिल्लो पुस्ताका युवायुवती तथा किशोरकिशोरी फेसबुकप्रति खासै आकर्षित देखिँदैनन् ।
यति हुँदाहुँदै पनि विश्वमा फेसबुकको प्रभाव भने कम भएको छैन । सन् २००४ मा शुरु भएको फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता हाल ३ अर्बको हाराहारीमा छन् ।
युट्युब
संसारमा सबैभन्दा धेरै प्रयोग हुने अर्को सामाजिक सञ्जाल युट्युब हो । भिडियोमा आधारित सामाजिक सञ्जाल भन्नेबित्तिकै अझै पनि युट्युबको नाम अगाडि आउँछ । युट्युब गुगलको माउ कम्पनी अल्फाबेटको स्वामित्वमा छ ।
एउटा तथ्याङ्कअनुसार अमेरिकाका ८१ प्रतिशत वयस्क नागरिक युट्युब चलाउँछन् । युट्युबका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या २ अर्ब ५० करोडभन्दा धेरै रहेको छ ।
इन्स्टाग्राम
संसारमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालको सूचीमा तेस्रो स्थानमा इन्स्टाग्राम आउँछ । इन्स्टाग्रामलाई तस्बिर र छोटा भिडियो प्रवाह गर्न सकिने सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । युवापुस्तार र किशोर किशोरीमाझ इन्स्टाग्रामको क्रेज धेरै पाइन्छ ।
इन्स्टाग्रामका ६८ प्रतिशतभन्दा धेरै प्रयोगकर्ता ३५ वर्षभन्दा कम उमेर समूहका रहेको बताइन्छ । इन्स्टाग्रामका मासिक सक्रिय प्रयोकर्ता २ अर्ब छन् ।
विच्याट
चीनबाहिर बस्ने शायदै कसैले नियमित रुपमा विच्याट प्रयोग गरेको हुनुपर्छ । तर, चीनमा भने विच्याटका प्रयोगकर्ता औधी छन् । विच्याट चिनियाँ इन्टरनेटको अभिन्न अङ्ग नै बनिसकेको छ ।
एक तथ्याङ्कका अनुसार विच्याटका मासिक सक्रिय प्रयोकर्ताको सङ्ख्या १ अर्ब ३० करोडभन्दा धेरै छ । यो चीनको कुल जनसङ्ख्याको ८० प्रतिशत हुन आउँछ ।
टिकटक
छोटा भिडियो शेयर गर्न मिल्ने टिकटकले छोटो समयमा धेरै प्रयोगकर्ता बटुलेको छ । टिकटकको लोकप्रियता हेर्दा धेरैलाई यो आठ वर्षअघि मात्रै स्थापना भएको पत्याउन गाह्रो हुन्छ ।
टिकटक छोटा मोबाइल भिडियो र लाइभ कन्टेन्टको गन्तव्य कै रुपमा स्थापित भइसकेको छ । टिकटकमा खासगरी किशोरपुस्ताका प्रयोगकर्ता धेरै छन् । टिकटकका मासिक औसत प्रयोगकर्ता १ अर्ब २० करोड छन् ।
स्न्यापच्याट
संसारमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालमा स्न्यापच्याट छैठौँ नम्बरमा आउँछ । यो सामाजिक सञ्जालमा पनि किशोर र युवापुस्ताकै प्रयोगकर्ताको वर्चस्व छ । एउटा तथ्यांकअनुसार स्न्यापच्याटका ७० प्रतिशत प्रयोगकर्ता १३ देखि २४ वर्ष उमेर समूहका छन् ।
खासगरी स्न्यापच्याटले गोपनियताको आभाष दिने भएकाले पनि यसप्रति युवापुस्ताका प्रयोगकर्ता बढी आकर्षित भएको बताइन्छ । स्न्यापच्याटका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या ७५ करोड छ ।
एक्स
इलोन मस्कले सन् २०२२ को अक्टोबरमा ४४ अर्ब डलरमा खरिद गरेपछि ट्विटरको नाम फेरेर ‘एक्स’ राखिएको छ । राजनीति, खेलकुद, प्रविधि, मनोरञ्जनजस्ता क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुले अझै पनि आधिकारिक रुपमा एक्सको प्रयोग गर्दै आएका छन् ।
जतिसुकै परिवर्तन देखिए पनि एक्स सूचना वा विचार राख्ने भरपर्दो माध्यम हो । एक्सका मासिक सक्रिय प्रयोकर्ताको सङ्ख्या ५४ करोडभन्दा धेरै रहेको बताइन्छ ।
पिन्टरेस्ट
खासगरी तस्वीर शेयर गर्न मिल्ने साइट पिन्टरेस्ट संसारमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालको आठौँ स्थानमा आउँछ । यहाँ खानेकुराका परिकारदेखि विवाह उत्सव, घर सजावटजस्ता अवधारणाका तस्बिरहरु पनि भेटिन्छन् ।
पिन्टरेस्टमा अधिकांश प्रयोगकर्ता महिला रहेको बताइन्छ । तथ्यांकअनुसार पिन्टरेस्टका ६० प्रतिशत प्रयोगकर्ता महिला छन् । पिन्टरेस्टका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या ४६ करोड ५० लाखभन्दा धेरै छन् ।
रेडिट
रेडिटले आफूलाई ‘इन्टरनेटको मुखपृष्ठ’ बताउने गरेको छ । रेडिटमा उस्तै सोचाइ, भोगाइ भएका वा उस्तै क्षेत्रमा काम गर्ने मानिसहरुको समुदाय नै कायम हुन्छ । रेडिटमा २८ लाखभन्दा धेरै सबरेडिटहरु छन् ।
यिनै सबरेडिटमा प्रयोगकर्ताहरुले कन्टेन्टहरु पोस्ट गर्दै आएका छन् । यस सामाजिक सञ्जालका मासिक सक्रिय प्रयोगकर्ता ४३ करोड रहेको बताइन्छ ।
लिङ्कड्इन
आफ्नो करिअरलाई अझ परिष्कृत गर्न चाहने हरेक व्यक्तिले लिङ्कड्इन प्रयोग गरेको हुनुपर्छ । यसमा आफ्नो शैक्षिक र व्यवसायिक जीवनका बारेमा जानकारी राख्न पाइन्छ । यो साइटमा विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतदेखि सामान्य कामदारको समेत प्रोफाइल देख्न पाइन्छ ।
कतिपय अवस्थामा रोजगारी दिनुअघि रोजगारदाता कम्पनीले पक्कै जागिर खान चाहने मान्छेको लिङ्कड्इन प्रोफाइल हेरेका हुन्छन् । लिंकेडिनका ३५ करोड मासिक सक्रिय प्रयोगकर्ता रहेको अनुमान गरिन्छ ।
थ्रेड्स
संसारमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालको सूचीमा थ्रेड्सको नाम ११ औँ स्थानमा आउँछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले थ्रेड्सको स्थापना गरेको धेरै पनि भएको छैन । उनले सन् २०२३ को जुलाईमा थ्रेड्स बजारमा ल्याएका थिए ।
एक्सको प्रतिस्पर्धीका रुपमा आएको थ्रेड्सले सोचेजस्तो सफलता भने पाउन सकेन । तैपनि यो सामाजिक सञ्जालका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या १० करोड आसपास रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया