मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के हो बाङ्गाटिङ्गा दाँत मिलाउन प्रयोग गरिने ब्रेसेस विधि?

युवापुस्तामा दाँतमा ब्रेसेस बाँध्ने ट्रेन्ड नै चलेको छ । अहिले बदलिँदो विकसित समाजसँगै हरेक कुराको विकल्प छ । पहिला–पहिला उपचार विधि यति विकसित भएको थिएन ।

यसकारण आफू जे–जस्तो भएपनि त्यसैलाई स्वीकार गर्नुपर्ने बाध्यता थियो । तर अहिले हामीले उपचार, र शल्यक्रियाका माध्यमबाट धेरै कुरामा परिवर्तन गर्न सक्छौं । यस्तै, बाङ्गोटिङ्गा, धेरै अगाडि आएको ठूलो दाँत हुनेहरुले ब्रेसेस लगाएर दाँतको उपचार गराइरहेको हामी देख्न सक्छौँ । बाङ्गोटिङ्गो दाँत हुँदा कसै–कसैलाई राम्रो नै देखिन्छ ।

कोही व्यक्ति भने यस्तो दाँत भएकै कारण हिन्नता बोध गर्छन् । यस्ता दाँत भएका व्यक्तिहरु आफूलाई नराम्रो देखिएको महसुस गर्छन् र खुलेर हाँस्न पनि सक्दैनन् । किशोर–किशोरीमा बाङ्गोटिङ्गो दाँत भएकै कारण आत्मविश्वासमा पनि कमी आउने गरेको पाइन्छ । कसैको मुखभित्र हड्डी ठूलो र दाँत सानो हुँदा मुख चुच्चो देखिन्छ ।

उनीहरुलाई आफ्नो अनुहार राम्रो लाग्दैन, जसले गर्दा आत्मबल पनि कमजोर हुन्छ । यसैकारण पछिल्लो पुस्ताले बे्रसेस लगाउने गरेका छन् । कस्तो अवस्थामा ब्रेसेस बाँधिन्छ ?, कति खर्च लाग्छ, कति समयसम्म बाधिराख्नुपर्छ ? लगायतका प्रश्नहरुमा केन्द्रित रहेर दन्त चिकित्सक डा. खगेन्द्र कुमार झासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी: 

दाँतमा किन र कस्तो अवस्थामा ब्रेसेस बाँधिन्छ ?

मानिसले दाँतलाई सही आकार दिन, बाहिर निस्केको दाँत भित्र ल्याउन र दाँतको सौन्दर्य बढाउन दाँतमा तार अर्थात् ब्रेसेस लगाउने गर्छन् । यदि तपाईंको दाँतको बिचमा ग्याप छ, बाङ्गोटिङ्गो छ भने दाँतलाई मिलाएर मिलाउन ब्रेसेस बाँध्ने गरिन्छ । दाँतमा सन्तुलन मिलेन भने चपाउन गाह्रो हुने, दुईवटा दाँत घस्रिएर खिइने र सेन्सेटिभ हुने, दाँतको मांसपेशी र जोर्नीमा पनि असर गर्न सक्छ । त्यसैले यो मिलाउन पनि दाँतमा ब्रेसेस बाँधिन्छ । साथै दाँत बढी फाटिएको, खप्टिएको अवस्थामा ओठ बन्द नहुने, बोल्दा बोली स्पष्ट नहुने समस्या भएमा दाँतको सुन्दरताको लागि पनि ब्रेसेस बाँधिन्छ ।

ब्रेसेस सबै एकै प्रकारको हुन्छ कि फरक फरक हुन्छन् ?

आम मानिसले बाहिरी रुपमा हेर्दा ब्रेसेस एकै प्रकारको जस्तो देखिनु स्वभाविक हो तर यो तपाईंको दाँतको समस्या र अवस्था अनुरुप भिन्नभिन्नै हुन्छ । ब्रेसेस बाँध्ने पनि धेरै तरिका र प्रकार छन् । मेटल ब्रेसेस धेरैजसो प्रयोग हुने गरेको छ । यो मेटलले बनेको हुन्छ । यो दाँतमा विशेष सिमेन्टले टाँसिएको हुन्छ । यो उपचार अवधिभर ‘फिक्स’ हुन्छ । यो निकाल्न मिल्दैन । हरेक महिना चिकित्सकलाई भेटेर दाँत कस्नुपर्ने हुन्छ । तार पनि अवस्था हेरेर परिवर्तन हुन्छ । कसैकसैलाई मेटल ब्रेसेस मन नपर्ने पनि हुन सक्छ । नदेखियोस् भन्ने हुन्छ । त्यसको विकल्पमा सेरामिक ब्रेसेस छ । यो ब्रेसेसको काम गर्ने तरिका एउटै हो । मेटल ब्रेसेस देखिन्छ भने सेरामिकले बनेको ब्रेसेस देखिँदैन ।

ब्रेसेस बाध्नुका फाइदा र बेफाइदाहरु के–के छन् ?

यसका फाइदाहरुको कुरा गर्नुपर्दा यदि कसैको दाँत बाङ्गो छ, अगाडि निस्केको छ भने त्यस्ता व्यक्तिलाई ब्रेसेस लगाउनु धेरै फाइदाजनक हुन्छ । दाँत बराबर मिलेपछि आत्मविश्वास पनि बढ्छ । यसबाहेक दाँतमा तार बाँधेपछि मानिसको खाना चपाउने क्षमतामा सुधार हुन्छ । दाँत माझ्न र राम्रोसँग सफा गर्न सजिलो हुन्छ । दाँतमा तार जडान गर्नाले मुख र दाँत सम्बन्धित रोगको जोखिम पनि कम हुन्छ । दाँत खिइने समस्याबाट पनि बचाउँछ ।

दाँतमा तार लगाउँदा फाइदा मात्रै होइन, केही फाइदा पनि हुन्छन् । तारको कारण दाँतमाथि केही ठाउँ छोडिन्छ जसमा खाना अड्किन सक्छ । यदि अड्किएको खानालाई समयमै हटाउन सकिएन भने खानेकुरा दाँतमा अड्किएर दाँत सड्ने खतरा पनि हुन सक्छ । ब्रेसेस लगाएर अड्किएको खानालाई सफा गरेन भने गिजा पाक्ने, संक्रमण हुने, सुन्निने समस्या समेत हुन्छ । ब्रेसेस लगाउँदा दाँत आफ्नो ठाउँबाट सर्छ र यस्तो अवस्थामा केही दिन दाँत दुख्ने समस्या हुन सक्छ ।

ब्रेसेस लगाएपछि के कस्तो सावधानी अपनाउनुपर्छ ?

ब्रेसेस साह्रो चीज नखाने, धेरै चिपचिपे खानेकुरा नखाने गर्नुपर्छ । साथै ब्रेसेस बाँधेपछि दाँतमा खाना अड्किने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । ब्रस गर्दा पनि सावधानी अपनाउनुपर्छ । ब्रेसेस बाँध्दा ब्रस गर्दा अप्ठ्यारो हुन्छ कसैलाई गिजामा संक्रमण हुन सक्छ । त्यसैले चिकित्सकसँग फलोअपमा जानु राम्रो हुनुपर्छ ।

साधारणतया ब्रेसेस लगाएपछि कसरी दाँत माझ्ने होला भन्ने जिज्ञासा हामी सबैको मनमा लाग्छ । यसकारण ब्रेसेसपछि दाँत माझ्न कतिको सहज हुन्छ ?

सबैको मनमा यहि कौतुहलता हुनसक्छ तर ब्रेसेस लगाएपछि हामीले पहिला प्रयोग गर्ने ब्रसले दाँत माझ्दैनौं । ब्रेसेसलाई सहज हुने खालको छुट्टै खालको ब्रसले दाँत माझ्नुपर्छ र दाँत माझ्दा एक–एक वटा दाँत बिस्तारै माझ्नुपर्ने हुन्छ ।

कति उमेर पुगेपछि ब्रेसेस बाँध्न मिल्छ ?

मेरो उपचार अनुभवमा ६५ वर्षको वृद्वालेपनि ब्रेसेस लगाउनुभएको छ । त्यस्तो उमेर समूह भन्ने हुँदैन । साना बालबालिकादेखि वृद्ववृद्वा हरेक उमेरका मानिसले ब्रेसेस लगाउन सक्छन् । तर ब्रसेस लगाउने तरिका भने बालबालिका र उमेर पुगेका व्यकितहरुमा फरक–फरक रहन्छ ।

ब्रेसेस बाँधेपछि के के खानेकुरा खानहुन्छ, कस्तो हुँदैन ?

तपाईंले ब्रेसेस राख्नुभन्दा अघि जे जस्तो खानेकुराहरु खानुहुन्थ्यो । त्यस्तै सेवन गर्दा हुन्छ । तर अलि साह्रो, चिपचिप हुने, चिल्लो खानेकुराहरु कम खाने र खाँदा होसियारी अपनाउनुपर्छ । मासुको सेवन गर्दा हाड नभएको फलमासु सानो–सानो पिस बनाएर खानुपर्छ । अन्य त्यस्तो सेवन गर्नै नहुने भन्ने खानेकुरा छैन ।

कति समयपछि यो झिक्न मिल्छ ?

सामान्यतया ६ महिनादेखि ५–६ वर्षसम्मको अवधि हुन्छ । र यो कति समयमा दाँतमा ब्रेसेस राख्ने भन्ने कुरा तपाईको दाँतको अवस्थामा पनि भरपर्ने कुरा हो । दाँत कत्तिको फाटेको छ, कत्तिको बाहिर निस्किएको छ भन्ने कुराले समय अवधिमा फरक पार्छ ।

कति खर्च लाग्छ ?

हरेक क्लिनिकको आ–आफ्नै मुल्य तोकिएको हुन्छ । हाम्रो क्लिनिकको कुरा गर्नु पर्दा २० हजारदेखि शुरु भएर एक लाख पच्चीस हजार रुपैयाँसम्म खर्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?