काठमाडौँ– राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजलाई लक्षित गरी सार्वजनिक भएका पाँच वटा गीतलाई प्रतिबन्ध गरेको छ । नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मौलिक परम्परलाई प्रहार गरेको भन्दै पाँच गीतलाई प्रतिबन्ध गरेको हो ।
नेपालले गायिका कविता खत्री र भागिरथ चलाउनेको स्वर रहेको ‘दिउँला बरिलै’, गायिक प्रिती आलेको स्वर रहेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको स्वर रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरीको स्वर रहेको ‘बिस्ताराले पोल्यो’ र प्रिति आले र प्रकाश शर्माको स्वर रहेको ‘चियर्स बियर’ बोलको गीत प्रतिबन्ध गरेको हो ।
‘हिन्दु नेपाली महिलाहरूको महान् पर्व ‘हरितालिका तीज – २०८१’लाई लक्षित गर्दै सार्वजनिक भएका विकृतिजन्य गीतहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल स्थापना कालदेखि नै गीत सङ्गीतको क्षेत्रमा मौलिक गीतहरूलाई प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्दै आएको संस्था हो । त्यसैले गीतहरूलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको कुरा हाम्रा सम्पूर्ण सदस्य एवम् सञ्चारकर्मीहरूमा जानकारी गराउँदछौ ।’
नेपालले सबै सञ्चार माध्यमलाई विकृतीजन्य गीतलाई स्थान नदिनको लागि समेत अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया