काठमाडौँ– फिल्म ‘के घर के डेराः घर नम्बर २’ को मुख्य भूमिकामा तीन जना अभिनेता फाइनल भएका छन् । फिल्मको लागि अभिनेताहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भएका हुन् ।
दीपेन्द्र के.खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्मका लागि आर्यन सिग्देलसँग सम्झौता गरिएको छ । उनको भूमिकाबारे भने सार्वजनिक गरिएको छैन । यसअघि दुई अभिनेता खगेन्द्र र निश्चलकाे अभिनय रहने तय भइसकेको छ । फिल्मको लागि दुई अभिनेत्री तय गर्न बाँकी रहको निर्माण टोलीले जनाएको छ ।
यही साउनको २५ गतेदेखि छायांकन सुरु हुने फिल्म ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् भने फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी रहनेछ।
फिल्ममा युवराज कार्की फिल्मको कार्यकारी निर्माताका रूपमा छन्। सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले बताएका छन्।
काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले फिल्मलाई वितरण गर्ने पक्का भइसकेको छ। फिल्मलाई यही वर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया