मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलामा हुने रजोनिवृत्ति के हो ?

किशोर अवस्थामा महिनावारी शुरु हुनु र निश्चित उमेरपछि पुन: रोकिनु प्राकृतिक नियम नै हो । सामान्यतया महिनावारी ११/१२ वर्षको उमेरदेखि शुरु हुन्छ र ४० देखि ५० वर्षको बीचमा रोकिने गर्छ ।

सामान्य भाषामा महिनावारी रोकिनुलाई ‘मेनोपज’ अर्थात् ‘रजोनिवृत्ति’  पनि भन्ने गरिन्छ । जसरी महिनावारी शुरु हुने प्रारम्भिक चरणमा हामी किशोरीहरूको ख्याल गरिन्छ । त्यसरी नै महिनावारी रोकिने समयमा पनि ध्यान पुर्‍याउनुपर्छ ।

महिनावारी एकैपटक सुक्दैन । महिनावारी सुक्नुअघि यसको नियमितता विस्तारै परिवर्तन हुँदै जान्छ । जसले गर्दा महिलाहरुको व्यवहारमा परीवर्तन र असन्तुलन देखा पर्न सक्छ । रजोनिवृत्तिपछि धेरै समस्या नपरोस् भनेर पहिलादेखि नै ध्यान दिनुपर्छ । रजोनिवृत्तिको समयमा हुने समस्याबाट जोगिन ३०/४० वर्षको उमेरदेखि नै तयारी गर्नुपर्छ । साथै मानसिक रूपमा पनि तयार हुन चिकित्सकले सल्लाह दिन्छन् ।

रजोनिवृत्तिका सन्दर्भमा स्त्रीरोग विशेषज्ञ डा. ज्योति लामिछानेसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

रजोनिवृत्ति कस्तो प्रक्रिया हो ?

रजोनिवृत्ति महिनावारी बन्द हुने अर्थात् सुक्ने प्रक्रिया हो । उमेर पुगेपछि महिनावारी रोकिनु रजोनिवृत्तिको एउटा प्राकृतिक बायोलोजिकल प्रक्रिया हो । जुन हरेक महिलाहरुमा ४० देखि ५० वर्षको बीचमा हुन्छ । यो क्रममा महिलाहरुमा धेरै प्रकारका हार्मोनल परिर्वतनहरु आउन थाल्छन् ।  जसका कारण माहिनावारी बन्द हुन्छ । महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाई रजोनिवृत्ति भनिन्छ । यस अवस्थामा महिलाको अण्डाशयको काम स्थायी रूपमा बन्द हुन्छ । प्रजनन शक्ति समाप्त हुन्छ ।

सामान्यतया: यस्तो प्रक्रिया कति वर्ष पार गरेका महिलामा हुन्छ ?

महिनावारी बन्द हुने उमेर भनेको ५१ वर्ष हो । तर अहिले भने महिलाहरुको खानपान, मानसिक समस्या, विभिन्न रोग र औषधिहरुको सेवनका कारण कोहिमा ४० वर्ष पुग्दै गर्दा नै महिनावारी सुक्ने हुन्छ भने कोही ५२/५३ वर्षको उमेरमा पनि महिनावारी भइरहेको छ भन्दै आउनुहुन्छ ।

यसका लक्षणहरु के–कस्ता देखा पर्दछन् ?

सामान्यतया यसका लक्षणहरु भनेको अनियमित महिनावारी हुनु, धेरै थकाइ लाग्नु, डिप्रेसमा पर्नु, पिसाब फेर्न गाह्रो हुनु, हाड खिइनु, योनी सुक्खा हुनु आदि हुन् । सामान्यतया उमेरले ४० कटेपछि महिलाको महिनावारी गडबड हुन थाल्छ । महिलामा विना कारण नै उदासी र चिन्ता बढ्छ । निद्रा नपर्ने, चिच्याउन, कराउन, रुन मन लाग्ने, भर्खरै गरेको काम बिर्सिने क्रम शुरु हुन सक्छ । योनीमा सुख्खापन हुने, यौन इच्छा घट्दै जाने हुन्छ  । अनियमित भइरहेको महिनावारी चक्र केही वर्षपछि बन्द हुन्छ  र रजोनिवृत्ति हुन्छ ।

महिनावारी शुरु हुने उमेरमा परिवारले किशोरीको ख्याल गर्ने गरेको पाइन्छ तर महिनावारी सुक्ने समयमा भने महिलाको खासै ख्याल गरेको पाइँदैन । यसले कस्तो प्रभाव पार्छ ?

यो एकदमै समय सान्दर्भिक कुरा हो । महिनावारीको समय जस्तै महिनावारी सुक्ने समयमा पनि महिलाहरुमा शारीरिक तथा मानसिक समस्या र परिवर्तनहरु आउँछन् । यसकारण यी दुबै चरणहरुमा परीवारको साथ र साहनुभूति आवश्यक हुन्छ ।

यस अवस्थामा मानसिक परिवर्तनबारे परिवारमा बुझाइको कमीले गर्दा पारिवारिक एवं व्यावसायिक काममा सन्तुलन गर्न कठिनाइ हुने गरेको, पारिवारिक खटपट बढ्ने गरेको र यस्ता कारणले महिलाहरूले आफ्ना भावना पनि व्यक्त नगरी मानसिक तनावमा रहने गरेको पाइन्छ ।

रजोनिवृत्तिले महिलाको शरीरमा थुप्रै परिर्वतन ल्याउँछ । परिवर्तनका यी लक्षण स्त्री अण्डाशयमा इस्ट्रोजन र प्रोजेस्टेरोनको कम उत्पादनको परिणाम हो । रजोनिवृत्तिपछि सामान्यतया महिलाहरू गर्भवती हुन सक्दैनन् । महिलाको डिम्बाशयबाट अण्डा उत्पादन कमी हुन्छ र रक्तसञ्चारमा इस्ट्रोजन हर्मोनको कमीले रजोनिवृत्ति हुन्छ ।

रजोनिवृत्ति कुनै रोग होइन । महिलामा हुने इस्ट्रोजन हर्मोनको कमीले शरीरमा आउने एक बदलाव हो । रजोनिवृत्ति भएकालाई लक्षणहरूले असाध्यै च्याप्यो भने शरीरमा ‘इस्ट्रोजन’ हर्मोनको थेरापी गरेर असहजता कम गर्न सकिन्छ । महिनावारी गडबड हुन थालेपछि इरिटेटिङ हुन थाल्छ । रजोनिवृत्ति भनेको अब अर्कै लाइफ स्टाइल शुरु हुँदैछ भन्ने पनि हो । यो प्राकृतिक नियम जसले स्वीकार्छ, उसको जीवन सहज बित्छ । जसले स्वीकार्दैन, ऊ त्यही भुमरीभित्र घुम्छ । यो बेला तनावचाहिँ एकदमै हुन्छ ।

छोराछोरीहरू आमा किन कराइन्, झर्किइन् भनिरहन्छन् । श्रीमानले पनि उमेर बढ्दै गएपछि श्रीमती बढी नै किचकिचे भएको सोच्छन् । यसकारण ४० बाट उकालो लागेका आमा तथा श्रीमतीलाई साथ दिनुपर्छ ।

रजोनिवृत्तिबारे हाम्रो समाजमा रहेका भ्रम पनि छन् । रजोनिवृत्ति कुनै पनि महिलाको जीवनको एक सामान्य चरण हो । तर यसबारेमा केही भ्रम पनि समाजमा व्याप्त छन् । रजोनिवृत्ति ५० वर्षपछि मात्रै हुन्छ भन्ने मान्यता छ । रजोनिवृत्तिको प्रभाव, लक्षण सबै महिलालाई एकै प्रकारको हुन्छ भन्ने छ । त्यस्तो हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?