तपाईँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ?
तपाईँले देखेका ती ती सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । यसको कारण के होला भन्ने तपाईँलाई लागेको छ भने आज हामी यसको बारेमा जानकारी गराउँदै छौँ ।
आखिर झरनाको पानी किन सेतो देखिन्छ त ? कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी फर्केको सूर्यको प्रकाश हाम्रो आँखामा परेपछि हामी त्यो वस्तुलाई देख्छौँ ।
त्यसैगरी पानीबाट पनि सूर्यको प्रकाश ठोक्किएर फर्कने गर्छ । समथर रुपमा बगेको पानीले एउटा ऐनाको जस्तो काम गर्छ ।
जसरी सूर्यबाट प्रकाश आउँछ, त्यसरी नै त्यो प्रकाश फर्कने गर्छ । त्यसैले त्यो बिना रङ्गको देखिन्छ ।
तर, झरनाबाट झरेको पानी भने विभिन्न थोपाहरूमा टुक्रिने हुनाले ती पानीका थोपाहरूले प्रकाशलाई विभिन्न कोणमा परावर्तित गर्छन् । त्यही भएर तिनीहरू सेता देखिने गर्छन् ।
सूर्यको प्रकाश विभिन्न कोणमा बाङ्गिएर हाम्रो आँखामा पर्यो भने त्यो सेतो रङ्गको देखिन्छ ।
यो कुरा ऐनामा पनि लागू हुन्छ । चिल्लो सतह भएको ऐना रङ्गहीन देखिन्छ । तर, त्यही ऐनाको सतहलाई खस्रो बनाउने हो भने त्यहाँबाट पनि प्रकाश विभिन्न कोणमा बाङ्गिएर फर्कने हुँदा त्यो पनि सेतो देखिन्छ ।
त्यसैगरी, बादल र हुस्सुमा पनि पानीका विभिन्न थोपाहरू हुन्छन् । त्यसैले ती पनि सेतै देखिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया