मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

एन्डी गोल्डस्वर्थीः जसले प्रकृतिलाई नै सङ्ग्रहालय बनाएर कला सिर्जना गरेका छन्

काठमाडौँ– प्रकृति आफैँमा एउटा कलाको प्राकृतिक सङ्ग्रहालय हो । मानव सभ्यतामा ढुङ्गे युगमै करीब ३० हजार पहिले मानिसहरुले गुफा र विभिन्न चटानहरुमा जनावर र मानव प्राणीहरूको चित्रमा प्रकृतिको प्रतिनिधित्व गरेका थिए । प्राग ऐतिहासिक कला नमुनाहरुमा यी कुराहरु चित्रण भएका छन् ।

प्रकृतिको सङ्ग्रहालयमै कलाका अनेक, रङ, रुप र आकारहरु यत्रतत्र छन् । प्रकृतिकै ढुङ्गा, माटो, रुखबिरुवा, यसक पातपतिङ्गर, काठ, सिङ्गो जल, जमीनमै कलाका रुपरङ्गहरु छन् । मात्र यी कलाहरुलाई आम मानिसले देख्ने गरी कलाको फर्ममा ल्याउन जरुरी देख्छन्, इङ्गल्याण्डका प्रसिद्ध मूर्तिकार, फोटोग्राफर तथा वातावरणविद् एन्डी गोल्डस्वर्थी ।

कलाकार एन्डीका लागि सिङ्गो प्रकृति नै कला सङ्ग्रालय हो । आम मानिसले सामान्य रुपमा देख्ने ढुङ्गा, माटो, पातपतिङ्गर र यसै रहेका काठका टुक्राहरुमा उनले मनमोहक र उत्कृष्ट कलाकृतिहरु तयार गरेका छन् । जुन उनले प्रकृतिकै काखमा सिर्जना गरेका विशेषत प्रतिस्थापन कलाकृतिहरु विश्वमै नै लोकप्रिय छन् ।

प्रकृतिबाट प्रेरित भएर प्रकृतिकै कच्चा पदार्थहरुको प्रयोग गरेर कला सिर्जना गर्ने भएकै कारण यसलाई अहिले वातावरणीय कलाका नामले समेत चिनिन्छ । वातावरणीय कलाले हामीलाई प्रकृति र यसमा रहेका हर वस्तुको चिन्तनभावमा उत्प्रेरित हुन सघाउँछ ।

इङ्गल्याण्डस्थित चेशायरमा सन् १९५६ मा जन्मेका उनले १९७०को मध्यदेखि नै कलामा शहर र ग्रामिण परिवेशलाई चित्रण गरेका छन् । ब्राडफोर्ड स्कूल अफ आर्ट र प्रेस्टन पोलिटेक्निकमा अध्ययन गरेका उनका कला सिर्जनामा विशेषगरी प्रकृतिमा पाइने पातहरू, बालुवा, बरफ र ढुङ्गा जस्ता प्राकृतिक वस्तुहरुकै चरित्र चित्रण पाइन्छ । प्रकृतिमा रहेका पात होस् या ढुङ्गा यी स–साना र सामान्य वस्तुहरुमा समेत उनको प्रकृति प्रेम र आत्मियता झल्काएका छन् ।

प्रकृतिबाट प्रेरित उनका हर कलाहरुमा प्रकृतिकै अद्वितीय दृष्टिकोण र छनक चित्रण भएका छन् । प्रकृतिकै वरपरको वातावरणमा पाइने प्राकृतिक सामग्रीहरू नै प्रयोग गरेर कला निर्माण गर्ने भएकै कारण एन्डीका रचनाहरू प्रायः अस्थायी र अल्पकालीन प्रकृतिका छन् । जुन रचनाहरुले मानवजाति र प्रकृति बीचको जटिल अन्तरसम्बन्ध, सहचार्यसँगै प्राकृतिक संसारको सुन्दरतालाई झल्काउँछ । उनका रचनालाई अझै परिभाषित गर्दा सम्पूर्ण कलाकृतिहरु नै प्राकृतिक सौन्दर्यको सार हो ।

कलामा प्रयुक्त पात, ढुङ्गा, काठका टुक्रा र बरफ जस्ता चीजबिजहरु वातावरणीय पर्यावरणसँग प्रत्यक्ष जोडिएका छन् । जसरी प्रकृतिमा परिवर्तन भइरहने ऋतु र मौसम छन्, त्यही नै अनुसार उनका कला सिर्जनाहरु फेरिरहन्छन् । जसले प्रकृति र मानवको परिवर्तनशील परिदृश्य बीचको सम्बन्ध स्थापित गर्दछ ।

जसरी उनले पातका रङ र आकार अनुसार कला तयार गर्दा केही क्षण वा दिनमै त्यसमा परिवर्तन देखा पर्छन्, त्यसरी उनले  क्षणिक मानव र प्रकृतिको लयलाई प्रतिकात्मक रुपमा समेत मानव समाजलाई बुझाउने जमर्को गरेका छन् । उनले कला सिर्जना प्रक्रियामा कला निर्माण, त्यसमा हुने परिर्वतन र त्यसैमा रूपान्तरणको पक्षलाई समेत जोड दिएका छन् । त्यसकारण उनका कलाकृतिहरुमा प्रकृतिको गतिशील शक्तिहरूसँग निरन्तर विकास र अनुकूलनको सम्बन्ध जोडिएका छन् ।

ग्रामीण र शहरी जुन परिवेशमा कला सिर्जना गरेपनि उनले त्यसमा प्राकृतिक वातावरणको विशेषता र प्रक्रियाहरूलाई नै विशेष ख्याल गरेका छन् । जसमार्फत उनले कलामै जीवन, मृत्यु, र प्रकृतिमा मानव जातिको स्थायीत्व र सम्बन्धलाई देखाउन खोजेका छन् । एन्डीले आफ्नो बाल्यकालको अधिकांश समय बाह्य वातावरणमै बिताए ।

उनले आफ्नो नजिकै खेतबारीहरुमा गएर कृषिकार्य समेत गरे । यसले गर्दा कृषि हुँदै प्राकृतिक दृश्य, वस्तुहरुसँग उनको बाल्यकालदेखि नै प्रेम बस्यो । प्रकृतिसँगको उनको बाल्यकालीन प्रेम अभिव्यक्त गर्ने थलो पछि ब्राडफोर्ड कलेज बन्यो । त्यसपछि उनले समुन्द्री सतहमा पाइने बालुवा होस् या ढङ्गाका कण तथा टुक्राहरुमा समेत विभिन्न आकार मूर्तिकलाहरु बनाए ।

कलेज जीवनको शुरुवाती समयमै उनी समुन्द्री किनारमा गएर बालुवामै रेखाहरु कोर्थे । ती रेखाहरुलाई समुन्द्री छालले एकैछिनमा बगाएर लैजान्थे । उनी फेरि पनि रेखाहरु नै कोर्थे । यसैमा उनले प्रकृति र मानव जीवनका अनेक अर्थहरु र सम्बन्धहरु खोतल्ने मौका पाए ।

उनका शुरुवाती कलाकृतिहरु त्यही समुन्द्री किनार र तटहरुमा नै बने । उनका कलाहरु क्षणिक नै भएपनि उनका लागि ती सिर्जनाहरु मात्र नभएर आम मानव जगतलाई प्रकृति र मानवको अन्तरसम्बन्धलाई बुझाउने आधारहरु हुन् । 

उनले विश्वका विभिन्न देशमा ७० वटा भन्दा बढी कला प्रदर्शनीहरु गरेका छन् । बेलायत, फ्रान्स, जापान, अमेरिका जस्ता देशका सडक, म्युजियम अफ ज्यूइस, गार्डेन अफ स्टोन, डेस मोइन्स आर्ट सेन्टर जस्ता विभिन्न सङ्ग्रहालय, प्रतिष्ठान तथा विश्वविद्यालयहरुमा उनका कला प्रदर्शन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?