मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खेलको महाकुम्भ ओलम्पिक पेरिसमा शुरु, दश हजारभन्दा बढी खेलाडी सहभागी

काठमाडौँ- पेरिसमा शुक्रबारदेखि खेलकुदको महाकुम्भ गृष्मकालीन ओलम्पिक औपचारिक रुपमा शुरु भएको छ । पेरिसको सेन नदीमा धमाकेदार समारोहको आयोजना गर्दै ओलम्पिकको उद्घाटन गरिएको हो ।

पेरिसमा इतिहासमै पहिलो पटक रंगशालाबाहिर ओलम्पिक उद्घाटन समारोह आयोजना गरिएको हो । उद्घाटन समारोहमा ओलम्पकिमा सहभागी राष्ट्रका खेलाडीहरु डुङ्गामा चढेर मार्सपासमा सहभागी भएका थिए ।

हल्का वर्षा भएपनि त्यसले उद्घाटन समारोहलाई प्रभाव पार्न सकेन । उद्घाटन समारोहमा सेलिन डियोन, लेडी गागाजस्ता कलाकारले प्रस्तुती दिएका थिए ।

हुन त फुटबल, रग्बी सेभेन्स, आर्चरी र ह्याण्डबलका खेलहरु बुधबारदेखि नै शुरु भइसकेका छन् । फ्रान्सको राजधानी पेरिसले १ सय वर्षपछि पहिलो पटक ओलम्पिकको आयोजना गरेको हो । यसअघि सन् १९२४ पेरिसले ओलम्पिक खेल आयोजना गरेको थियो । शुक्रबार शुरु भएको ओलम्पिक अगस्ट ११ मा समापन हुनेछ ।

यसपालीको ओलम्पिकमा १० हजार ५ सय खेलाडी सहभागी हुने बीबीसीले जनाएको छ । यसपालीको ओलम्पिकमा इतिहासमै पहिलो पटक महिला र पुरुष खेलाडीको समान सङ्ख्यामा सहभागिता रहने जनाइएको छ । यसअनुसार पुरुष र महिला खेलाडी समान ५ हजार २ सय ५० जना सहभागी हुनेछन् ।

पेरिस ओलम्पिकमा एउटा शरणार्थी टिमसहित २ सय ६ राष्ट्रका खेलाडीको सहभागिता रहने जनाइएको छ । यस ओलम्पिकमा सबैभन्दा धेरै अमेरिकाका ५ सय ९२ खेलाडीको सहभागिता रहनेछ ।

त्यसपछि आयोजक फ्रान्सका ५ सय ७३ जना खेलाडीले यस ओलम्पिकमा सहभागिता जनाउनेछन् । त्यसपछि अस्ट्रेलिया, जर्मनी, जापान र चीनका क्रमशः ४ सय ६०, ४ सय २८, ४ सय ३ र ३ सय ८८ जना खेलाडीले सहभागिता जनाउने छन् ।

भारतले १ सय १० जना खेलाडीलाई पेरिस पठाएको छ । पेरिस ओलम्पिकमा नेपालका ७ खेलाडी सहभागी हुनेछन् । सबैभन्दा कम खेलाडी भने बेलिज, लिक्टेन्स्टाइन, नाउरु र सोमालियाले पठाएका छन् । यी मुलुकले समान एक जना खेलाडीेमात्र ओलम्पिकमा पठाएका छन् ।

ओलम्पिकमा ३२ खेल समेटिएका छन् । जसमा फुटबल, रग्बी, आर्चरी र ह्याण्डबलसहित पौडी, गल्फ, जिमन्यास्टिक, कुश्ती, ब्याडमिन्टन, एथ्लेटिक्स, बक्सिङ, हकी, फेन्सिङ, जुडो, तेक्वान्दो, शुटिङ, टेबल टेनिस, भलिबलजस्ता खेलहरु समेटिएका छन् ।ओलम्पिकका खेलहरु ३५ स्थानमा आयोजना हुनेछ ।

अधिकांश खेलहरु पेरिसमा आयोजना भएपनि केही खेलहरु भने लियोन, मार्सेजस्ता शहरमा पनि केही खेलहरु हुने जनाइएको छ । यो ओलम्पिकमा ब्रेकडान्स खेलले पहिलो पटक स्थान पाएको छ । यसअघि ओलम्पिकमा समावेश कराते र बेसबल खेललाई भने यस पटक समेटिएको छैन ।

पेरिसमा हुने खेलहरु पार्क डे प्रिन्स, स्टाट डे फ्रान्स, रोलाण्ड गारोस, ग्राण्ड प्यालेस, पालेस डे ला कन्कर्डजस्ता चर्चित स्थलहरुमा पनि आयोजना हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यसबाहेक फ्रान्सदेखि १६ हजार किलोमिटर टाढा प्रशान्त महासागरमा रहेको फ्रेन्च पोलिनेशियाको ठहिटीमा सर्फिङ खेलको आयोजना हुनेछ ।

पेरिस ओलम्पिकमा कुल ३ सय २९ स्वर्ण पदकका लागि स्पर्धा हुने कार्यक्रम छ । स्वर्ण पदकका विजेतालाई ५० हजार डलर पुरस्कार पाउने बीबीसीले जनाएको छ ।

पदक तालिकामा अमेरिका, चीन कै बर्चश्व रहने अपेक्षा गरिएको छ । जापानको राजधानी टोकियोमा आयोजना गरिएको अघिल्लो ओलम्पिकमा अमेरिकाले सर्वाधिक ३९ स्वर्ण जितेको थियो भने चीनले ३८ स्वर्ण जितेको थियो । ओलम्पिक आयोजना गर्न ८ खर्ब युरो खर्च हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?