मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अजिमा एन्ड ६ जेन्डर्स’मा मातृसत्तात्मक र पितृसत्तात्मक आध्यात्मिक परम्पराको चिरफार

काठमाडौँ– ‘मातृसत्तात्मक धार्मिक परम्परामा महिलाको अस्तित्व के थियो ?’ पितृसत्तात्मक आध्यात्मिक परम्पराले कसरी महिलाको शरीर र योनीलाई अछुत बनायो ?

पितृसत्तात्मक आध्यात्मिक परम्पराले जरा गाडेपछि लिङ्ग, जात र वर्गीय विभाजन कसरी शुरुवात भयो ?’ यिनै प्रश्नहरुको जवाफ खोतल्ने प्रयास वृत्तचित्र ‘अजिमा एन्ड ६ जेन्डर्स’ले गरेको छ ।

बिहीवार जमलस्थित विश्वज्योति सिनेमा हलमा राजनीतिक, शैक्षिक, आर्थिक, साहित्यिक, चलचित्र तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा वृत्तचित्रको प्रिमियर शो गरिएको थियो ।

विशेषत पितृसत्तात्मक आध्यात्मिक परम्पराले मातृसत्तात्मक परम्परालाई ढालेपछि ओझेल परेको मातृप्रधान समाजलाई वृत्तचित्रले समेट्ने जमर्को गरेको छ । पितृसत्तात्मक आध्यात्मिक परम्पराले नै पुरुसत्व प्रधानता दिँदै महिलालाई कमजोर बनाउने भाष्यलाई स्थापित गरेको कुरा वृत्तचित्रमा उल्लेख गरिएको छ ।

काठमाडौँ उपत्यकाका मठमन्दिरहरूमा रहेका मूर्तिकला, काठका टुँडालहरूमा कुँदिएका कलाकृतिहरूमा मातृसत्तात्मक आध्यात्मिक परम्परा रहँदा महिला र फरक पहिचान भएका वर्गहरूमा स्वतन्त्रता र समानता रहेको पक्षलाई समेत वृत्तचित्रले जोड दिएको छ ।

वृत्तचित्रमा मातृसत्ता र यसको सामाजिक, सांस्कृतिक परम्पराहरूलाई जोड्न उपत्यकामा रहेका अजिमाहरूको मन्दिर, मूर्ति र धार्मिक प्रक्रियाहरूलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।

जातिका, छ्वास्स, न्यात अजिमा(नरदेवी) जस्ता देवीहरूको ऐतिहासिक र पौराणिक पक्षहरु वृतचित्रमा देख्न सकिन्छ । नेपाल लगायत विश्वमा नै मान्दै आएको सन्यासीहरुको श्रवण परम्परा र पुरोहितहरूको ब्राह्मण परम्परामा पितृसत्तालाई र पुरुसत्वलाई मान्छ । यद्यपि तन्त्र परम्परामा मातृसत्तात्मक परम्परालाई जोड दिइन्छ ।

जसमा महिलाको योनीलाई पवित्र मानिन्छ । महिलाको योनीबाट निस्कने रगत होस् या बच्चा जन्माउँदा शुरुमै अजिमालाई चढाइन्छ । पितृसत्तात्मक आध्यात्मिक परम्परा आएपछि महिलाको योनीलाई अछुत मानी यसबाट निस्किएका सबै चीजलाई नै अपवित्र मानियो ।

जसकारण नै रजस्वला हुँदा होस् या सुत्केरी हुँदा महिलालाई सुतक र छाउ बार्न लगाइयो भन्ने तथ्यलाई समेत वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

यसमा उपत्यकामा मान्दै आएको जीवित देवदेवीहरू कुमारी, भैरव र गणेशबारे समेत उल्लेख गरिएको छ । कुमारीलाई जीवित देवीकै रुपमा दरवारभित्रै सीमित राख्नु, विवाह गृहस्थीबाट वर्जिक गर्नुमा समेत पितृसत्तात्मक आध्यात्मिक परम्परामा आधारित पुरुसत्वको भूमिका रहेको तथ्यहरु समेत यसमा खुलाइएका छन् ।

काठमाडौँमा उपत्यकाका मान्दै आएको इन्द्रजात्रा, इन्द्रध्वजालाई कसरी युद्ध र पुरुसत्वको प्रतीकका रुपमा लिइन्छ भन्ने पक्ष समेत यसमा जोडिएको छ । साथै नेवारी समुदायमा लाखे परम्परा र यसको ऐतिहासिक मिथकलाई समेत स्थानीय जानकार, विज्ञहरुको मतलाई वृत्तचित्रमा समेटिएको छ ।

काठमाडौँ वसन्तपुर, इन्द्रचोक, काष्ठमण्डप, ठमेल जस्ता क्षेत्रमा रहेका मन्दिर र मूर्तिहरूको धार्मिक मात्र नभएर ऐतिहासिक तथा पौराणिक दृष्टिकोणबाट वृत्तचित्रमा खोज गरिएको छ ।

जस्तो काष्ठमण्डप परिसरमै रहेको लक्ष्मी नारायणको मूर्तिकला जस्ता अन्य मूर्तिहरुमा देखिएक मानव आकृतिहरूमा देखिएका आदिवासी स्वरुपहरु को थिए र तिनिहरु कहाँ गए भन्ने इतिहासबाट हराएका तथ्यहरूलाई वृत्तले चित्रले सोचनीय बनाउँछ । नेपाल मण्डलमा आदिवासी समुदायहरु रहेको तथ्यहरूलाई ती मूर्तिहरुमा कुँदिएका मानव आकृतिहरूले इंगित गरेका छन् ।

वृत्तचित्र प्रिमियर शो मा सहभागी समाजशास्त्री मीना पौडेलले राजनीतिक रुपमा पुरुसत्वको मात्र इतिहास पढाइरहेको बताउँदै वृत्तचित्रले सामाजिक तथा सांस्कृतिक इतिहासलाई खोतलेको सुनाइन् ।

वृत्तचित्र हेरेपछि अधिकारकर्मी तथा राजनीतिज्ञ विमला राई पौड्यालले वृत्तचित्रले आम मानिस थाहा नपाएका सांस्कृतिक पक्षको पाटो समेटिएको सुनाइन् । उनले भनिन्, ‘यो डकुमेन्ट्री हेरेपछि लुकेर रहेको सामाजिक र सांस्कृतिक इतिहासको खाडललाई पूरा गर्छ । यसले महिला र पुरुषको मात्र अस्तित्व छ । तेस्रो लिङ्गी वर्ग अप्राकृतिक हो भन्ने भाष्यलाई तोड्छ ।’

राजनीतिक विश्लेषक आहुतिले वृत्तचित्र बागमती प्रदेशको सभ्यतामा मात्र सीमित रहेको बताउँदै नेपाल बागमती मात्र नभएर विभिन्न सभ्यताको सङ्गम थलो रहेको धारणा राखे ।

वृत्तचित्रमा जसरी मातृसत्तात्मक समाज भनिएको छ, त्यसलाई मातृप्रधान समाजको रुपमा लिनुपर्ने उनले सुझाव दिए । पितृसत्तात्मक समाज आउने बित्तिकै मातृप्रधान समाजलाई सत्ताले भन्दा पनि उत्पादक शक्तिको विकासले ढालेको उनले सुनाए ।

युरोपियन युनियनको सहयोगमा तयार गरिएको वृत्तचित्रलाई नील हिरा समाजका संस्थापक अध्यक्ष तथा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?