काठमाडौँ– ‘रिटिङ रिटिङ नबजाउ बिनायो,’ ‘निगालो घारीमा च्याखुरा नाच्यो,’ ‘कान्छी मट्याङमट्याङ,’ ‘खिपीमा खिपी बिनायो बाजा’ जस्ता लोकप्रिय लोकगीतका सर्जक एलपी(लक्ष्मीप्रसाद) जोशीले बिहीवार महाप्रस्थान गरे ।
दमकस्थित निवासबाट उपचारका लागि अस्पताल लैजाने क्रममा ८८ वर्षको उमेरमा जोशीको निधन भएको हो । जीवनको लामो समय दमकमै बसेर उनले सिर्जना कर्मलाई निरन्तरता दिए ।
वि.सं.१९९३ सालमा धनकुटामा जन्मेका उनी २०१३ सालमा पहिलोपल्ट ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको गीत रेडियो नेपालमा रेकर्ड गरेर लोकगीतसङ्गीतमा प्रवेश गरे ।
विशेषत पूर्वेली लोकसङ्गीतलाई आफैं सङ्कलन गरेर रेडियो नेपालमा गाउने काम गरेर उनले लोकगीतसँगै बिनायाे, किराती लय, नृत्यकाे चिनारीलाई आम मानिस समक्ष पुर्याए ।
उसैगरी चित्र, नाटक, फिल्म जस्ता कलाका विधाहरुमा उनले आफूलाई उभ्याए ।महाकवि लक्ष्मी प्रसाद देवकोटाको चर्चित महाकाव्य ‘मुनामदन’लाई गीतिनाटकका रुपमा समेत उनले मञ्चन गरे ।
फिल्म ‘हिजोआजभोलि’ मा नेपालकी पहिलो नायिका भुवन चन्दसँग मूख्य भूमिका निर्वाह गरेका उनले तत्कालीन राजा वीरेन्द्रको मुहार चित्रहरु समेत बनाएका थिए ।
भारतको इन्डियन युनभिर्सिटीले उनलाई करिब डेढ महिना अघि मात्र अन्तर्राष्ट्रिय गौरव सम्मान र मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गरेको थियो ।
नेपाली लोकभाखालाइ टपक्कै टिपेर मौलिक नेपाली लोकगीत संकलन र गायनको माध्यमबाट एउटा उचाइमा पुर्याउने जोशीको निधनप्रति शोक व्यक्त गर्दै कवि तथा गीतकार दिनेश अधिकारी, लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमी लगायतकाले जोशीप्रति श्रद्धाभाव अर्पण गर्दै स्मरण गरेका छन् ।
कवि तथा गीतकार अधिकारीले जोशीलाई लोकगायन क्षेत्रका विशिष्ट धरोहरका रुपमा स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कवि तथा कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले करिब पाँच महिनाअघि मात्र प्रतिष्ठानले जोशीलाई सम्मान गरेको स्मरण गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।
‘साच्चै नै अब त कसैले पनि रिटिङ रिटिङ नबजाऊ बिनायो भनेपछि स्वतः मन छिनिने नै भयो’ उनले शोक मनाउँदै लेखेकी छिन् । सायमीले ‘बिनायो अब कस्ले बजाउँछ ?’ भन्दै दुःख भाव व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया