काठमाडौँ– अधिकांश निर्देशक तथा निर्माता फिल्म रिलिजको लागि दशैँ कुर्ने प्रवृत्ति छ । दशैँमा सार्वजनिक विदा बढी हुने भएकोले पनि निर्माता तथा निर्देशकहरु फिल्म रिलिज गर्नका लागि तँछाडमछाड गर्छन् । हुन पनि दशैँको अवसरमा प्रदर्शनमा आएका फिल्मले राम्रो कमाइ गरेको इतिहास छ ।
निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो फिल्म प्राय: दशैँको अवसर पारेर आफ्ना फिल्म निर्माण गर्ने गर्छन् ।
हालसम्म दशैँको अवसर पारेर आधा दर्जन फिल्मको रिलिजको मिति तोकिएको छ । व्यावसायिक हिसाबले केही आम्दानी हुने हुँदा दशैँ र तिहारको अवसर पारेर धेरै फिल्मले रिलिज मिति तोक्ने गर्छन् ।
दशैँ आउन अझ केही महिना बाँकी रहे पनि यी फिल्मले भने प्रदर्शन मिति तय गरिसकेका छन् । ठूला ब्यानरका फिल्म पनि दशैँको अवसरमा रिलिज हुँदा कतिपय फिल्मको चर्चा पनि हुँदैन । यद्यपि मेकरले फिल्मको रिलिज मिति घोषणा गर्न भने छोडेका छैनन् । आज हामीले दशैँ छेकोमा रिलिज हुन लागेका फिल्मका बारेमा चर्चा गर्दैछौँ ।
‘ह्रस्व दीर्घ’
आगामी दशैँमा फिल्म ‘ह्रस्वदीर्घ’ रिलिज हुँदैछ । निर्माण टोलीले दशैँको घटस्थापनाको दिन अर्थात असोज ११ गते फिल्मको प्रर्दशन मिति तोकेको छ ।
अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्ममा दक्षिण भारतीय स्टार ब्रह्मानन्दमसमेत देखिनेछन् । नीता ढुंगाना फिल्मस्ले निर्माण गरेको सो फिल्ममा भारत तथा नेपालका विभिन्न स्थानमा छांयाकन गरिएको छ । भारतको क्षेत्रीय भाषाको समेत प्रयोग भएको फिल्ममा चर्चित अभिनेत्री विपना थापाले पनि कमब्याक गरेकी छिन् ।
चन्द्र पन्द निर्देशित फिल्ममा कलाकारको पल्टनै छ । नेपाली र भारतीय कलाकारको अभिनय रहेको यो फिल्मलाई नीता ढुंगाना फिल्म्सले निर्माण गरेको हो । नेपाल र भारतमा छायांकन गरिएको यो फिल्मबाट अभिनेत्री विपना थापाले कमब्याक समेत गरेकी छन् ।
ज्योतिष हरिहर अधिकारीले लेखेको फिल्ममा उनीसँगै विपना, नीता, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका कलाकारको समेत अभिनय छ ।
खुस्मा
दशैँलाई लक्षित गरी फिल्म ‘खुस्मा’ रिलिज हुँदै छ । निर्माण टोलीले फिल्म आगामी असोज ३ गते रिलिज हुने जनाउँदै आएको छ । अशोक थापामगरले लेखन तथा निर्देशनमा रहेको फिल्म ‘खुस्मा’ मा अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरी मुख्य भूमिकामा देखिएका छन् । फिल्म निर्माताहरु विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगरको निर्माणमा भएको हो ।
फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको जीवनशैली तथा परिवेशमा आधारित भएर निर्माण भइरहेको प्रेमकथामा आधारित यो फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
आउट लः दफा २१९
दशैँलाई लक्षित गरी फिल्म ‘आउट लः दफा २१९’ पनि रिलिज हुँदै छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म आगामी असोज ३ गतेदेखि रिलिज हुँदैछ । अभिनेता सुशिल श्रेष्ठ मूख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको अभिनय रहेको छ ।
फल्म विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको छ । फिल्म नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन, चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।
फिल्म स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा बनेको हो । अमित अग्रहरिको निर्माण रहेको फिल्ममा विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माता रहेका छन् ।
बेहुली फ्रम मेघौली
अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि दशैँलाई लक्षित गरी प्रर्दशनीमा आउँदै छ । निर्माण टोलीले फिल्मको प्रदर्शनी मिति असोज ११ गते तय गरेको छ ।
साजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारको पनि अभिनय रहेको छ । ब्ल्याकहर्स प्रिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा बनेको फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता छन् ।
सानो संसार
दशैँलाई लक्षित गरी फिल्म ‘सानो संसार’ पनि प्रदर्शनमा आउँदै छ । पारिवारिक कथावस्तुमा निर्माण भएको यो फिल्ममा सिद्धार्थ पुडासैनीको निर्देशन रहनेछ ।
फिल्ममा नयाँ कलाकारको अनुहार देखिने छ । फिल्ममा राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटी र सीतादेवी तिमल्सिनाको शीर्ष भूमिका छ ।
अर्जुन कुमार फिल्मस्को प्रस्तुति र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको सहकार्यमा यो फिल्म बनेको हो । निर्देशक पुडासैनी र सरिष्मा पुडासैनीले मिलेर फिल्मको कथा लेखेका हुन् ।
छक्कापञ्जा ५
दीपाश्री निरौला र दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा ५’ पनि यही दशैँमा सार्वजनिक हुने भएको छ । फिल्म असोज २४ गते फूलपातीको दिन पारेर सार्वजनिक मिति तय गरिएको छ ।
फिल्ममा अभिनेत्री वर्षा शिवाकोटी मुख्य भूमिकामा देखिएकी छिन् । आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् ।
१२ गाउँ
दशैँमा नै अभिनेता विराज भट्टको फिल्म ‘१२ गाउँ’ पनि रिलिज मिति तय गरेको छ ।
अभिनेता विराज भट्टका छोरा समीरको डेब्यू फिल्मसमेत रहेको आगामी दशैँमा रिलिज गर्ने मिति तोकिएको छ । उनले यस फिल्मलाई लक्षित गरी भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका थिए।
फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन् । फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशीलगायतको कलाकारको अभिनय रहनेछ ।
बलिदान
सन्तोष सेनको फिल्म ‘बलिदान’ पनि दशैँमा रिलिज गर्ने तयारी भइरहेको छ । फिल्ममा समीर भट्टसहित अभिनेता सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि शीर्ष भूमिका रहनेछ ।
पवन विष्टको निर्माणमा रहेको फिल्मको कथा दर्शन जीले लेखेका हुन् । फिल्ममा प्रेम पुरी सहनिर्माता रहेका छन् ।
आशुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया