मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समीक्षा

नाटक मेषी दण्ड: मातृभाषी दमन विरुद्ध विद्रोहको झिल्को 

काठमाडौँ– ‘ओ आगन्तुक

युगौँदेखि बोकिरहेछु

मैले आफ्नो शरीरमाथि

तिम्रो जुत्ताको डाम

भोगिरहेछु तिम्रो दण्ड विधान

लामो निन्द्रापछि बल्ल म ब्युँतिएको छु ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राईको स्वरमा लयवद्ध यी कविताका हरफहरु सुनेसँगै ‘मेषी दण्ड’ नाटक सकिएको दर्शकदीर्घातिर बलेको प्रकाशले संकेत गर्छ । यही संकेतमा करिब डेढ घण्टा लामो अवधि मौन बसेका दर्शकहरुले तालीको गडगडाहटसँगै ब्युँतिएको प्रतिसंकेत गर्छन् ।

कवि राईको कविताका हरफहरुले भनेझैं लामो निन्द्रापछि अर्थात् युगौंको उत्पीडनपछि राप्छाका खालिङबासीहरु मात्र नभएर सत्ताको पिँधमा पिल्सिरहेका आदिवासीहरु बल्ल ब्युँतिएर छ्याङ्ग भएका छन्, भन्ने भान नाटकले गराउँछ । शताब्दीऔंदेखि भोगिआएको दमन र उत्पीडन विरुद्ध राज्यसत्तामाथि कवि राईसँगै नाटक ‘मेषी दण्ड’ले राप्छाबासी खालिङहरुको हुङ्कार यसरी गरेको छ,

‘सम्झ अब म ब्युँतिएपछि

शुरु हुनेछ अर्को कथा ।’

ढेड शताब्दी अघिका राप्छाबासी खालिङ राईहरुलाई नाटक लेखन मार्फत ब्युँताउने काम लेखक गीतु रातोसले गरेका छन् । त्यही लेखनलाई नाटककै दृश्यमा परिकल्पना गरी रङ्गमञ्चसम्म ल्याउने जमर्को भने निर्देशक अनिल सुब्बाले गरेका छन् ।

नाटक ‘मेषी दण्ड’मा खस नेपाली भाषा नजानेकै कारण राप्छाका राई खालिङ भाषी समुदायले तत्कालीन नेपाल–तिब्बत युद्धका बेला श्री ३ सरकारको दमनले भोग्नुपरेको उत्पीडनको कथालाई प्रस्तुत गरेको छ ।

नेपाल–तिब्बत युद्धका समयमा श्री ३ सरकारको टोली तिनताकाको ‘नाम्चे’ हालको सोलुखुम्बुसँग जोडिएको ‘नाङपाला’ नाका आउनेजाने क्रममै राप्छा गाउँ पुग्छन् ।

श्री ३ सरकारको मुख्तियारले खालिङ भाषी राप्छाबासीलाई नेपाल–तिब्बत युद्धमा सघाउन उर्दी जारी गर्छ । खालिङ राई भाषा मात्र जान्ने राप्छाबासीले आफ्नै बुझाइको लयमा ‘मेषी माका’ मात्र भनिरहन्छन् । यसको अर्थ ‘हो हजुर’ भनेर सहीमा सही मिलाउने भन्ने हुन्छ । यता श्री ३ को मुख्तियार र फौजले ‘मेषी माका’को अर्थ नबुझेर तिब्बतलाई सघाउने सुराकीको रुपमा लिँदै खस नेपाली भाषा नजानेकै कारण पाँच रुपैयाँ दण्ड तिर्नुपर्ने अर्को उर्दी जारी हुन्छ ।

यही दण्डले भुक्तभोगी भएका राप्छाबासीकी एक महिलाले श्री ३ को घोडालाई बाली नाश गर्‍यो भन्दै धपाउँछिन् । श्री ३ को घोडालाई हान्ने हिम्मत गरेको भन्दै फेरि श्री ३ लाई दण्ड स्वरुप तीन रुपैयाँ तिर्नुपर्ने उर्दी हुन्छ । भाषा नजानेकै कारण यसरी बिनासिती दण्ड तिर्दैमा आजित भएका राप्छाबासीलाई नेपाली भाषा बोल्न जानेमा दण्ड तिर्नुपर्ने समस्याबाट मुक्त हुने आशा पलाउँछ ।

त्यसपछि राप्छाबासीका अगुवा सुजम्बरसँगै शिरिषलालले भाषा सिक्नकै लागि अन्यन्त्र गाउँका सिंहवीर कार्की सहित पूरै गाउँलेलाई राप्छामा ल्याएर जमीन, घरसमेतको व्यवस्था गरिदिन्छन् र बस्तीको मुखिया नै बनाउँछन् ।

सुखको आशमा सिंहवीरको टोलीलाई राप्छामा भित्राएपछि अझै खालिङ भाषी समुदायले भोगेको पीडालाई नाटकले निकै मार्मिक रुपमा प्रस्तुत गरेको छ ।

श्री ३ को उर्दीमा खस नेपाली भाषा बोल्न नजानेका राप्छाबासी सिंहवीरको शासनमा आफ्नै भाषा बोल्नमा वर्जित हुन्छन् । उनीहरु ‘दाक्सु’ होइन नमस्कारको सिको गर्न पुग्छन् । ‘तँ’ र ‘तपाईं’ कै लयमा आफ्नो भाषा छोडेर नेपाली बोल्न सिक्छन् । यही लयमा उनीहरुले भाषा मात्र फेर्दैनन्, गाउँको नामै फेर्छन् ।

आफ्नो मौलिक भाषालाई छोडेर ‘ठेकी’, ‘आरी’, ‘ढुङ्गा’ ‘शङ्ख’ जस्ता शब्दहरुलाई सिंहवीरले उनीहरुको जिब्रोको लयमा जोडिदिन्छन् । खालिङहरुको साकेला र सिली नाचमा मादलका तालका भजनहरु मिसिन्छन् । उनीहरुको कुलमा नचल्ने बाख्रा घरको आँगनमै आइपुग्छ । हुँदाहुँदै आफ्नै गाउँमा शरण दिएको सिंहवीरको शासन खालिङभाषीहरुमाथि चल्छ ।

उनीहरु बस्ने बासदेखि उनीहरुको पेट भर्न खेतीपाती समेत खालिङहरुले गर्नुपर्ने हुन्छ । आफ्नो दुःख र अभाव टार्न सिंहवीरकै आँगनमा खालिङहरु हात पसार्न बाध्य हुन्छन् । किनकी सिंहवीर टोलीकै प्रवेशपछि खालिङभाषी समुदायका मान्छेमा मात्र होइन, भाषा, संस्कृति र पेशामा समेत वर्गीय विभाजन हुन्छ ।

यही विभाजनले खालिङभाषीहरुको कपडा सिलाउने, फलाम कुट्ने सबै पेशाहरु खोसिन्छन् । यसरी आफ्नै लयमा आफ्नै बासस्थानमा एकै सुरमा बसेका खालिङभाषीहरुको भाषा, संस्कृति, परिवेश, मानवीय जीवनको लय नै बिथोलिन पुग्छ । यही लय बिथोलिएको खालिङभाषीहरुको वियोगान्त कथालाई नाटकमा समेटिएको छ ।

नाटकमा ऐतिहासिक कथासँगै खालिङभाषी समुदायको भाषा, संस्कृति, भेषभुषा र परिवेशलाई जीवन्त रुपमा चित्रण गरिएको छ । प्रयुक्त गीतसङ्गीत, भेषभुषा, प्रप्स होस् या भाषागत लयमा समेत ढेड/दुई शताब्दी अघिको खालिङभाषीहरु झलक देखिन्छ ।

कलामार्फत नाटकको लयमा खोतलिएको ‘मेषी दण्ड’ खालिङभाषी समुदायका लागि नाटक भन्दा बढ्दा इतिहास मान्न सकिन्छ । आफ्नै भाषा, समुदाय र संस्कृतिबाट वेदखल हुँदै अरुको इशारा र परिवेशमा बाँचेका खालिङभाषी समुदायका नव पुस्तालाई ‘मेषी दण्ड’ले आफ्नो मूल जरोबारे बताएको छ ।

जसरी शाहकालीन हुँदै राणकाल, पञ्चायत कालीन शासन सत्ताले आदिवासी भूमिसँगै भाषा र संस्कृतिमाथि आफ्नो अधिपत्य जमायो त्यसरी नै अब समग्र आदिवासीहरुले आफ्नो खोसिएको समग्र पहिचानलाई खोज्न नाटकले उत्प्रेरित गरेको छ ।

हिजो सुजम्बर र शिरिषलाल जस्ता राप्छाबासीको पहिचान र भूमिहरण गर्ने सत्ताले लेखेको इतिहासको दस्तावेजमा तिनको दुःख, पीडा, सङ्घर्ष र योगदानहरु टिपिएका छैनन् । नेपाल एकिकरण होस् या मुलुकको प्रजातन्त्र, प्रजातन्त्रको पुर्थास्थापना र गणतन्त्रको स्थापनासम्ममा सुजम्बर र शिरिषलाल जस्ता कति आदिवासीहरुले रगत, पसिनाको खोलो बगाए ?

तिनको हिसाब किताबलाई सत्ता र सरकारले सधैं लुकाएर मेट्ने काम गर्‍यो । आज तिनै इतिहासलाई खोतल्न सक्ने नयाँ अवतारमा सुजम्बर र शिरिषलालहरु उभिएका छन् । जसलाई आफ्नो इतिहासको लेखोट आफैं गर्नुछ र पहिचानको खोजीमा लाग्नु छ ।

यसर्थमा निर्देशक सुब्बाकै भनाइमा नाटक ‘मेषी दण्ड’ केवल एउटा कलाको रुप मात्र नभएर पहिचानको लडाइँमा आन्दोलनकै स्वरुप हो । नाटकले खालिङभाषीहरुलाई मात्र नभएर आफ्नै भाषा र संस्कृति खोसिएका समग्र आदिवासी जमातलाई ब्युताउने काम गरेको छ ।

सुजम्बरको भूमिकामा देखिएका कलाकार सौजन लिम्बुले समग्र खालिङभाषी समुदायलाई नाटकमा जीवन्त रुपमा बोकेका छन् । उनको प्रस्तुति, संवाद र भाषागत लयले नाटकलाई अझै सशक्त बनाएको छ । जुनमफूलको भूमिकामा देखिएकी कलाकार प्रनिता राई, शिरिषलालको रुपमा अजय लामाको भूमिका नाटकमा उत्तिकै दमदार छन् ।

त्यस्तै मुख्तियारको भूमिकामा देखिएका पूर्णबहादुर गन्धर्व, सिंहवीरको भूमिकामा देखिएका जयराम ढकाल, उनको छोरा सूर्यध्यजको भूमिकामा देखिएका अरूण पौडेल लगायतका कलाकारहरुको अभिनयले नाटकलाई अझै बलियो बनाएको छ । सिंहवीरको नाती बिष्णु र शिरिषलालकी नातिनी दिल्सुबिचको प्रेमविवाहमा तत्कालीन समयको अन्तरजातिय विवाहको झल्को दिन्छ ।

नाटकले उठान गर्न खोजेको मुद्दामा यो अनावश्यक जस्तो लागेपनि तत्कालीन सामाजिक परिवेशलाई जोड्न यसले सघाउ पुर्‍याएको छ ।

नाटकमा देखाइएका सांस्कृतिक परम्परा र मृत्यु संस्कारका पक्रियाहरुमा भने पूर्वी नेपालका किराती समुदायको रङ भरेर मञ्चन गरिएका नाटकहरु ‘लाटोपहाड’ देखि ‘जोखना,’ ‘चोरेको स्वर,’ ‘सेमुना,’ ‘खुवालुङ’ हेरेका दर्शकका लागि नौलो लाग्दैन । यद्यपि ‘मेषी दण्ड’ले संस्कार र परम्परालाई पनि साथमै बोकेको छ ।

रिजन के.सी.को निर्माण रहेको नाटक साउन २७ गतेसम्म मञ्चन हुनेछ ।

मञ्चमा

वेदना राई, प्रतिना राई, मणि के राई, अरूण पौडेल, जय ढकाल, प्रशंसा गुरूङ, सलिना भुजेल, पूर्ण बहादुर गन्दर्भ, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, शायोक मुकारुङ, सौजन लिम्बु, सञ्जीप योगी, प्रविण मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?