काठमाडौँ– ‘लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे,
फेरि किन त्यसका बाजे तीन महिने सुई लाउँछे ।’
झट्ट सुन्दा यी शब्दहरु कुनै छिमेकी वा साथीको झगडामा बोलिएको भाषाको रुपमा सुनिन्छ । तर यी केही दिनअघि मात्रै सार्वजनिक भएको तीजे गीतमा प्रयोग गरिएका शब्दहरु हुन् ।
गायिका तथा कलाकार प्रिती आलेले केही दिनअघि मात्रै युट्युबमार्फत ‘मादलु घन्काउँदै’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । प्रीतिको स्वर तथा अभिनयमा रहेको यो गीतमा गोविन्द भट्टको शब्द रहेको छ ।
विदुर गिरीको सङ्गीत रहेको गीतमा धनबहादुर गिरीको एरेन्ज रहेको छ । गीतलाई हालसम्म करिब एक लाख पटक दर्शकले युटुयुबमा हेरिसकेका छन् ।
तीज लक्षित गरी सार्वजनिक गरिएको यस गीतमा प्रीतिसँगै अन्य कलाकार पनि पृष्ठभूमिमा देखा परेका छन् । गीतका कलाकारहरु रातो साडीसँगै आधुनिक कपडामा सजिएर रिमिक्स शैलीमा प्रस्तुत भएका छन् । गीतमा लगाइएका पहिरन तथा प्रयोग गरिएको शब्द सुन्दा यसले तीजको मर्मभन्दा पनि महिला भावना र चरित्ररलाई अपहेलना गरेको छ ।
गीतमा भनिएको छ, ‘केही दिन मात्रै गाउँबाट एक जना मान्छे भर्खर शहर झरेकी, क्यारी होला गलाभरी सुना भरेकी ।’
गीतमा प्रयोग गरेका शब्दले महिलाहरुलाई हेपेको तथा चरित्र हत्या गरेको भन्दै भइरहेको छ ।
गीतलाई युटयुबमै अधिकांशले मौलिकता हराएको गीत भनेर कमेन्ट गरेका छन् । गीतको कमेन्टमा दीपक जोशी लेख्छन्, ‘तीज हाम्रो पुरा संस्कृतिमा आधारित हुन्छ । तर तपाईं यसलाई अप्रत्यासित बनाउनुहुन्छ । यो संस्कृतिको विरुद्ध कटुता हो । यसले हाम्रो संस्कृतिलाई बचाउन मद्दत गर्न सक्दैन तर नष्ट गर्न निश्चित मद्दत गर्दछ ।’
गीतमा अर्का द्रोण आचार्यले गीतमा प्रयोग गरेको शब्दले महिलाको नैतिकतामा प्रहार गरेको आरोप लगाएका छन् । उनले कमेन्टमा लेखेका छन्, ‘लोग्ने विदेशमा छ भनेर त्यसले फुई लगाउँछे, फेरि किन त्यसले तीन महिने सुई लगाउँछे । यो आम नारीको नैतिकताप्रतिको प्रहार होइन र ?’
गीतलाई अधिकांशले मौलिकतामाथि प्रश्न गर्नुको साथै गीतको नाउँमा विकृति फैलाएको आरोपसमेत लगाएका छन् । पछिल्लो समय सार्वजनिक गरिएका गीतमा तीजको मौलिकताभन्दा विकृति बढी देखिएको छ ।
करीब दुई साता अघि युटयुबमा अर्को गीत सार्वजनिक भएको छ, ‘दर खाएको सुरमा’ ।
गीतमा प्रयोग गरिने शब्द र गतिविधि पनि उस्तै विसङ्गतिपूर्ण छ । गायिका सरस्वती भुजेलको स्वर रहेको यो गीतमा कलाकार पवन खतिवडा लगायतका कलाकारको अभिनय छ । ग्रामीण भेगको घरमा रातको समयमा छायाङ्कन गरिएको गीतमा गायिका भुजेल भद्दा मेकअप र छोटो कपडा लगाएर प्रस्तुत भएकी छिन् ।
यस गीतले पनि नेपाली संस्कृतिको खिल्ली उडाएको आरोप लगाउँदै आएको छ । केही व्यक्तिले गीतबाट हाम्रो संस्कृतिको बेइज्जत भएकोले कारबाहीको लागि सम्बन्धित निकायसँग माग समेत राखेका छन् ।
यी दुई गीतमा मात्रै नभई पछिल्लो समयमा तीजलाई लक्षित गरी बजारमा आएका अधिकांश गीतको हालत उस्तै छ । गीतमा सभ्य भाषा र शब्दको प्रयोग भए पनि कलाकारले प्रयोग गर्ने पहिरन र नृत्य शैलीले मौलिकता नै गुमेको आभास गराउँछ । अधिकांश गीतमा कलाकारहरु छोटो पहिरन तथा भद्दा मेकअपमा सजिएर नाचेको देखिन्छ ।
चेलीबेटीको वेदना बोक्ने गीत छैन– तिवारी आमा
पछिल्लो समय नेपाली बजारमा तीजमा मौलिकता गुम्ने गीत आउने गरेको बताउँछिन् ६५ वर्षीय लक्ष्मी तिवारी । उनलाई युटयुबमा तिवारी आमा भनेर पनि चिनिन्छ । केही समयअघि बीबीसीको अन्तर्वार्ताको क्रममा पहिले पहिले चेलीबेटीको वेदना बोक्ने गीत आउने भए पनि आजभोलि लोप हुँदै आएको बताएकी थिइन् ।
तीजको गीतमा घाँसपात, मेलापात तथा परिवारको दुख पनि सुनाइने उनको भनाइ छ । उनले भनेकी छिन्, ‘चेलीबेटीले माइतमा आएर आफ्नो बेदना पोख्ने गरिन्थ्यो । आजभोलि त त्यस्तो छैन ।’ चेलीबेटी जहाँ जुन अवस्थामा भए पनि माइतमा भेला भएर आफ्नो वेदनाको गीत गाउन छुट हुने उनको अनुभव छ । उनी अगाडि भन्छिन, ‘चेलीबेटीको सबै वेदनालाई मिलाएर पनि गीत गाउन मिल्थ्यो ।’
तीजसँगै समसमसामयिक, भजन तथा अन्य गीत गाउने तिवारीले केही वर्ष अगाडि तीज गीत ‘पानी मरुवा ३(करिम)’ गीत बजारमा ल्याएकी थिइन् । पुरुषोत्तम भण्डारीको अफिसियल युटयुब च्यानलमा सार्वजनिक भएको गीतलाई १७ लाख पटकभन्दा बढी हेरिएको छ ।
कस्ता हुन्थ्ये पहिलेका तीजका गीत ?
लोक गीत संगीत अध्येता डाक्टर गोविन्द आचार्यका अनुसार पहिलेका गीतमा दिदीबहिनीको वेदना र पीर हुने बताउँछन् । अहिले पनि ग्रामीण भेगका पाका उमेरका आमाहरु भेला भएर तीजको समयमा परम्परागत शैलीको गीत गाएर रमाइलो गर्ने उनले जोय नेपाललाई सुनाए ।
परम्परागत शैलीका गीतहरु तीजको समयमा मात्रै गाउने गरेको उनको भनाइ छ । संस्कृति संरक्षण र प्रेम झल्किने गरी गीत गाइने उनले सुनाए ।
‘परम्परागत सङ्गीतको उद्देश्य भनेको कुनै पनि उत्साहमा परम्पराको जर्गेना र प्रेममा आधारित रहेर गीत निर्माण गर्नु हो,’ उनले भने, ‘तीज आएपछि मात्रै गीत गाउने चलन हुन्थ्यो ।’
तर पछिल्लो समय त्यस्ता प्रचलन कम हुँदै आएको उनको भनाइ छ । गीतमार्फत नै महिला दिदी बहिनीले आफ्नो भाव पोख्ने उनी सुनाउँछन् । ‘क्रमशः शब्दहरु थप्दै र घट्दै जान्थे । मनोरञ्जनको साधन पनि थियो । विचार र अभिव्यक्तिको माध्यम पनि त्यहि गीत थियो,’ उनले भने ।
बजारकेन्द्रित तीजका गीत
पछिल्लो समयमा तीजमा गाइने गीत पैसा कमाउनका लागि फैलिएको विकृतिको रुपमा लिन्छन्, लोक गीत संगीत अध्येता डाक्टर गोविन्द आचार्य । उनी भन्छन्, ‘ गीत गाउने, प्रस्तुत गर्ने, बनाउनेको ‘नेमफेम तथा रातारात प्रचारको लागि बनाएको हो । अर्को पपुलर (चर्चित) भएर आर्थिक लाभ गर्नको लागि बनाइएको श्रव्यदृश्यको साधन हो । जसबाट सर्जकले पैसा मात्रै कमाउले लक्ष्य लिएको हुन्छ ।’
अहिलेका गीत स्वस्थ मनोरञ्जनको साधनसमेत हुन नसकेको उनको भनाइ छ । कुनै सामाजिक, सांस्कृतिक तथा यर्थाथ अभिव्यक्ति पनि होइन । समाजको बोली पनि होइन । नेपाली संगीतको जर्गेना पनि गर्न नसकेको उनको आरोप छ ।
परम्परागत र आधुनिक गरी दुई लोक सङ्गीतमा बाँडेका उनका अनुसार तीजका गीत परम्परागत सङ्गीतभित्र पर्छ । यो गीत अरुबेला गाइँदैन । तीजको समयमा मात्रै गाइने गरिन्छ । यसैगरी तिहार तथा अन्य चाडपर्वमा गाइने गीत परम्परागत सङ्गीतमा पर्ने बताउँछन् ।
तर पछिल्लो समय तीजमा गाउने गीतलाई शब्द, अभिनय, गतिविधिको तुलनामा विकृति ल्याएकोमा उनको दुखेसो छ ।
‘यो समाज र हाम्रो संस्कृतिको लागि राम्रो कुरा भएन । यसले समाजलाई राम्रो बाटोमा पनि लैजाँदैन,’ उनले भने, ‘यसले न त हाम्रो चाडपर्वको नै जर्गेना गर्छ । न त परम्पराको नै संरक्षण गर्ने हो । त्यसैले यस्ता गीत तीजको चाडसँग कुनै सम्बन्ध नै छैन ।’
पछिल्लो समयमा आउने गीतलाई तीजको बेलामा रेकर्ड वा प्रस्तुत गरिएको कुराको रुपमा मात्रै लिन्छन् उनी । यी गीतले संस्कृतिको संरक्षण तथा जर्गेना नगर्ने उनको भनाइ छ ।
संरक्षण गर्ने जिम्मेवारी कस्को ?
लोकगीत संगीत अध्येता डाक्टर गोविन्द आचार्य परम्परागत तीज गीतको शब्द, संगीत र भाषा संरक्षणका लागि सरकार, कलाकार तथा स्रोताले जिम्मेवारी बहन गर्नुपर्ने सुनाउँछन् ।
‘कलाकार भनेको हाम्रो संस्कृतिको सम्वाहक, निर्माता हो । त्यसले समाजमा नराम्रो कुरा पस्कियो भने असर पार्छ । त्यसैले परम्परागत गीतलाई अगाडि ल्याउनु पर्ने गर्नुपर्छ । हाम्रो तीजको गीतमा परम्परागत कुरालाई ल्याउनु पर्छ,’ उनले भने, ‘तर परम्परागतमै खराबी छ भने त्यसलाई अगाडि ल्याउने भन्या होइन । हाम्रो परम्परागत तीजको गीतमा त कुनै पनि खराबी छैन ।’
कलाकार राष्ट्रको गहना भएको नाताले पनि ग्रामीण भेगमा गाइने गीत खोजेर रेकर्ड गर्न उनी सुझाव दिन्छन् ।
स्रोताले पनि गीत संगीतलाई चिन्नुपर्ने उनको धारणा छ । परम्परागत वा अशिक्षित व्यक्तिहरुले बनाएको संगीत हो भन्ने कुरा बुझ्ने र विदेशी सङ्गीत सुन्ने मात्रै सभ्य व्यक्ति भन्ने होड रहेको उनको अनुभव छ ।
‘स्रोताले मन नपराउने बित्तिकै सर्जकले कति पटक गीत गाउँछन् एक वा दुई पटक ?,’ उनले भने, ‘स्रोताले मन नपराएपछि उनीहरुले गाउँदैनन् । चेक ब्यालेन्स गर्ने पनि स्रोताको ठूलो भूमिका छ । स्रोता हामी पनि चुकेका छौँ ।’
मिडियाहरुले पनि परम्परागत गीतलाई मात्रै प्राथमिकतामा राख्नुपर्छ । परम्परागत गीतलाई ५० पटक बजाउँदा यस्ता गीतलाई एक वा दुई पटक मात्रै बजाउनुपर्ने उनी बताउँछन् ।
गीत तथा संस्कृति संरक्षणको लागि भनेर सरकारले वर्षेनी बजेट विनियोजन गर्दै आउनुका साथै संस्कृति मन्त्रालय पनि रहेको उनको भनाइ छ ।
‘प्रदेश सरकार पनि नीति देखिन्छ । त्यसैले तीन वटै तहका सरकारले संस्कृति संरक्षणको लागि लगानी, कार्यक्रम सञ्चालन गरे पनि यस्ता गीतहरुमा तुलनात्मक रुपमा कमी आउँछ,’ उनले भने, ‘परम्परागत गीतलाई संरक्षण गर्न केही थालनी भएको छ ।’
‘मौलिक पक्षलाई लुकाएर नक्कल पक्षलाई बढवा दिने, स्रोताले परम्परागत गीत मात्रै छनोट गर्ने, सरकारले तीन तहबाट लगानी गरे पनि सम्भावना धेरै छ, यो गर्नेपर्छ । नत्र आफ्नो भन्ने हुन्छ,’ उनले भने ।
तीजको गीतमा मात्रै नभएर हरेक चाडको समयमा सङ्गीत, शब्द र प्रस्तुतिको तहमा यस्तै समस्या हुने गरेको उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया