मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् पर्यटकका लागि संसारकै सबैभन्दा जोखिमपूर्ण १० शहर

अहिले संसारका धेरै देशहरुमा युद्ध, हिंसात्मक प्रदर्शन, राजनीतिक अस्थीरता, आतंकवाद, राजनीतिक अस्थीरता बढिरहेको छ । यस्ता कारणहरुले गर्दा विश्वका धेरै ठाउँहरु घुम्न जोखिम पनि बढ्दै गएको छ । यस्तो हुँदा जहीँतहीँ घुम्न जान पनि डरमर्दो हुन्छ ।

संसारका त्यस्ता केही शहरहरु छन्, जहाँ मानिसहरुलाई घुम्न जान धेरै नै खतरनाक हुन्छ । आज हामी पर्यटकका लागि सबैभन्दा जोखिमपूर्ण १० शहरहरुबारे जानकारी दिन गइरहेका छौँ । अमेरिकी अखबार फोर्ब्सले पर्यटकका लागि सबैभन्दा जोखिमपूर्ण शहरहरुको सूची सार्वजनिक गरेको छ ।

यसैका आधारमा हामीले यो सामग्री पस्कने जमर्को गरेका छौँ । फोर्ब्सले जोखिम सूचकको १०० अंकका आधारमा शहरहरुको सूची जारी गरेको हो । पर्यटकका लागि सबैभन्दा जोखिमपूर्ण शहर कुन कुन होलान् ?

कराकास

कराकासलाई फोर्ब्सले पर्यटकका लागि संसारकै सबैभन्दा जोखिमपूर्ण शहरको सूचीमा राखेको छ । कराकास भेनेजुएलाको राजधानी हो । फोर्ब्सले जोखिम सूचकको १०० अंकमा कराकासलाई शत प्रतिशत अंक दिएको छ ।

यस शहरमा संसारमै सबैभन्दा धेरै आपराधिक र स्वास्थ्य जोखिम रहेको पाइएको छ । त्यसैगरी, पूर्वाधार सुरक्षा र डिजिटल सुरक्षा जोखिममा यो शहर दोस्रो नम्बरमा परेको छ । त्यसबाहेक व्यक्तिगत सुरक्षा जोखिममा यो शहर चौथौ सबैभन्दा खतरनाक शहर हो ।

कराँची

पाकिस्तानको सबैभन्दा ठूलो शहर कराँची पर्यटकका लागि दोस्रो सबैभन्दा धेरै जोखिम रहेको शहर हो । १०० मा फोर्ब्सले यो शहरलाई ९३.१२ अंक दिएको छ । व्यक्तिगत सुरक्षा जोखिमका आधारमा यो शहर संसारकै सबैभन्दा जोखिमूर्ण शहर हो ।

आपराधिक गतिविधिमा कराँची १९ औँ सबैभन्दा जोखिमपूर्ण शहर रहेको फोर्ब्सको ठहर छ । त्यस्तै, पूर्वाधारको सुरक्षा र डिजिटल सुरक्षाको जोखिममा कराँचीलाई समान ४ अंक दिइएको छ । सुरक्षाका दृष्टिले भने यो शहर छैटौँ सबैभन्दा जोखिमपूर्ण शहर रहेको फोर्ब्सले जनाएको छ ।

यङ्गुन

म्यान्मारको सबैभन्दा ठूलो शहर यङ्गुन पर्यटकका लागि संसारकै तेस्रो सबैभन्दा जोखिमपूर्ण शहर हो । फोर्ब्सले यो शहरलाई १०० मा ९१.६७ अंक दिएको छ । डिजिटल सुुरक्षाका आधारमा यो शहर संसारकै सबैभन्दा जोखिमपूर्ण शहर हो ।

त्यस्तै, व्यक्तिगत सुरक्षा, स्वास्थ्य सुरक्षा र पूर्वाधार सुरक्षाका आधारमा यङ्गुन तेस्रो सबैभन्दा जोखिमपूर्ण शहर रहेको फोर्ब्सले उल्लेख गरेको छ । आपराधिक जोखिमका आधारमा यो शहर संसारको ३२ औँ सबैभन्दा जोखिमपूर्ण शहर हो ।

लागोस

पर्यटकका लागि संसारकै सबैभन्दा जोखिमपूर्ण शहरको सूचीमा नाइजेरियाको लागोस शहर परेको छ । यो शहरलाई १०० मा ९१.५४ अंक दिइएको छ । फोर्ब्सका अनुसार पूर्वाधार सुरक्षा जोखिमका आधारमा लागोस संसारकै सबैभन्दा जोखिमपूर्ण शहर हो ।

त्यसैगरी, स्वास्थ्य र व्यक्तिगत सुरक्षाका आधारमा यो शहर दोस्रो सबैभन्दा जोखिमपूर्ण शहर रहेको फोर्ब्सले जनाएको छ । आपराधिक गतिविधिलाई आधार मान्दा यो शहर पाचौँ सबैभन्दा जोखिमपूर्ण रहेको फोर्ब्सले उल्लेख गरेको छ । त्यस्तै, डिजिटल सुरक्षाका आधारमा भने यो ११ औँ जोखिमपूर्ण शहर हो ।

मनिला

फोर्ब्सले पर्यटकका लागि जोखिमपूर्ण शहरको सूचीमा फिलिपिन्सको राजधानी मनिलालाई पाचौँ स्थानमा राखेको छ । जोखिम सूचकमा मनिलाले ९१.४९ अंक प्राप्त गरेको छ । व्यक्तिगत सुरक्षाका आधारमा मनिला संसारकै पाचौँ जोखिमपूर्ण शहर रहेको फोर्ब्सले जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य सुरक्षामा मनिलालाई सातौँ सबैभन्दा जोखिमपूर्ण शहर मानिएको छ । आपराधिक र पूर्वाधारमा यो शहर नवौँ जोखिमपूर्ण रहेको फोर्ब्सले जनाएको छ । त्यसबाहेक डिजिटल सुरक्षाका आधारमा भने मनिलालाई १२ औँ सबैभन्दा जोखिमपूर्ण शहर मानिएको छ ।

ढाका

बंगलादेशको राजधानी ढाका पर्यटकका लागि छैटौँ सबैभन्दा जोखिमपूर्ण शहरमा परेको छ । १०० अंकमा ढाकाले ८९.५० अंक पाएको छ । यो शहर डिजिटल सुरक्षाका आधारमा संसारको पाचौँ सबैभन्दा जोखिमपूर्ण रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

त्यसैगरी, पूर्वाधार सुरक्षामा ढाका छैटौँ सबैभन्दा जोखिमपूर्ण शहर हो । ढाका व्यक्तिगत सुरक्षामा यो शहर सातौँ र स्वास्थ्यका आधारमा नवौँ सबैभन्दा जोखिमपूर्ण शहर रहेको फोर्ब्सको ठहर छ । त्यसबाहेक आपराधिक घटनाका आधारमा भने ढाकालाई १२ औँ सबैभन्दा जोखिमपूर्ण शहर मानिएको छ ।

बोगोटा

दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटा पर्यटकका लागि संसारको सातौँ सबैभन्दा जोखिमपूर्ण शहर हो । जोखिम सूचकमा यो शहरलाई ८६.७० अंक दिइएको छ । यो शहर आपराधिक गतिविधिमा सातौँ सबैभन्दा जोखिमपूर्ण शहर रहेको फोर्ब्सले जनाएको छ ।

त्यसैगरी, पूर्वाधारको सुरक्षाका आधारमा बोगोटा १२ औँ स्थानमा परेको छ । व्यक्तिगत सुरक्षा र डिजिटल सुरक्षामा भने बोगोटा १५ औँ जोखिमपूर्ण शहर हो । त्यसबाहेक स्वास्थ्यकाा आधारमा यो शहर संसारको १६ औँ जोखिमपूर्ण रहेको पनि फोर्ब्सले उल्लेख गरेको छ ।

कायरो

इजिप्टको राजधानी कायरो पर्यटकका लागि संसारको आठौँ जोखिमपूर्ण शहर रहेको फोर्ब्सले उल्लेख गरेको छ । १०० मा यो शहरलाई ८३.४४ अंक दिइएको छ । स्वास्थ्यका आधारमा यो शहर चौथो सबैभन्दा जोखिमपूर्ण शहर रहेको जनाइएको छ ।

पूर्वाधार र डिजिटल सुरक्षाको जोखिमका आधार भने यो शहर क्रमशः पाचौँ र छैटौँ जोखिमपूर्ण रहेको फोर्ब्सले उल्लेख गरेको छ । कायरो व्यक्तिगत सुरक्षामा १० औँ जोखिमपूर्ण र आपराधिक गतिविधिमा २९ औँ सबैभन्दा जोखिमपूर्ण शहर रहेको फोर्ब्सको भनाइ छ ।

मेक्सिको सिटी

मेक्सिको सिटी पर्यटकका लागि संसारमा नवौँ सबैभन्दा जोखिमपूर्ण शहर हो । यो शहरले १०० मा ८२.४३ अंक पाएको छ । आपराधिक जोखिममा यो शहर छैटौँ स्थानमा परेको छ ।

त्यसैगरी, यो शहर स्वास्थ्य जोखिममा ११ र पूर्वाधार जोखिममा १८ औँ स्थानमा रहेको छ । त्यसबाहेक डिजिटल र व्यक्तिगत सुरक्षाको जोखिममा यो शहरलाई क्रमशः १९ औँ र २३ औँ स्थानमा राखिएको छ ।

क्विटो

दक्षिण अमेरिकी मुलुक इक्वेडोरको राजधानी क्विटो पर्यटकका लागि संसारकै दशौँ सबैभन्दा जोखिमपूर्ण शहर रहेको फोर्ब्सले जनाएको छ । जाखिम परिसूचकमा यो शहरलाई १०० मा ८२.०२ अंक दिइएको छ । डिजिटल जोखिममा क्विटो नवौँ जोखिमपूर्ण शहरमा रहेको छ भने आपराधिक गतिविधिका कारण उत्पन्न हुने जोखिममा यो शहरलाई ११ औँ स्थानमा राखिएको छ ।

त्यसैगरी, व्यक्तिगत सुरक्षा र पूर्वाधार सुरक्षाका आधारमा यो शहर १५ औँ सबैभन्दा जोखिमपूर्ण रहेको फोर्ब्सले जनाएको छ । स्वास्थ्यका आधारमा भने क्विटोलाई १४ औँ सबैभन्दा जोखिमपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?