मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गमञ्च समीक्षा

नाट्य क्षेत्रमा युवापुस्ताको उल्लेख्य उपस्थिति, अग्रजले कस्तो भूमिका खेल्ने ?

काठमाडौँ– शहरका नाटकघरहरुमा एकपछि अर्को नाटकहरु मञ्चन हुने क्रम जारी छ ।

राजधानीमा भएका अधिकांश थिएटरहरुमा मञ्चन भएका नाटकहरुमा युवा रङ्गकर्मीहरुको उल्लेख्य उपस्थिति देखिन्छ । यसले नाटक सिर्जनामा नयाँ पुस्ताका रङ्गकर्मीहरु सक्रिय र उत्साहित छन् भन्ने समेत इंगित गरेको छ । मञ्चन भएका अधिकांश नाटकहरुमा युवा पुस्ताहरुले पस्केका विषयवस्तु र प्रस्तुति निकै लोभलाग्दो देखिन्छ ।

थापागाउँस्थित मण्डला थिएटरमा मण्डलाकै युवा रङ्गकर्मीहरुको सक्रियतामा ‘म्याड फेस्ट–२०२४’ हालै मात्र सम्पन्न भयो । म्याड फेस्टमा वेदना राई, प्रितिशा अधिकारी, विजय तामाङ, संयोग गुरागाईं, सुशान्त बस्नेत, सागर कार्की जस्ता युवाहरुले युवाकै कथालाई समेटेर आधा दर्जन नाटकहरु प्रस्तुत गरे । जुन नाटकहरुलाई दर्शकको उत्साहपूर्ण साथ रह्यो ।

म्याड फेस्टको निर्देशकका रुपमा युवा रङ्गकर्मी अनुप न्यौपाने थिए । उनका अनुसार युवाहरुको सानो प्रयास र सानै बजेटमा नाट्य महोत्सवलाई सुखदपूर्ण तरिकाले समापन गरियो । युवाहरुले हिम्मत गरेर आएमा नाट्य क्षेत्रलाई अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण म्याड फेस्टले दिएको न्यौपाने सुनाउँछन् ।

‘म्याड फेस्टमा हाम्रो ठूलो बजेट र योजना थिएन । थिएटरप्रति हाम्रो झुकाव र हुटहुटीले हामी सफल भयौं । अब अगाडि बढ्न हिम्मत जुटेको छ,’ उनी भन्छन् । म्याड फेस्टमै मञ्चन गरिएको गुरागाईंद्वारा निर्देशित नाटक ‘रेल्वे टु नोव्होर’ अहिले मण्डलामा पुन: मञ्चन जारी छ । नाटकले अस्तव्यस्त नेतृत्वका कारण युवाहरुमा आएको विचलनलाई प्रस्तुत गरेको छ ।

कालीकास्थानस्थित सर्वनाम थिएटरमा पृथ्वी र पर्यावरणको संकटलाई लिएर निर्माण गरिएको नाटक ‘पूर्णविराम’को मञ्चन हालै मात्र सकिएको छ । नाटकको परिकल्पना तथा निर्देशन युवा रङ्गकर्मी आरुष मगरले गरेका हुन् । नाटकको लेखन भने सुरज पराजुलीको थियो ।

नाटकले प्रकृति र पर्यावरण संकटमा पर्दै गएको छ, यसमा हामी मानवको अस्तित्व नै धरापमा छ भन्ने संकेत गरिएको छ । मानिसको तीव्र आकाङ्क्षा र रहरहरुले गर्दा कसरी पृथ्वी ध्वस्त बन्दै गएको भन्दै यसमा नाटकले स्वयं मानव समुदायलाई दोषी ठहराएको छ ।

साथै नाटकले आम मानव समुदायलाई चेतावनीसँगै मानवमाथि व्यंग्यात्मक प्रहार गरेको छ । नाटकको यो कथाले के संकेत गर्छ भने, युवाहरु पृथ्वी, जल, वायु जस्ता पर्यावरणमा समेत उतिकै सजक छन् । पृथ्वी र मानवमाथि भइपरि आउने संकटमा युवाहरुले रङ्गमञ्चमार्फत सचेत गराउँदै आफ्नो दायित्व निर्वाह गरिरहेका छन् ।

त्यस्तै, म्याड फेस्टमा मञ्चन गरिएका नाटकहरु ‘शिल्पिनी,’ ‘अगम,’ ‘अंकुरण,’ ‘नुग् :द्य’ले समकालीन युवा तथा महिलाहरुको विद्यमान समस्याहरुलाई उठान गरेका छन् । मण्डलाकै प्रशिक्षार्थीहरुले हालै प्रस्तुत गरेको नाटकमा ‘राधा’ मा पनि महिला सशक्तिकरणकै पाटोलाई उठान गरिएको थियो ।

त्यस्तै, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असार २७ गतेदेखि रङ्गकर्मी टंक चौलागाईंको परिमार्जन र निर्देशनमा नाटक ‘युगको साँचो’ मञ्चन भइरहेको छ । अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’लाई नेपाली अनुवाद गरिएको ‘युगको साँचो’मा युवाहरुको बेरोजगारी अवस्थालाई बन्द भएका कलकारखानाहरु सञ्चालन गर्नुपर्ने पक्षलाई जोड दिइएको छ ।

यस नाटकले पनि अहिलेको जल्दोबल्दो समस्यालाई नै उठान गरेको छ । अर्का युवा रङ्गकर्मी अनिल सुब्बा र गीलु रातोसले झण्डै डेढ/दुई शताब्दी कथालाई नाटक ‘मेषीदण्ड’ मार्फत लिएर आएका छन् ।

रातोसको लेखन र सुब्बाको परिकल्पना तथा निर्देशन रहेको नाटकमा आदिवासीहरुको भाषा र संस्कृति अनि उनीहरुको जीवनको लयमा राज्यसत्ताले कसरी दमन गर्‍यो भन्ने मूल विषय उठान गरिएको छ ।

राणा शासनको मारमा आदिवासीहरु र उनीहरुको भाषाले गरेको सङ्घर्ष र पीडा नाटकमा समेटिएको छ । नाटक मण्डला थिएटरमा यही साउन ५ गतेदेखि मञ्चन थालनी गरिएको छ । त्यस्तै, टेकुस्थित कौसी थिएटरमा भने थेरेसा रिबेकको नाटक ‘ह्वाट वि आर अप अगेन्स्ट’को नेपाली रुपन्तरणमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन भइरहेको छ ।

नाटकको निर्देशन रङ्गकर्मी आकाङ्क्षा कार्कीले गरेकी छिन् । त्यस्तै, जमलस्थित राष्ट्रिय नाचघरमा नाटक ‘अनुत्तर’को मञ्चन सोमवारसम्म भएको थियो । नाटकमा राम के.ए.सी.को लेखन तथा निर्देशन रहेको छ ।

नाटकले समकालीन राजनीतिक तथा सामाजिक बेथितिले रुमलिएको आम नागरिकहरुले कसरी बाँच्नका लागि सत्तालाई उत्तर मागिरहेको छ भन्ने पक्षलाई उजागर गरेको छ । यता कौसी थिएटरमै रङ्गकर्मी आशान्त शर्माको परिकल्पना तथा निर्देशनमा नाटक ‘काँचो धागो’ भदौ ६ गतेदेखि २९ गतेसम्म मञ्चन बताइएको छ ।

अहिले रङ्गमञ्चमा युवापुस्ताको उपस्थिति असाध्यै उत्साहजनक देखिएपनि थिएटरले व्यावसायिक बाटो समाउन नसक्दा युवाहरु आर्थिक चपेटामा छन् । नाटक गरेरै जीवन धान्छु भन्ने अवस्था अग्रजदेखि अनुज पुस्ताका रङ्गकर्मीहरुमा आँट आइसकेको छैन भनेर रङ्गकर्मीहरुबाट नै सुनिन्छ ।

यसमा थिएटर संस्थाहरु आर्थिक रुपमा पारदर्शी हुनुपर्ने रङ्गकर्मी सिर्जना अधिकारीको बुझाइ छ । बक्स अफिस नै खडा गरेर टिकट प्रणालीमा गएको थिएटरहरुले अब व्यावसायिकताको पाटोलाई समेत बलियो गरेर युवापुस्ताका रङ्गकर्मीहरुलाई रङ्गमञ्चमा सहज वातावरण बनाइदिनुपर्ने अधिकारीको तर्क छ ।

रङ्गमञ्चमा नाटकहरु मञ्चन भइरहनु, नयाँ–नयाँ रङ्गकर्मीहरु थपिनु, नयाँ नाटकघरहरु बन्नु आफैंमा सुखद कुरा रहेको अर्का युवा रङ्गकर्मी कृष्ण खड्का सुनाउँछन् । खड्का विगत आठ वर्षदेखि रङ्गमञ्चमा उत्तिकै सक्रिय छन् । ‘निःधार,’ ‘सब ठिक छ’ र ‘डिपार्चर’ उनले निर्देशन गरेका नाटकहरु हुन् ।

यी बाहेक रङ्गगमञ्चको नेपथ्यमा बसेर लाइट, ध्वनी, रङ्गमञ्चिय व्यवस्थापनमा अझै उनी सक्रिय छन् । पछिल्लो समयमा आएका नाटकहरुलाई उनले पनि नियालिरहेका छन् । केही नाटकहरुलाई हेर्दा उनलाई लाग्छ, युवा रङ्गकर्मीहरुले गुणात्मक भन्दा पनि सङ्ख्यात्मक नाट्य सिर्जनालाई जोड दिएको देखिन्छ ।

यसमा नेम र फेमकै निम्ति रङ्गकर्मीहरुले नै केही हतारो गरेको हो कि भन्ने उनी सोच्छन् । उनी भन्छन्, ‘अहिले नाटकमा एक्सपेरिमेन्ट शब्द भित्रिएको छ ।

आएका नाटकहरुमा समाजको रुपान्तरणको कुरा कति आयो त भन्ने कुरामा हामी आफैं रुमलिरहेका छौं । यसमा परिर्वतन गर्न नाटक क्षेत्रकै अभिभावको साथ र सहयोग चाहिँ खड्कीएकै हो ।’

युवा पुस्तालाई नाटकमा आउन र सिर्जनामा अग्रज पुस्ताले जति उक्साएका छन्, त्यति नै त्यसमा गुणस्तरीय कायम गर्न नाट्य क्षेत्रका अगुवाहरुको साथ रहनुपर्ने उनको धारणा छ ।

अग्रजहरुको काम युवा पुस्तालाई नाटक गर भनेर उचाल्नु र गर्न सक्दैनौ भनेर मनोबल गिराउनु भन्दा समयको माग र परिवर्तित समयलाई ख्याल गरेर नाट्य सिर्जनामा हौसला दिनुपर्ने उनी सुनाउँछन् ।

अहिले राजधानीमा भएका नाटकघरमा जतिपनि नाटकहरु देखिएका छन्, सङ्ख्यात्मक रुपमा त्यति धेरै पनि आएको भन्न नमिल्ने रङ्गकर्मी केदार श्रेष्ठ बताउँछन् ।

यद्यपि भइरहेका नाट्य गतिविधिहरुलाई उनी सन्तोषजनक नै मान्छन् । सङ्ख्यात्मक रुपमा नाटकको ओइरो नै लागोस्, अथवा नाट्य क्षेत्रमा नाटक सिर्जनाको बाढी नै आओस् भन्ने पक्षमा उनी छैनन् ।

यस क्षेत्रको दिगोपना र सन्तुलनका लागि निरन्तर रुपमा जाने हिसाबले नाटक सिर्जनाहरु भइरहोस् भन्ने उनको मनोकाङ्क्षा छ । विशेषत युवापुस्ताको उपस्थितिले नाट्य क्षेत्रमा विविधता आएको उनी स्वीकार्छन् ।

उनी भन्छन्, ‘नव युवा रङ्गकर्मीहरुले आफ्नो लागि आफैं सिर्जना गरिरहनुभएको छ । जसले गर्दा थिएटरमा फरक अभ्यास भएको छ । उहाँहरुमा आर्थिक, सामाजिक, राजनीतिक सबै कुरामा म्याच्युरिटी देखिरहेको छ । यो त थिएटरका लागि असाध्यै राम्रो हो ।’

उनले नाटक गर्ने समयमा नाटक निर्देशन कसले गर्ने भन्ने सीमितता हुन्थ्यो । उनका अनुसार अहिले जस्तो नाटक लेखन र निर्देशनमा खुल्ला वातावरण थिएन । कसैले प्रयास गरिहालेमा सिर्जनामाथि नै अग्रजको विश्वास हुने थिएन । त्यही वातावरणमा नै उनले नाट्य यात्रालाई अगाडि बढाए ।

सबै रङ्गकर्मीहरुलाई अग्रज र अनुज भन्दा कसले कस्तो नाट्य सिर्जना पस्किरहेको छ भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको धारणा छ । ‘म त हामी सबै समकालीन नै भन्छु । यहाँ को सिनियर, को जुनियर भन्ने कुरा नै छैन ।

गुरु शिष्यमा सम्मानको कुरा सबैका लागि स्वविवेकमा भर पर्छ, तर सिर्जनाकै हिसाबमा गुरुचेलाको सम्बन्ध नै हुनुहुँदैन भन्ने कुरा मैले भन्दै आएको छु,’ उनी थप प्रस्ट्याउँछन् ।

त्यसकारण नाट्य क्षेत्रमा युवा पुस्ताको अझै गतिशीलता चाहने हो भने एक–अर्कालाई प्रोत्साहन मात्र नभएर आर्थिक, भौतिक, मानसिक जसरी सकिन्छ, त्यसरी नै सघाउनुपर्ने उनको भनाइ छ । यसले गर्दा युवापुस्ताले आफ्नो सकारात्मक र नकारात्मक दुवै पक्ष बुझेर गुणात्मक सिर्जना गर्न सक्ने उनको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?