काठमाडौँ– चर्चित मादलवादक खड्ग बुढामगरको दैनिकी मादलको तालबाटै शुरु हुन्छ । मादलको तालसँगै उनको दिनचर्या बित्छ । यही तालमै उनको दिल र दिमाग बसेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा मादल वादककै रुपमा उनले ३३ वर्षको जागीरे जीवनबाट अवकाश लिएको पनि झण्डै तीन वर्ष हुन लाग्यो । तथापि उनले नाचघरमा मादल बजाउन छोडेका छैनन् । त्यही परिसरमै आफ्ना चेलाहरुलाई मादल वादनकै प्रशिक्षण दिने क्रममा भेटिएका उनी मादलकै तालमा रमाइरहेका थिए ।
उनको कलायात्रामा मादल वादनको बाटोलाई खोतल्ने क्रममा ‘तपाईंको लागि मादल के हो ?’ भन्ने प्रश्नमा उनले एकटक मादलतर्फ हेरेर सुम्सुम्याउँदै भने, ‘मेरो आफ्नो लागि मादल जीवन नै हो । खड्ग बुढामगरको जीवनबाट मादल झिकिदिने हो भने अधुरो हुन्छ ।’
उनका जीवनमा मादल रहर र साधनासँगै जीविकोपार्जनको बाटो बन्यो । मादल नै बजाएर उनले नाचघरमा तीन दशकभन्दा बढी समय बिताए । देशविदेशमा उनी मादल लिएरै पुगे । श्रीमती, तीन छोरी र एक छोरासहितके परिवारमा उनले मादल बजाएरै गुजारा गरे । उनको नाम अगाडि जब ‘मादलवादक’ को उपमा जोडिएर आउँछ, त्यतिबेला झनै उनलाई गर्व लाग्छ । ‘मादलवादक’ कै रुपमा गीतसङ्गीत क्षेत्रमा उनको नाम र पहिचान छ । यतिबेला अझै उनको छाती गर्वले फुल्छ ।
अच्चम्म त के भने उनको शारीरिक अस्वस्थतामा समेत मादलकै धुन आवश्यक पर्यो । २०७७ वैशाख १६ गते उनलाई डिस्टोनिया (बाजा बजाउनेलाई लाग्ने नसासम्बन्धी रोग) भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा डाक्टर वसन्त पन्तको टोलीले मादलको तालकै आधारमा उनको टाउकोको अप्रेसन सफल रुपमा सम्पन्न गरेका थिए ।
मादल बजाउने क्रममा उनका हातहरु बाउँडिने, ढिलो गतिमा चल्ने र सन्तुलन नै बिग्रन थालेपछि उनी अस्पताल पुगेका थिए । लामो समयसम्म मादलको तालले गर्दा उनको दिमागमा एकपटक मात्र सर्कुलेट हुनुपर्ने तालको सिग्नल धेरैपटक सर्कुलेट भएपछि उनको दिमागी नसामा असर गरेको डाक्टरले पत्ता लगाएका थिए ।
जसलाई डाक्टरी भाषामा ‘म्यूजिसियन स्क्र्याम’ भनेर भनिन्छ । त्यसकारण उनलाई मादल बजाउन लगाउँदै डाक्टरले अप्रेसन गरेका थिए । अप्रेसन गरेपछि पनि कुनै बेला मादल बजाउँदा उनको सन्तुलन बिग्रन्छ, तर उनले मादल बजाउन भने छोडेका छैनन् ।
सल्यान त्रिवेणी ३ मा २०२० साल पुस २ गते रणबहादुर र अमनी बुढामगरको तीनभाई छोराहरुमध्ये जेठो सन्तानका रुपमा जन्मिएका बुढामगरले चार/पाँच वर्षकै उमेरमा मादललाई छोए । सानैमा बुवा बितेकै कारण हजुरबुवा र गाउँका पाका उमेरकाहरुले मादल बजाएको सुनेरै उनले सिके ।
गाउँघरमा बजाइने मादलको तालमै लहरे, पैसरी नाचलाई उनले सानैदेखि हेर्दै आए । पछि विद्यालय हुँदै गाउँ, जिल्लाहरुमा हुने विभिन्न कार्यक्रमहरुमा उनले नाच्ने, गाउने र मादल बजाउने गरे । त्यतिबेलाको उनको सपना थियो, लोकप्रिय गायक बन्ने ।
गायक बन्ने सपना लिएर २०४३ सालमा दोलखास्थित जिरीमा भएको ‘तेस्रो राष्ट्रिय दोहोरी गीत प्रतियोगिता’मा सहभागी भएका उनी प्रथम भए । त्यसपछि झनै हौसिएका उनी २०४४ सालमा पक्का गायक नै सपना बोकेर रेडियो नेपालमा छिरे । तीनताका फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपालले गर्ने लोक गीत प्रतियोगिता गीत गाउन उनी आइपुगेका थिए ।
२०४३ मा सरकारी खाजाखर्चमै कार्यक्रममा आएका उनी २०४४ सालमा भने १४ धार्नीको खसी बेचेर आएको ९ सय रुपैयाँ बोकेर काठमाडौँ छिरेका थिए । तीनताका रेडियो नेपालमा चन्द्रकला शाह र मधुबावु थापाले स्वर राम्रो भएको भनेर खुब माया र प्रशंसा गरे । उनले रेडियो नेपालमै चन्द्रकला शाहको ‘डाली बस्ने मैना चरी’ भन्ने बोलको गीतमा मादल बजाइदिए । त्यतिबेला रेडियो नेपालमा रहेका सुन्दर श्रेष्ठ, इन्द्रलाल श्रेष्ठ, पाण्डव सुनुवार लगायतकाले पनि उनको स्वर र मादल वादनलाई मन पराए ।
उनी रेडियो नेपालमा प्रवेश गर्ने समयमा गीतमा मादलको प्रयोग गरिएपनि सामान्य तालको मात्र भएको उनी स्मरण गर्छन् । उनका अनुसार सम्बन्धित ठाउँको वाद्यवादकहरुको अभावकै कारण सोरठी, टप्पा, देउडा, मारुनी, हुर्रा जस्ता मौलिक धुनहरु सुनिदैनथे । तीनताका सत्यनारायण राजभण्डारी र द्वारिकालाल श्रेष्ठका स्वरमा रहेको निकै चर्चित गीत ‘खरको छानो परालको टौवा’ मा समेत मादलको सामान्य झाम्रे ताल मात्र रहेको उनी सुनाउँछन् ।
अरुले गाउने गीतमा मादलको ताल चित्त नबुझेपछि उनी आफैँ मादल बजाउन तम्सिन्थे । पश्चिमको मौलिक धुनहरुमा उनले मादलको ताल निकाल्न थालेपछि सबै गीतहरुमा उनकै माग हुन थाल्यो । गायक बन्न आएका उनी त्यही बेलादेखि नै मादलवादक बने । उनको स्वर र मादल वादनको प्रतिभा देखेर शाह र थापा दुवैले राष्ट्रिय नाचघरका तत्कालीन महाप्रबन्धक गणेश रसिकलाई चिनाइदिए ।
नाचघरमा नृत्य, गायन, वाद्यवादन र अभिनय सबैमा अन्तरवार्ता दिएका उनी करारमा मादल वादकका रुपमा २०४५ असार १ बाट जागीरमा नियुक्त भए । सामान्य वाद्यवादकका रुपमा नाचघरमा प्रवेश गरेका उनी २०५५ सालमा स्थायी जागीरे भएपछि नायक सुब्बा हुँदै लोकसेवा लडेरै अधिकृत समेत भए । २०७८ साल पुष २ गते जागीरे जीवनबाट अवकास लिँदा उनी सातौं तह अन्तर्गत सङ्गीत विभाग प्रमुखसम्म भए । नाचघरमै उनी तीन/चार पल्ट निमित्त महाप्रवन्धक समेत भए ।
नाचघरमा जागीरे जीवन, अझै करारमा त्यति सहज थिएन । ‘महिना/दुई महिनामा कर्मचारी फेरिन्थे । नाचघरमा जागीरे भएपछि नाच्ने, गाउने, बजाउने र नाटक समेत खेलेँ । चिया ल्याउने, कार्यालय सहयोगी सम्म भएर म चाहिँ टिकिरहेँ,’ उनले नाचघरको जागीरे जीवनलाई सम्झेँ ।
नाचघरमा जागीरे जीवनमै उनले देशका कुना काप्चासम्म पुगेर मौलिक लोक धुनहरु मादलमा ल्याए । शहरमा मादलको धुनमै उनले धौलागिरीबाट ‘सालैजो,’ पूर्वबाट ‘मारुनी,’ सिन्धुपाल्चोकबाट ‘तामाङ सेलो,’ सुदूरपश्चिमबाट ‘देउडा,’ मध्यपश्चिमबाट ‘टप्पा’ ल्याए । थारु समुदायको लगायत नेपाली मौलिक गीतहरुको धुनलाई उनैले मादलमा बजाउने कोसिस गरे । जतिबेला ‘टप्पा,’ सोरठी, ‘सालैजो’ जस्ता लोकभाकालाई गहनमा भन्दा काम चलाउ हिसाबले मादलमा ल्याउने चलन थियो ।
मादललाई ताल र लिपिमा ल्याउने हेतुले उनले २०६० सालमा इलाहाबाद प्रयाग संगीत समितिबाट तबलावादनमा संगीत प्रवीण (एमम्यूज) समेत गरे । तबलामा उनका गुरु होमनाथ उपाध्याय थिए । नेपालमा मादलकै विषयमा औपचारिक रुपमा अध्यनन गर्ने व्यवस्था नभएकै कारण उनले तबला पढेका थिए । तबलाको लिपिबद्ध सुर र तालमा बजाउन सिकेपछि उनले त्यसैमा मादलको पनि ताल कल्पना गरे । फलस्वरुप उनले मादलको ताललाई लिपिबद्ध गरे ।
अहिले उनले आफ्ना चेलाहरुलाई आफूले बनाएको मादलको लिपिमै आधारित भएर सिकाउँदै आएका छन् । शुरुमा उनको लागि मादल रोजीरोटीको बाटो मात्र थियो । अहिले उनका लागि मादल बजाउनु देशको मौलिक बाजालाई संरक्षण र विस्तार गर्नु पनि हो । भन्छन्, ‘मादल बजाएरै सरकारी जागीरे हुन्छु भनेर सोचेकै थिएन । शुरुमा रोजीरोटी र जीवनयापन गर्न मादल बजाएँ । अहिले त हाम्रो मौलिक संस्कृति र बाजा जोगाउन गरेको सेवा जस्तो लाग्छ । सरकारले पनि मलाई मादल नै बजा भनेर सेवाको अवसर दियो ।’
नेपालमा ढोलक, तबलाहरुले सङ्गीतमा वर्चश्व कायम गरिरहेको समयमा मादललाई स्थापित गर्नु उनको लागि चुनौती नै हो । यद्यपि उनी मादल नै बजाइरहेका छन् । हालसम्ममा नाचघरमै मात्र उनले पाँच सय भन्दा बढीलाई मादल सिकाइसके । विभिन्न संघ–संस्था, विद्यालय, समुदायहरुमा गएर उनले मादल बजाउने तालिम दिएका छन् । यस हिसाबमा उनका एक हजार जनाभन्दा बढी चेलाहरु उत्पादन भए होलान् भन्ने उनको अनुमान छ ।
यस अर्थमा पनि नाचघरमै हुँदा मादल बजाउनु उनको लागि जागीर मात्र नभएर देशको मौलिक सङ्गीत उत्थानमा सेवा पनि हो । त्रिभुवन विश्व विद्यालयमै ढोलक, तबला जस्ता बाजाहरुको पढाई र यसमा आफ्नै व्यवस्थित प्रणाली छ । नेपालको आफ्नै बाजाको भने पढाई र लिपिबद्ध रुपमा व्यवस्था नहुँदा उनलाई दुःख लाग्छ । यसलाई विद्यालयदेखि विश्वविद्यालयहरुमा पाठ्यक्रममै राख्न सकेमा संरक्षण हुन सक्ने उनको मत छ । मादलको लिपिलाई पुस्तककै रुपमा छिट्टै ल्याउने उनी तयारी समेत गरिरहेका छन् ।
उनकै कतिपय चेलाहरुले व्यावसायिक रुपमा मादलवादकका अगाडि आइसकेका छन् । यद्यपि गाउँघरमा बजाइने मादलको मौलिक तालहरु अझै युवापुस्ताले सिक्न बाँकी रहेको उनी सुनाउँछन् । उनका अनुसार मादलको शुरुको उठानदेखि लिएर अन्तिमसम्म मादलको चरणबद्धहरु ताल र लयका नियमहरु छन् । मादलको शुरुवाती भाव र लय आफ्नै नियममा बग्दै जान्छ ।
मादलको यही चरित्र र भावलाई सङ्गीतदेखि नृत्यमा समेत राम्रोसँग प्रयोगमा नल्याएको भन्ने कुराले उनको मनमा खिन्तता छाउँछ । हुन त उनी पनि गायक बन्न आएको मान्छे अरुले बजाएको चित्त नबुझेरै मादलको वाद्यवादक बने । वाद्यवादक नै भनेर स्थापित भएपछि यसको प्रयोग पूर्ण रुपमा होस् भन्ने उनी चाहन्छन् । ‘जता जता मादल बज्यो, उतै उतै नाच्ने भन्ने उखानै छ । यसलाई नाच्दा होस् अथवा बजाउँदा व्यवहारिक रुपमा भने बुझिएको छैन,’ उनी थप्छन् ।
शहरमा उनलाई मादलमा वाद्यवादकका रुपमा चिनिएपनि अञ्चलमा उनी गायकका रुपमा चिनिन्छन् । गाउँमा उनी सोरठी र पैसरीमा खुब नाच्ने गर्थे । उतातिर उनलाई नृत्यकारका रुपमा चिन्छन् । कला क्षेत्रमा तीन वटा पहिचान बोकेर हिँडेको उनलाई कहिलेकाहीँ शहर छोडेर गाउँमा हराएको मौलिक भाका र धुनलाई ब्युझाउँ कि भन्ने पनि लाग्छ । फेरि सकुन्जेल मादल बजाउन सिकाउँछु र मादलै बजाएर आयआर्जन गर्छु भन्ने लाग्छ ।
वाद्यवादकहरु ओझेल नै रहेको कारणले उनलाई सबैले नचिने पनि ‘सान्नानीले झुक्यायो मलाई,’ ‘झ्यालमा पर्दा छ,’ ‘झल्काइ देउ झल्काइ देउ,’ ‘कलको पानी माछीले खाने,’ ‘चिया छानेको,’ ‘रुकुमको,’ ‘मीठो साह्रै मीठो,’ ‘उही खोलीको पानी,’ ‘गलन्दी च्यातियो,’ ‘परान परान,’ ‘झमक झमक’ लगायतका करिब ३७ हजार गीतमा उनले बजाएको मादलको धुन सुन्न सकिन्छ । ‘सोल्टीनीको रातो पछ्यौरी’, ‘जूनजस्तै झलल,’ ‘माकुरीको जाल,’ देउसी भैलो लगायत दुई सय ५० भन्दा बढी गीतहरुमा उनले स्वर दिएका छन् । उनका गीतहरुमा उनकी श्रीमती लिलावती बुढामगरले पनि स्वर दिएकी छिन् ।
उनले एकैदिनमा १७ वटासम्म गीतमा मादल बजाएर ६० हजार रुपैयाँसम्म पारिश्रमिक लिएका छन् । रेडियो नेपालमा एउटा गीतमा ४० रुपैयाँमा मादल बजाएका उनले अहिले १५ सय देखि चार हजार रुपैयाँसम्म लिन्छन् । अहिले पनि महिनामा डेढ/दुई लाख रुपैयाँ कमाइ गर्छन् । तीज जस्ता पर्वहरुमा महिनामा चार लाख रुपैयाँ सम्म कमाइ भएको उनी सुनाउँछन् । उनका अनुसार सङ्गीत एरेन्जरको माग अनुसार गीतमा कतिवटा मादल बजाउने हो भन्ने निश्चित हुन्छ ।
उनक भनाइ अनुसार अहिले गीतहरुमा मादलको ताल धेरै खोजिन थालेको छ । सङ्गीत सर्जकहरुलाई मान्छेलाई नचाउन भएपनि मादलको ताल हाल्नैपर्छ भन्ने भएको छ । उनका अनुसार पहिला लोक गीतमा मात्र मादल हुन्थे भने अहिले आधुनिक, शास्त्रीय चर्या, सोरठी गीतहरुमा समेत मादल प्रयोग भइरहेका छन् र मादललाई बचाउनुपर्छ भन्ने भएको छ ।
दोहोरी साँझमा पनि त्यतिकै मादलवादकहरु छन् । एउटा दोहोरी साँझमा तीन/चार जना मादल बजाउनेहरु हुन्छन् । प्रत्येक स्कूलहरुमा मादल बजाउने शिक्षक छन् । विभिन्न सप्ताह भजनहरुमा समेत मादलवादकहरु खोजिन्छन् । यसले गर्दा यसमा रोजीरोटीको बाटो पनि बनेको छ । यो अझै फराकिलो बन्छ उनलाई लाग्छ ।
विभिन्न कार्यक्रम र स्टुडियोहरुमा मादल बोक्दै हिँड्दा उनलाई कहिलेकाहीँ असहज महसूस हुन्छ । अहिले पनि उनी मादलका भारी बोकेरै रेकर्डिङ स्टुडियो र कार्यक्रमहरुमा हिँड्छन् । ‘अरु साथीहरु सुटेट बुटेड भएर कार्यक्रमा पुग्दा हामी मादलको भारी बोेकेर हिँड्नुपर्छ । यसरी हिँड्दा कुकुरले पनि लखेट्छन् । मादल बजाउँदा बजाउँदै लगाएको पाइन्ट घुँडामा फाटिन्छन्, खुइलिन्छन्, राम्रो लगाउन पाइँदैन,’ उनले दुखेसो पोखे ।
त्यसै पनि वाद्यवादकहरु सङ्गीतमा ओझेलमै छन् । मादल वादकका रुपमा पनि त्यति इज्जत नभएको उनी सुनाउँछन । सय जना मान्छेमा ‘यो बजाउने मान्छे हो’ भनेर बौद्धिक वर्गका दुई चार जनाले चिनिदिँदा उनलाई आनन्द लाग्छ ।
दैनिक नाचघर र विभिन्न ठाउँमा पुगिरहँदा कसैले ‘बुढो भयो अब सक्दैन’ वा ‘बुढेसकालमा कति हिँडेको’ भन्ला कि भन्ने उनलाई हुन्छ । उनी फेरि हाँस्दै भन्छन्, ‘यसरी सुन्दा र सोच्दा सन्यास नै लिउँ कि भन्ने हुन्छ । तर फुटबल खेलहरु जस्तै मादल, तबला बजाउनेले सन्यास लियो भन्ने त सुनेको छैन ।’ उनलाई मादल र मौलिक संस्कृति आफैँभन्दा बढी प्यारो लाग्छ । उनी फेरि सोच्छन्, ‘मादलको धुनबिना कसरी बस्न सक्छु होला ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया