काठमाडौँ – आज साउनको पहिलो सोमबार । पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
हिन्दु महिलाहरूले साउने सोमबारलाई विशेष धार्मिक दिनका रूपमा लिने गर्दछन्। साउने सोमबारका दिन निराहार व्रत बसी शिवजीको पूजा आराधना गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
अझ साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेकोले अझ विशेष बनेको छ ।
सोमबारका दिन काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।
साउने सोमबारलाई मध्यनजर गरेर आज पशुपतिनाथमा भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ। उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए। पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिने भएको छ।
साउनको सोमबार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ। विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन्। साउनको सोमबार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया