भक्तपुर – भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालको लापरवाहीले एक जना विरामीको ज्यान गएको विषय खुलेको छ । मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान तथ्य खुलेको हो ।
जनाइए अनुसार भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं। ५ खरिपाटीमा क्यान्टिन संचालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचार अस्पतालमा भएको थियो । असार २५ गतेबाट अस्पतालमा उपचार सुरु गरिएकी विरामीलाई पछि काठमाडौंको एक निजी अस्पतालमा रिफर गरिएको थियो । त्यहाँंबाट पुनः इवामुरामै फर्काएर उपचार गरिएको थियो ।
इवामुराले गलत उपचार गरेको र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुरयाई फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको आरोप आफन्तको छ ।
दुई बच्चाकी आमा सुनारको मृत्यु भए पश्चात् मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पीडित परिवारलाई ६ लाख रुपैया दिन र मृतकका २ बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन अस्पताल मन्जुर भएको थियो । गल्ती स्वीकार गरी सहमति भएको भनिए पनि त्यो विषय अहिले मात्रै खुलेको हो । सहमतिपछि परिवारले शव बुझेको थियो ।
अस्पताल व्यवस्थापक राजुमृगेन्द्र जोशीले डाक्टरको लापरबाहीले मृत्यु नभएको स्पष्ट पारे । उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको तर खर्च अभाबमा आफनै अस्पतालमा ल्याएर उपचार भइरहेको उनले जनाए । केही समय अघि पनि आफै हिडेर सोही अस्पताल पुगेका भक्तपुर नगरपालिका वडा नं ७ की ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको पनि अस्पतालको लापरवाहीले मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया