काठमाडौँ– यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा सोलुखुम्बु जिल्लाको ढेड शताब्दी अघिका खालिङबासीहरुको चहलपहल छ । खस नेपाली भाषा नजानेकै कारण राज्यसत्ता र सरकारबाट उत्पीडनमा परेका खालिङबासीहरु नाटक ‘मेषी दण्ड’का माध्यमबाट राजधानीमा देखिँदै छन् ।
जसलाई निर्देशकका रुपमा उभ्याउने काम युवा रङ्गकर्मी अनिल सुब्बाले गरिरहेका छन् । ढेड शताब्दी अघि खालिङ गाउँका राईहरुले राज्यसत्ताबाट भाषाकै कारण जे दण्ड भोगे, जसरी उनीहरु उत्पीडनमा परे, त्यसलाई खोतलेर लेख्ने काम भने लेखक गीलु रातोसले गरेका छन् ।
रातोसले सुनाएको ‘मेषी दण्ड’को कथाबाट उत्प्रेरित भएर नै नाटकको फर्मसम्म उतारिएको सुब्बाले सुनाए ।
मण्डलामा साउन ५ गतेदेखि २७ गतेसम्म मञ्चन हुने नाटक मण्डलाकै प्रस्तुतिमा हुन लागेको हो । मण्डलाले एक वर्ष भित्रमा १४ वटा नाटकहरु मञ्चन गर्ने योजना अनुरुप केही समयअघि निर्देशकहरुको नाम तय गरेको थियो । जसमा अनुप बराल, पशुपति राई, प्रविण खतिवडा, नाजिर हुसेन, केदार श्रेष्ठ, किरण चाम्लिङ लगायत निर्देशकहरुमध्ये सुब्बा पनि एक हुन् ।
यसअघि खतिवडाको निर्देशनमा नाटक ‘अन्धवेग’ मञ्चन भइसकेको छ । नाट्य क्षेत्रका बराल, खतिवडा, राई जस्ता अग्रज हस्तीहरु लहरमा आफू पनि समेटिनु सुब्बाका लागि त्यतिकै सुखद पक्ष हो । यस सुखद पक्षको भारलाई उठाउन भने उनले गह्रौं भारी रोजेका छन् ।
किनकि इतिहासलाई खोतल्नु र त्यसैलाई मञ्चमा उतार्नु त्यति सहज कार्य पक्कै होइन । नाटक ‘मेषी दण्ड’ मा उनले भाषाको यात्रिक सङ्घर्षलाई देखाउने जमर्को गरेका छन् । उनलाई आफ्नो भाषा, संस्कार रोजेकै कारण दुःख खेपेका खालिङबासीहरु र तत्कालीन राज्यसत्तालाई जस्ताको तस्तै मञ्चमा उतार्नु छ ।
लेखक रातोस र सुब्बा जस्ता पुस्तालाई दुःखको कुरा के छ भने मुलुकले मान्दै आएको इतिहासमा आदिवासी समुदायको गाथा भेटिँदैनन् । समुदायमा मौखिक रुपमा चलिआएका परम्पराहरु मात्र छन् । लिखित प्रमाणहरु नभएकै कारण ‘मेषी दण्ड’मा स्वयंले बाटो खन्दै इतिहासमा ओझेल परको कथा भन्न लेखक तथा निर्देशक दुवैले सक्दो जमर्को गरेका छन् ।
‘हामीले खास समय, मिति र तथ्यभन्दा मूल मुद्दा के हो भन्ने विषयलाई जोड दिएका छौं,’ सुब्बा भन्छन्, ‘हामीभन्दा अघिल्लो पुस्ताले खोजिदिनुभएको भए हामीलाई यति धेरै गाह्रो पर्ने थिएन होला । हाम्रो रैथाने ज्ञान र इतिहास नभएको समयमा हामीले आफैंले खन्नुपरेको छ ।’
उनका अनुसार आदिवासी इतिहासको बाटो खोतल्ने काम पाउनु आफैंमा गर्वको कुरा हो । यस मानेमा उनका लागि ‘मेषी दण्ड’ केवल नाटक मात्र पनि होइन । आदिवासी इतिहास, भाषा, संस्कृति, भूमि र पहिचानलाई खोतल्ने आन्दोलनकै स्वरुप हो ।
पछिल्लो समय उनी जस्तै थुप्रै सर्जकहरुका नाटक, फिल्म, गीतसङ्गीत, साहित्य जस्ता सिर्जनाहरुमा आदिवासी सुमदायका कथाहरु आइरहेका छन् । उनी भन्छन्, ‘एक हिसाबले हेर्ने हो भने हामी त ठूलो आन्दोलनमै छौं । म एउटा आर्टिस हुँ, मेरो आफ्नै सिर्जनाको बाटो छ ।
म माइतीघरमा हुने पहिचानको आन्दोलनमा ढुङ्गा हान्न सक्दिनँ तर आर्टकै रुपमा त गरिरहेकै छु ।’ आन्दोलन र पहिचानका कुरा कुनै व्यक्तिवादी नभएर सिङ्गो जाति र समुदायका लागि हुनुपर्ने धारणा राख्ने उनी यसको मर्मलाई आफ्नो सिर्जना मार्फत नै बुझाउन चाहन्छन् ।
२०६४ सालमा जतिबेलादेखि उनी रङ्गमञ्चमार्फत कला यात्रामा लागे, त्यतिबेला देखि नै उनले सीमान्त कथाहरुलाई भनिरहेका छन् । उनकै निर्देशनमा ‘चरा,’ ‘रिठ्ठू,’ ‘देवाङ्सी राजा,’ ‘चोरको स्वर,’ ‘यो कथा मेरो नहुन सक्छ,’ ‘बुद्ध र भिखारी’ जस्ता नाटकहरुमा उनले नभनिएकाहरुको कथा नै भनेका छन् ।
यसबाहेक ‘किपट,’ ‘एलो कमेडी,’ ‘जिउँदो आकाश,’ ‘लाटो पहाड,’ ‘जोखना’ र ‘बाखाम्मा’ जस्ता नाटकहरुमा उनी सीमान्त आवाज मात्र होइन, आदिम कथा र पात्रका रुपमा उभिएका छन् । उनकै भनाइलाई आधार मान्दा कलाका माध्यममा यी कथाहरु बोकेर आएका उनी जस्ता सर्जकलाई पहिचान बिक्री गरेको आरोप लाग्छ । आन्दोलनका लागि झण्डा बोकेर सडकमा होइन, कलम बोकेर उभिनुपर्ने उनको मत छ ।
कलाकै माध्यममा आफ्ना कुरा भनिरहँदा वा सुनाइरहँदा कतै आन्दोलनकै भाषा बढी होला कि भन्ने कुरामा उनी अझै सचेत छन् । कला जमातमै पनि जात, भाषा र संस्कारका रुपमा वर्गीय सिर्जना गर्यो भन्ने गुनासाहरु उनले सुनेका छन् ।
आफ्नो खास कुरालाई खोतल्दा सिर्जनामाथि आरोप लाग्छ भने, त्यसमा उनको थप कुनै गुनासो र आपत्तिहरु छैनन् । रङ्गमञ्चमा चाम्लिङ जस्ता युवा रङ्गकर्मीहरुले ‘लाटोपहाड,’ ‘जोखना,’ ‘खुवालुङ’ लगायत नाटकहरु मार्फत आदिवासी सीमान्तका कथाहरु जबर्जस्त रुपमा ल्याउने काम गरे ।
यो सिर्जना यात्रा भर्खरै मात्र शुरु भएकोले अब झन बढी आउनुपर्ने सुब्बा सोच्छन् । जति सिर्जनाहरु आउँछन्, त्यति बहसको वातावरण बन्ने उनी सुनाउँछन् । हिजो नवीन सुब्बा, उपेन्द्र सुब्बाहरु जस्ता सर्जकहरु आँटेर अगाडि नआएको भए आजको पुस्ताले बाटो नै नपाउने उनी ठोकुवा गर्छन् ।
यद्यपि आज उनी जस्ता पुस्ताले आफ्नो कथा खोजेर भन्दै गर्दा अरुलाई टुटाउनु र फुटाउन नहुने उनको तर्क छ । बहुलवादी समाज र बहुसांस्कृतिक पक्षलाई सम्मान गर्दै कलाकै भाषा र बिम्व अनुसार आफ्नो कुरा अगाडि ल्याउनुपर्ने उनी बताउँछन् ।
‘एउटा लिम्बू गाउँमा हामीले भन्दा राम्रो पालम गाउने र च्याब्रुङ बजाउने बाहुन समुदायको व्यक्ति पनि हुन सक्छन् । उसलाई हामीभन्दा अलग हौ भनेर छुट्याउने इन्टेन्सन कलाको हुनु हुँदैन । हाम्रा भोगाइ र कथाहरु धेरै छन् । यसलाई भन्ने गीतसङ्गीत, नाटकका मेटाफरहरु र बिम्हरु हुन सक्छन्,’ उनी थप प्रस्ट्याउँछन् ।
इलाम चुलाचुलीमा २०५१ सालमा आमा सञ्चरानी र बुवा रामबहादुर आङ्थुपोको ६ सन्तान मध्ये कान्छो छोराको रुपमा जन्मेर हुर्केका उनले त्यहीकै ‘चुलाचुली रङ्गमञ्च’ मार्फत आफ्नो कलायात्रा आरम्भ गरे । ७० को दशकको शुरुवातमै उनी बत्तीसपुतलीस्थित शिल्पी थिएटरको दोस्रो ब्याचमा नाट्य कार्यशालामा विद्यार्थीका रुपमा भर्ना भए । खासमा शिल्पीले ‘चेतना नाट्य समूह’बाट एकजनालाई बोलाएको थियो । उक्त समूहबाट कोही नभएपछि चुलाचुलीबाट आउने अवसर सुब्बालाई जुर्यो ।
‘चेतना नाट्य समूह’बाट नै पाएको ५ हजार रुपैयाँ लिएर काठमाडौँ छिरेका उनी अझै फराकिलो बने । उनले थिएटर, नाटक र नाट्यकर्मीहरुलाई अझै नजिकबाट चिने । चुलाचुलीमा कहिले घरको आँगन, बारी, चौर, चौतारोमा बसेर नाट्य सिर्जना गरेका उनले काठमाडौँमा थिएटरको संरचना, यताको माहोल रङ्गकर्मको अभ्यासलाई नजिकैबाट नियाले । यस बिचमा उनले के महसूस गरे भने, थिएटरको संरचना, यसका प्रविधि र स्थान फरक भएपनि आखिर पात्रहरुले कथा अनुसार हाँस्ने, रुने जस्ता अभिनय नै गर्ने रहेछन् ।
त्यतिबेला नै उनले आफ्नै कथा र परिवेशहरु वरीपरी देखे । त्यसपछि उनले रङ्गमञ्चमा आफ्ना कथाहरु खोजी गर्न थाले । बेला बेलामा सिर्जना कर्मका लागि चुलाचुली पुगेपनि अहिले धेरैजसो उनको समय काठमाडौँमै बितिरहेको छ । शहरमा बस्नु उनका लागि रहरभन्दा बढी बाध्यताहरु छन् ।
आफ्नो कथाहरु सुन्न र भन्न अरुको कथाहरु बुझ्नुपर्ने उनको बुझाइ छ । गाउँ र शहरको माहोलमा ठोक्किएर नै बलियो सिर्जना आउन सक्छ कि भन्ने उनलाई लाग्छ । फेरि उनको लागि प्रिय बाबुआमा, घर र चुलाचुली रङ्गमञ्च छ । उनले मनले घरीघरी भन्छ, ‘ मान्छेलाई जसरी पनि आफ्नैतिर फर्कनु रहेछ, म गाउँ नै फर्कन्छु ।’
गाउँ फर्किन पनि गाउँ र स्वयं आफूलाई अड्याउने आधार त बन्नुपर्छ भन्ने पक्षमा फेरि उनको मन शहरमा अडिन्छ । आखिर गाउँ या शहर जहाँ बसेपनि उनले आफ्नो कर्म गरिरहेका छन् ।
चुलाचुलीको मात्र होइन, समग्र नेपाली रङ्गमञ्चको रङ्गकर्मीका रुपमा उनलाई आफ्नो नाट्ययात्रा फैलानुछ ।
‘जारी,’ ‘डिग्री माइला,’ ‘मनसरा’ जस्ता फिल्ममार्फत उनले आफ्नो बलियो उपस्थिति जनाइसकेका छन् । ‘सोल्टीनी,’ ‘पाहुना हजुर’ जस्ता म्युजिक भिडियोहरुमा समेत उनको उपस्थिति देखिन्छ । चाहे नाटक होस्, चाहे फिल्म या म्युजिक भिडियो, माध्यम फरक भएपनि आफ्नै कथा भनिरहेको उनी दाबी गर्छन् ।
उनी आज जुन बाटो रोजेर जसरी हिँडिरहेका छन्, भोलिसम्म पनि त्यसरी उही आफ्नै गतिमा हिँड्छु भन्ने उनको प्रण छ । जसरी ‘मेषी दण्ड’लाई उनले खोल्नेका प्रयास गरिरहेका छन्, त्यसरी नै भोलि पनि आफ्नै पूर्खाको बाटोहरु नै उनलाई पहिल्याउनु छ ।
‘मेषी दण्ड’ जस्ता इतिहासलाई खोतल्नुमा आफैंमा चुनौतीका चाङहरु त छन् । यही चुनौतीपूर्ण कार्यलाई खालिङबासीसम्म पुर्याउने उनको धोको छ । इतिहासलाई ब्युँताइएको ‘मेषी दण्ड’लाई अग्रज, अनुज, सम्पूर्ण नाट्यप्रेमीहरु र स्वयं खालिङबासी समुदायले कस्तो रुपमा स्वीकार्ला, उनी त्यही नतिजाको पर्खाइमा छन् । त्यसपछि आउने गाली वा ताली सबै उनका लागि स्वीकार्य हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया