काठमाडौँ– बलिउड अभिनेता सलमान खानको सिने क्षेत्रमा फरक पहिचान छ । उनी अभिनेताका साथै निर्माता, टेलिभिजन पर्सनालिटी र समाजसेवी पनि हुन् । फिल्मी क्षेत्रमा आफ्नै स्टाइल बनाएका सलमानलाई ‘गड फादर’, ‘भाइजान’, सल्लु भाइ जस्ता उपनाम पनि दिने गरिन्छ ।
सन् १९६५ डिसेम्बर २७ मा बलिउडका लेखक सलीम खान र सलमा खानको पहिलो सन्तानको रुपमा उनको जन्म भएको थियो । उनका दुई भाइ र दुई बहिनी छन् ।
सलमान खानका बुबा सलिम खान एक पटकथा लेखक हुन् । उनकी आमा सुशीला चरक एक हिन्दु परिवारकी हुन् । उनले पछि आफ्नो नाम परिवर्तन गरी सलमा खान राखेकी थिइन् । बाल्यकालमा सलमानले दुई धर्मको शिक्षा पाएका थिए ।
बुवा सलिमले उनलाई क्रिकेट खेलाडी बनाउन चाहान्थे । तर सलमान भने बुबा जस्तै पटकथा लेख्न चाहन्थे । उसले ‘चन्द्रमुखी’ र ‘वीर’ जस्ता फिल्मको स्क्रिप्ट पनि लेखेका छन् । जसमा उसैले निर्देशन पनि गरेका थिए ।
सलमानले आफ्नो प्राथमिक तहको अध्ययन ग्वालियरको सिँधिया र माध्यमिक तहको पढाई मुम्बईको सेट स्टैनिस्लास हाई स्कूलबाट पूरा गरे । थप अध्ययनका लागि उनी मुम्बईको सेन्ट जेभियर्स कलेजमा भर्ना भए ।
तर, पढ्ने रुचि नभएपछि उनले बीचमै पढाइ छाडे ।
शुरुवाती करिअर
सलमानलाई सानै उमेरदेखि अभिनयमा रुचि थियो । अभिनयमा रुचि भएकै कारण साथीहरु चंकी पाण्डे र साजिद खानसँग डेजी इरानीमा भर्ना भए । जहाँ उनीहरु अभिनय सिक्ने गर्दथे । मन परेको चिजलाई जसरी पनि हासिल गर्न चाहने सलमानको फिल्मी करिअर सन् १९८८ बाट शुरु भएको थियो ।
उनले फिल्म ‘बीवी हो तो ऐसी’ बाट अभिनय शुरुवात गरे । उनले उक्त फिल्ममा सहायक अभिनेताको रुपमा काम गरे । फिल्म ‘मैँने प्यार किया’ मा उनले पहिलो पटक मुख्य अभिनेताको रुपमा भूमिका निर्वाह गरे । अभिनयको रुपमा दोस्रो भए पनि मुख्य अभिनेताको रुपमा यो सलमानको पहिलो फिल्म थियो ।
यो फिल्म सुपरहिट भएपछि उनले विभिन्न फिल्ममा मुख्य भूमिकाको लागि अफर मात्रै पाएनन् अभिनय पनि गरे । फिल्म ‘हम आपके हैँ कोन’ मा दर्शकहरुको मन जित्न उनी सफल भए ।
यसैगरी, फिल्म ‘तेरे नाम’ मा पनि उनको निकै प्रशंसा भएको थियो । फिल्ममा उनले निभाएको भूमिका र अभिनयलाई दर्शक तथा निर्देशकहरुले खुलेर प्रशंसा समेत गरे । यसका साथै उनको अभिनयलाई लिएर फिल्म हेर्ने अधिकांश दर्शक उनका ‘डाइहार्ट फ्यान’ भए ।
भारतीयसँगै नेपालीमा समेत उनका प्रशंसक ठूलो संख्यामा छन् । युवावस्थाका अधिकांश केटाहरुले सलमानको जस्तै कपाल बनाएका थिए । जुन कपालको नाम ‘तेरे नाम’ हेयर स्टाइल राखिएको थियो । त्यसपछि उनले धेरै फिल्ममा काम गर्ने अवसर पाए ।
विशेषत: उनलाई एक्सन प्रधान फिल्ममा धेरैले रुचाउँदै आएका छन् ।
करीब एक सयभन्दा बढी फिल्ममा अभिनय गरेका सलमानको अधिकांश फिल्म चर्चित तथा हिट भएका छन् । मैने प्यार किया, पत्थर के फूल, साजन, अंदाज अपना अपना, हम आपके हैं कौन, करण अर्जुन, खामोशी, जुडवा, प्यार किया तो डरना क्या, बंधन, बिबी नम्बर १, हम दिल दे चुके सनम, हम साथ साथ हैं , दुल्हन हम ले जाएंगे, तेरे नाम, गर्व, मुझे शादी करोगी, नो एन्ट्री, क्यूंकी, पार्टनर, युवराज, वान्टेड, दबंग, बडीगार्ड, एक था टाइगर, दबंग २, किक, बजरंगी भाइजान, टाइगर जिन्दा है, रेस ३ जस्ता विभिन्न फिल्मबाट उनी उद्योगको सुपरस्टार कहलिए ।
टेलिभिजनसँगै करिअर
अभिनयमा पोख्त तथा व्यस्त अभिनेता सलमान खान टिभी कार्यक्रममा पनि होस्टको रुपमा पनि काम गर्दै आएका छन् । उनले सन् २००८ देखि टिभी शो ‘१० का दम’ कार्यक्रममा होस्ट बनेका थिए । सो कार्यक्रमलाई दर्शकले धेरै रुचाएका पनि थिए ।
सो कार्यक्रबाट पनि चर्चा कमाएका सलमान खानले सन् २०१० मा ‘बिग बोस ४’ को पनि होस्ट गरे । बिगबोसमा उनको होस्टिङलाई अत्यधिक रुपमा रुचाइए । धेरै रुचाए पनि उनले ‘बिग बोस’ को सिजन ८ देखि १३ सम्म होस्ट गरिसकेका छन् ।
सलमान खानको प्रेमिका र विवादका किस्सा
सन् १९८० मा सलमान खानले संगीता बिजलानीसँग डेट गरेका थिए । उनी सलमानकी पहिलो प्रेमिका पनि हुन् । साथै उनले बिजलानीसँग धेरै लामो समय प्रेम सम्बन्धमा रहे । दुईको प्रेमलाई विवाहमा परिणत गर्ने भनिए पनि पारिवारिक विवादले त्यसो हुन सकेन ।
त्यसपछि उनको सन् १९९३ मा पाकिस्तानी सोमी अलीसँग प्रेम बसेको थियो ।
सन् १९९९ मा सलमानले मिस वर्ल्ड ऐश्वर्य रायसँग फिल्म ‘हम दिल चुके सनम’ गरेका थिए । सोही समयमा यी दुई जनाको प्रेमसम्बन्ध शुरु भएको थियो । यो जोडीलाई धेरै रुचाएका पनि थिए । तर सलमानको रिसको कारण यो सम्बन्ध टुट्यो । भारतीय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्टका अनुसार सलमानले नशाको तालमा ऐश्वर्याको घरको बाहिर हंगामा गर्ने गर्थे ।
सलमानको सो गतिविधिले ऐश्वर्याले थप्पड लगाएसँगै लामो विवादपछि दुईको सम्बन्ध छुटेको थियो ।
सन् २००५ मा सलमानको सम्बन्ध स्नेहा उल्लालसँग थियो । किनकि स्नेहाको अनुहार ऐश्वर्या रायसँग मिल्दोजुल्दो थियो । तर यो सम्बन्ध धेरै समय चलेन ।
यसका साथै बलिउड अभिनेत्री क्याटरिना कैफसँग पनि सलमानको प्रेम सम्बन्ध चलेको थियो । लामो समयसम्म सम्बन्धले निरन्तरता पाएपनि २०१० मा उनीहरुको ब्रेकअप भएको थियो । धेरैसँग सलमानले प्रेम सम्बन्ध कायम गरेपनि उनको विवाह भने अझैसम्म पनि भएको छैन । करीब ६० टेक्नै आँटेका सलमान अहिले पनि जवान र युवा नै देखिन्छन् ।
रोचक किस्सा
सलमानलाई जिन्स निकै मन पर्थ्यो । त्यसकारण जिन्सको कपडा च्यातिए पनि फेसनको रुपमा लगाएर हिँड्ने गर्थे । उनी सधैँ ब्रेसलेट लगाउँछन् । जसलाई उनी लक्की ब्रेसलेटको रुपमा लिने गर्छन् । सलमानलाई अरुको सेवा गर्न निकै मनपर्छ । अरुलाई सहयोग गर्न सधैँ तयार रहने सलमानले वार्षिक ३ देखि ४ करोड दान दिने गर्छन् । उनी सधैँ खुसी रहनुका साथै मिलनसार भएकाले पनि उनका धेरै साथीहरु छन् ।
उनलाई ज्यान बनाउने धेरै शोख छ । त्यसकारण कतिपय कार्यक्रममा साथीहरुले सर्ट फुकाल्न लगाए पनि उनी त्यसमा तयार हुन्छन् । साथै उनी पेन्टिङ गर्न समेत रुचाउँछन् । बाइक चलाउन औधी सौखिन भएकै कारण उनी फुर्सद भयो की बाइकमै मुम्बई बाहिर घुम्न निस्किन्छन् ।
उनको सबैभन्दा मनपर्ने खानामा उनकी आमाले बनाएको दाल हो । जुन उनी निकै मन पराउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया