काठमाडौँ– देश युवाविहीन बन्दैछ । देशमा भएका विश्वविद्यालयहरुमा विद्यार्थीको अभाव छ । युवाहरु पासपोर्ट बनाउने लाइनमा लामबद्ध छन् । देशभित्र अब उही देशै बनाउँछु भन्ने राजनीतिक सत्ता र नेता कार्यकर्ताहरु मात्र रहने भए ।
नागरिकता बोकेर अनागरिक जीवन बाँचिरहेका आम नागरिकहरुको यो भयावह दुर्दशालाई कहिलेसम्म टुलुटुलु हेरी बस्ने ? देशमै गरिखान्छु भन्ने युवाहरुले किन अवसर पाइरहेका छैनन् ? शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक निकायमा राजनीतिको जरो कहिलेसम्म रहन्छ ?
यी सबै प्रश्नको जवाफ नपाएपछि रङ्गकर्मी राम केएसीले नाटक ‘अनुत्तर’ मार्फत सत्तालाई पश्न गर्दै उत्तरको खोजी गरेका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सद्भाव थिएटर नेपालको प्रस्तुतिमा मङ्गलवारदेखि मञ्चन शुरु गरिएको नाटकको लेखन तथा निर्देशन केएसीको रहेको छ ।
नाटकले मुलतः समकालीन बेथिति, विसङ्गतिहरुले अस्तव्यस्त बनेको देश र आम मान्छेको जीवनलाई केलाउँदै यसको जवाफदेही राज्यसत्ता बन्नुपर्ने पक्षलाई इंगित गरेको छ ।
देशभित्र युवापुस्ता भोक, रोग, शोक सम्पूर्ण पक्षबाट भौतारिरहेको अवस्थामा उनीहरु देशभित्रै कसरी अडिने भनेर प्रश्नहरु गरिरहँदा उनीहरुका सबै सवालहरुमा उत्तर होइन, अनुत्तरहरु मात्र छन् ।
जो उत्तर दिने ठाउँमा छन्, युवाका प्रश्नहरुमा उत्तर दिन सत्तामा तदारुकता नै छैन । प्रश्नै प्रश्नहरुको चाङहरुमा रुमलिरहेको अवस्थामा नै नाटकको जन्म भएको केएसी सुनाउँछन् । नाटकमा रङ्गकर्मी किरण चापागाईंको एकल अभिनय रहेको छ ।
नाटकमा पात्रकै रुपमा संवाद भन्दा बढी शारीरिक अभिव्यक्तिलाई जोड दिइएको छ । यद्यपि नाटकभित्र जति संवादहरु प्रयुक्त छन्, ती सबै सशक्त छन् । संवादभित्रै ‘नागरिकता र इमान्दारीताले मात्र नागरिक भइँदैन रहेछ’ जस्ता संवादले सत्ता र शक्तिको पहुँचमा नभएका आम सीमान्त नागरिकहरुको प्रतिनिधित्व गर्छ ।
नाटकले देशभित्रै केही गर्छु भनेर सपना बोकेका युवाहरु कसरी पासपोर्ट च्यापेर विदेशिन बाध्य छन् र त्यही परदेशको रेमिट्यान्सले धानिरहेको देशको यथार्थतालाई बताउँछ । देशमै इलम गर्छु भन्ने युवाहरुका लागि किन गर्ने ठाउँ छैन ?
कृषि पेसा गर्ने कृषकहरुमाथि कसको राजनीतिक प्रोपाेगाण्डा चलिरहेको छ ? सर्टिफिकेट मात्र दिलाउने हाम्रो शिक्षा प्रणालीले युवा पुस्ताहरु कसरी देशभित्रै रहला ? नाटकले सत्तामाथि यी यावत प्रश्नहरु गर्दै जवाफ मागेको छ । ‘निर्लज्ज सिंहदरवार समृद्धिको ह्यासट्याग लगाउँदै प्रगति विवरणका लागि खिचिरहेको छ सेल्फी’ जस्ता संवादमा आम युवाको आक्रोश र पीडाभाव छछल्किएका छन् ।
मञ्चमा एक युवाका रुपमा देखिएका पात्रका सपनाहरु बिथोलिएका छन् । उनी कहिले युवाका रुपमा छोराको र कहिले बुवाको भूमिकामा देखिन्छन् । डाक्टर बन्ने सपना बोकेका उनी विदेशी भूमिमा एक लोन्ड्रीमा कार्यरत छन् । त्यही नै उनका सपनाहरु छचल्किन्छन् ।
उनी कल्पनामै सही उनी डाक्टरी भेषमा एप्रोन लगाउँछन्, बिरामीलाई चेकजाँच गर्छन्, औषधी लेखिदिन्छन् र अप्रेसन थिएटरमै पुग्छन् । अप्रेसन असफल भएपछि अस्पताल र डाक्टरमाथि नै आक्रमण हुँदा बल्ल उनी कल्पनाको संसारबाट ब्युँझिन्छन् । जसले समकालीन यथार्थकै झलक दिएको छ । फेरि बुवाको भूमिकामा आउँदा ‘छोराछोरीका लागि अब यो देश देशै रहेन’ भन्ने संवादमा दुःखेसो पोख्छन् ।
यसमा कलाकार चापागाईंले आफूलाई सुन्दर रुपमा प्रस्तुत गरेका छन् । नाटकमा विषयहरु बग्रेल्ती छन् । ती विषयहरुमा एकल प्रस्तुति गरिरहँदा एउटै चीजमा पात्रलाई अडिन कठिन भएको हो कि भन्ने भान नाटकका दृश्यहरु हेरिरहँदा भान हुन्छ । शारीरिक अभिव्यक्ति र पृष्ठभूमिमा संवादलाई समेत प्राथमिकता दिइएकाले शरीरको अभिव्यक्ति ओझेल परेको हो कि भन्ने महसूस हुन्छ ।
पृष्ठभूमिको संवाद बिना नै शारीरिक अभिव्यक्तिको भाषा र लयमै नाटकको कथालाई बगाइदिँदा पात्रले अझै सशक्त प्रस्तुति दिने अवसर मिल्थ्यो कि भन्ने दर्शकलाई नाटक हेर्दै गर्दा भान हुन्छ । यद्यपि कलाकार चापागाईंले मञ्च, संवाद, ध्वनि र प्रकाशलाई समेत समेटेर आफूलाई प्रस्तुत गर्न सक्दो जमर्को गरेका छन् ।
देशभित्रको युवाको छटपट्टी, मानसिक नैराश्यता र पीडाको बोझ छ । यी सबै द्वन्द्वात्मक परिस्थितिहरुलाई बुझाउन वा देखाउन निर्देशक केएसीले भयङ्कर ध्वनि, प्रप्स र संवादको प्रयोग गरेका छैनन् । यही नै नाटकको सुन्दर पक्ष लाग्छ ।
‘देशमा जे कुरामा कुरामा पनि राजनीति छ’ भन्ने संवादहरुमा सत्ताप्रति निकै आक्रोस र पीडाहरु पोखिएका छन् । तर पीडाहरुमा पनि उत्तरकै खोजी गरिएका छन् ।
रङ्गमञ्चमा दुई दशकको अनुभव सँगालेका निर्देशक केएसीले ‘बुद्ध भर्सेज देश,’ ‘अश्वेत,’ ‘आधा आकाश,’ ‘नासो’ जस्ता एक दर्जनभन्दा नाटकबाट पनि समकालीन समाज र परिवेशलाई नियाल्ने जमर्को गरेका छन् ।
पछिल्लो नाटक ‘अनुत्तर’बाट भने उनले सत्ताबाट उत्तरको आशा राखेका छन् ।
नाटकमार्फत उनले सत्तालाई व्यङ्ग्य गर्दै भन्छन्, ‘घरेलु व्यापार व्यवसाय बन्द हुँदै छन्, सिंहदरवारको निद अझै खुलेको छैन । स्कूल, कलेज धमाधम बन्द हुँदै छन्, सिंहदरवारको निद अझै खुलेको छैन, दिनहुँ लाखौँ युवाहरु परदेशको उडान भर्दैछन्, सिंहदरवारको निद अझै खुलेको छैन । सुत बाबै, सुत !’
सो नाटक साउन ७ गतेसम्म मञ्चन हुनेछ ।
मञ्चमा: किरण चापागाईं
मञ्च सज्जा: अनिशा भण्डारी
भेषभुषा: लक्ष्मी लोचना वैद्य
मञ्च तथा सङ्गीत पसिकल्पना: टिकाभक्त जिरेल
प्रकाश पकिल्पना तथा परिचालन: राम के.ए.सी.
सह–निर्देशन: सुशीला लक्ष्मी महर्जन
मञ्च व्यवस्थापन: शिव प्रसाद अधिकारी
रङ्ग व्यवस्थापन: मुना कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया