काठमाडौँ– हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै झण्डै दुई महिना बाँकी छ । यद्यपि तीज केन्द्रित भाकाहरु भने धमाधम बजारमा आउन थालिसकेका छन् ।
तीजका गीत असारमै सार्वजनिक भएपछि कतिपयले विरोध पनि गरेका थिए । युट्युबमा भने तीजको भाकामा केन्द्रित रहेर तयार पारिएका तीजका गीतहरू रिलिज हुन थालेका छन् । कैयन् सर्जकले भने ती भाकालाई अबको केही सातामा रिलिज गर्ने तयारी थालेका छन् ।
गायिका शान्तिश्री परियार, राधिका हमाल, पशुपति शर्मा, खुमन अधिकारी, खेम सेञ्चुरी, देवी घर्ती लगायत लोक गीतका स्रष्टाहरुलाई तीज गीतकै चटारो छ । यी स्रष्टाहरु गीत रेकर्डिङको काम सकाएर भिडियोतिर लागिसकेका छन् ।
एक त तीज गीतका लागि भिडियो निर्माण अर्कोतिर तीज विशेष कार्यक्रमहरुमा विदेशमा हुने साङ्गीतिक कार्यक्रहरुमा पछिल्लो समय लोक स्रष्टाहरु सहभागी भइरहेका छन् । यसकारण उनीहरु आफ्नो गीत निर्माणमा तीज आउनु अगावै तयारीतर्फ लागिरहेको देखिन्छ ।
यस अवधिमा थुप्रै तीजभाकाहरु बजारमा आएका छन् । तीमध्ये केही गीतको जानकारी हामीले दिएका छौँ ।
रहरैमा
तेजेन्द्र भण्डारीको प्रस्तुतिमा केही हप्ताअघि मात्र सार्वजनिक भएको तीज भाका ‘रहरैमा’लाई भण्डारीले आफ्नै युट्युब च्यालनमा राखेका छन् । सन्दीप पौडेलको शब्द रचना रहेको गीतमा स्वर रेशम निर्दोश र सुनिता बुढा क्षेत्रीले दिएका छन् भने सङ्गीत नयन शर्माको रहेको छ ।
तीज आएपछि माइती सम्झेको चेलीको भावलाई समेटिएको गीतको भिडियोमा छायाङ्कन र निर्देशन भण्डारीले नै गरेका छन् । भिडियोको सम्पादन भने विकास ज्ञवालीले गरेका छन् । भिडियोमा कल्पना क्षेत्री, राज श्रेष्ठ, तुलसी सापकोटा, अविरल अधिकारी, इन्द्र केसी, कृष्ण सापकोटा लगायतको अभिनय देख सकिन्छ ।
शहरिया छोराबुहारी
हुर्काइ बढाइ गरेपछि शहर पसेका छोराबुहारीलाई आमाको वेदना पोखिएको भाव गीत ‘शहरिया छोराबुहारी’ छ । सन्तोष केसीको शब्द रचना र सङ्गीत रहेको गीतमा केसीकै स्वर रहेको छ । उनलाई स्वरमा साथ समीक्षा अधिकारी र राधिका हमालले दिएकी छिन् ।
गीतको भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका छन् भने निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छिन् । त्यस्तै, सम्पादन विष्णु शर्माले गरेका छन् । भिडियोमा किरण केसी, अंशु महर्जन, पल्पसा डंगोल, कमल गाउँले, सारदा गिरी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
सीताका माइती
केही साताअघि सार्वजनिक भएको तीज गीत ‘सीताका माइती’मा चेलीको वेदना भन्दा पनि मायाप्रेमका भाव समेटिएको छ । झट्ट सुन्दा लोक जुहारी जस्तो सुनिने गीतमा स्वर सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको रहेको छ । गीतको शब्द र सङ्गीत रचना शिव खेलीको छ भने सङ्गीत संयोजन विश्वास नेपालको छ ।
गीतको भिडियो निर्देशनमा जीवन कुमार ज्ञवाली, छायाङ्कनमा दुर्गा पौडेल र सम्पादनमा नवीन घर्ती मगर छन् । भिडियोमा मुख्य कलाकारहरुमा विजय पुन र जुना विश्वकर्मा देखिएका छन् ।
बरिलै
समीक्षा अधिकारी र मोहन खड्काको स्वर रहेको गीत ‘बरिलै’ अघिल्लो साता सार्वजनिक भएको हो । मायाप्रेमकै भाव समेटिएको गीतमा शब्द रचना र सङ्गीत बिमल अधिकारीको रहेको छ ।
अधिकारीसँगै आश्मा विश्सकर्माको अभिनय रहेको भिडियोको निर्देशन शंकर बिसीको छ भने छायाङ्कनमा राजेश घिमिरे र सम्पादनमा विकास ज्ञवाली रहेका छन ।
घर झगडा
‘घर झगडा’ भाग ६ कधा रुपमा आएको नयाँ तीजमा घरायसी नोकझोकलाई प्रस्तुत गरिएको छ । घर झगडाको कारण नयाँ बुहारीलाई देखाइएको छ । केही समयअघि ट्रेण्डिङमा परेको गीतमा पशुपति शर्मा, सम्झना भण्डारी, पूजा देवकोटा, सुन्दर प्रयास परियार र शीतल कल्पनाको स्वर समावेश रहेको छ ।
गीतको शब्द रचना टंक डुम्रे र सङ्गीत यज्ञ सापकोटाको रहेको छ । सुरविर पण्डित, अंशु थापा, यज्ञ सापकोटा लगायत कलाकारहरुको अभिनय रहेको भिडियोको निर्देशन मदन खड्काले गरेका छन् भने छायाङ्कन विरेन्द्र भट्ट र सम्पादन विकास ज्ञवालीको रहेको छ ।
तीजको बेलैमा
‘तीजको बेलैमा’ गीतमा रचना रिमाल र पशुपति शर्माको स्वर समावेश रहेको छ । गीतमा माया र प्रेम तथा वैशको कुरा नै समावेश गरिएको छ । गीतको भिडियोमा गायिका रिमालसँगै रामजी खाँणको अभिनय देख्न सकिन्छ ।
गीतको शब्द रचना नेत्र अर्याल र सङ्गीत प्रकाश धमलाको छ । भिडियोको निर्देशन र कोरियोग्राफ शेखर घर्ती मगरले गरेका छन् भने छायाङ्कन दुर्गा पौडेल सम्पादन प्रकाश धमलाकै रहेको छ ।
बिजुली चमक्क
सुनिता बुढा क्षेत्रीको आवाज रहेको यो गीती भिडियोमा अञ्जली अधिकारीको अभिनय रहेको छ । ‘बिजुली चमक्क’ बोलको यो गीतमा युवतीको भावनालाई प्रस्तुत गरिएको छ ।
यी बाहेक युट्युबमा रिलिज गरिएका अन्य केही तीज गीतका भिडियोहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया