काठमाडौँ– लगातार बढेको शेयर बजार कारोबार रकम बढेपनि नेप्से परिसूचक १७ अंकले घटेको छ । कारोबारका पछिल्ला चार दिन निरन्तर बढेको बजार आज नेप्से परिसूचक १७.१८ अंकले घटेको हो ।
आज (सोमवार) कारोवार रकम भने ६ महिनायताकै उच्च भएको छ । सरकार परिवर्तन हुने हल्लासँगै बढेको शेयर बजारमा आज आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
अघिल्लो दिनको तुलनामा सोमवारको कारोबार एक अर्ब ११ करोड रुपैयाँ बढेको हो । यद्यपि बजार खुल्नासाथ बढेको शेयर बजार केही समयमै ओरालो लागेर पुनः उकालो लागेको थियो । पछि भने शेयर बजार घटेको थियो ।
नेपाल स्टक एक्सचेन्जको वेबसाइट अनुसार आज (सोमवार) ५६ वटा कम्पनीको शेयर उकालो लागेको छ भने एक सय ८४ वटा कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । त्यस्तै दुई कम्पनीको शेयर मूल्य यथावत् रहेको छ ।
त्यस्तै आज माण्डु हाइड्रोपावरको शेयर सबैभन्दा बढी भएको छ । त्यसपछि निफ्रा (नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड) को शेयर मूल्य पनि १५ रुपैयाँले बढेको छ । जानकी फाइनान्स लिमिटेडको शेयर मूल्य भने आज सर्वाधिक घटेको छ । जानकीको प्रति शेयर ८२.५० ले घट्दा यसको मूल्य ७४२ पुगेको छ । यो कम्पनीको शेयर केही दिनदेखि बीचमा घटेर अन्तिम समयमा आएर बढ्ने गरेको थियो ।
त्यस्तै साम्लिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि ३५ रुपैयाँ ४० पैसा घटेको छ ।
आज अपर तामाकोशी हाइड्रोपावर कम्पनीमा लगानीकर्ताले ३७ करोड आठ लाख ७२ हजार पाँच सय रुपैयाँ कारोबार भएको छ । त्यसपछि निफ्रामा २१ करोड ९८ लाख ९७ हजार ६ सय बराबरको शेयर कारोबार भएको छ भने नेगेटिभ सर्किट हानेको जानकी फाइनान्समा १९ करोड १५ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
पछिल्लो केही समययता लगानीकर्ताहरुमा उत्साह देखिएको छ । लामो समय २ हजार कट्न मुस्किल परेको नेप्से परिसूचक थोरै घटेपनि २२ सय माथि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया