काठमाडौँ– असार ३० गते आइतवार रङ्गकर्मीद्वय सिर्जना अधिकारी र सुलक्षण भारतीले १२ औं वैवाहिक वर्षगाँठ मनाए ।
अधिकारीका लागि अझ यो दिन जीवन र रङ्गमञ्च यी दुवै हिसाबले मानसपटलमा विशेष स्मरणमा छ । २०६९ सालमा भारतीसँग लगनगाँठो कसेकी उनी त्यही समयमा नाटक ‘सुनकेशरी’मा आवद्ध थिइन् ।
उनलाई यो महिना र दिन आउने बित्तिकै विवाह भन्दा पनि नाटक ‘सुनकेशरी’ले अझै झकझकाउँछ । विवाह भएको भोलिपल्ट यी दुवैजना ‘सुनकेशरी’ नाटककै लागि मण्डला थिएटर पुगेका थिए । यता दुवै नाटकमा थिए, उता विवाहको पार्टीमा बेहुलाबेहुलीलाई बधाई दिन पुगेका पाहुनाहरु कुरेको कुरै भए ।
नाटक सकिने बित्तिकै दुवैजना हतार हतार गरेर त पुगे, तर अधिकारीलाई भित्र पस्नै अप्ठ्यारो लाग्यो । ‘पार्टीमा हस्याङफस्याङ गरेर बल्लतल्ल सारी त लगाएर गएँ, तर बेहुली भन्दा अरु पो पूरै सजिएर आउनुभएको रहेछ ।
त्यो भीडमा बेहुली नै पो नचिनेला भन्ने भयो,’ उनले हाँस्दै सुनाइन् । रङ्गमञ्चीय यात्रामा यस्ता थुप्रै तीतामीठा स्मरणहरु उनीसँग छन् ।
यसैमा उनले जीवनका सबै पलहरु सुमसुम्याएकी छिन् ।
बगेको खोला, जीवन र रङ्गमञ्च, यी सबैमा रङ्गकर्मी अधिकारी समानता देख्छिन् । किनाराहरुलाई साक्षी राखेर खोला जसरी बग्दै बग्दै जान्छ, जीवन र उनको कलाकर्म पनि त्यही बहावमा अगाडि बढिरहेको छ ।
निश्चित ठाउँमा यसरी नै बग्नुपर्छ र आफ्नो गतिशीलतालाई कायम गर्नुपर्छ भन्ने खोलाको कुनै खाकाहरु हुँदैनन् । उनको जीवन र कलायात्रा पनि खाका र योजनाहरुबिना नै चल्न शुरु भए र त्यसरी नै चलिरहेको छ । भोलिका दिनहरु पनि यसरी चलोस् भन्ने उनको मनोकाङ्क्षा छ ।
नाटक, टेलिसिरियल हुँदै फिल्मसम्म अधिकारीको कला यात्रा फिँजिएको छ । ६० को दशकमा शुरु भएको उनको कलायात्रा झण्डै दुई दशक हुन लाग्दा पनि सुस्ताएको छैन । नाटकको दुनियाँबाट शुरु भएको उनका लागि यही नै जीवनको मूलबाटो बन्यो ।
यसैमा उनले जीवनमा चाहेको खुसी पाएकी छन् । रङ्गमञ्च, नाटक, थिएटर, अभिनय यी सबै उनलाई आफ्नो लाग्छ । रङ्गमञ्चको यात्राकै क्रममा उनको बाल्यकाल र यौवनकाल यतै बित्यो । यही यात्रामा उनको घरजम भयो, उनी आमा बनिन् । उनको जीवनका हरेक पलहरुको सबैभन्दा बलियो साक्षी हो, रङ्गमञ्च । यी सबै पलहरुमा रङ्गमञ्च र उनी सँगै छिन् । यस मानेमा रङ्गमञ्चप्रति उनको बेग्लै र बेहद प्रेम छ ।
यो अवधिमा नाटकको दुनियाँबाट हराउने पनि उनले छुट पाएकी छैनिन् ।
‘यहाँ त खोला जस्तै फ्लो मा बगिरहनुपर्छ,’ उनी भन्छिन्, ‘दुई चार दिन देखिन छोड्ने बित्तिकै बिर्सिहालिन्छ । जसरी बगेको खोला फेरि फर्कदैन त्यसरी नै कला क्षेत्र पनि त्यस्तै रहेछ ।’
काठमाडौँ हात्तीगौँडामा नारायण र सानु अधिकारीकी जेठी छोरीकी रुपमा २०४९ साउन १३ गते उनी यस धर्तीमा आइन् । उनका एक–एकजना बहिनी र दाइ छन् ।
परिवारबाट कला क्षेत्रमा पहिलो यात्राको थालनी उनले नै गरिन् । कला यात्रा उनको स्कूले जीवनबाटै शुरु भयो । अग्रज रङ्गकर्मी अशेष मल्लले शुरुवात गरेको सडक नाटकको माहोल उनको टोल छिमेकसम्म पुगेको थियो ।
घर नजिकैको काका(श्रवण खत्री)ले उनलाई सडक नाटकमा छोरीको भूमिका निर्वाहका लागि प्रस्ताव राखे । जतिबेला उनी कक्षा ८ मा पढ्थिन् ।
नाटक, यसको कथा, अभिनय त उनले बुझेकी थिइनन्, तर के सोचेर हो, उनले सहमति जनाइन् । उनको सहमतिमा घरबाट पनि रोकतोक भएन र उनले सडक नाटकमा अभिनय गरिन् । त्यसपछि स्कूलसँगै उनको नाटक यात्रा निरन्तर चलिरह्यो ।
तीनताका बालुवाटारस्थित नाटकका लागि ‘डबली’ कार्यालय थियो । त्यही आउनेजाने क्रममा उनले नाटकबारे अझै बुझिन् ।
स्कूले जीवनमै सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, पाँचथर लगायत थुप्रै जिल्लाहरुमा पुगेर सडक नाटक प्रस्तुतिहरु दिइन् ।
विभिन्न ठाउँमा सडक नाटकहरु गरेर आएपछि उनले एकमुष्ट २५ हजार रुपैयाँ पारिश्रमिक लिँदा झनै उनमा उत्साह थपियो । त्यसपश्चात् फेरि उनले एसएलसी उत्तीर्ण भए लगत्तै गुरुकुलमा नाटक ‘थोङ्से’ अभिनय गर्ने मौका पाइन् ।
यसरी ख्यालख्यालैमा नाटकप्रति उनको प्रेम बस्यो । तब मात्र उनी थिएटरलाई अझै गहिराइबाट बुझ्न अनुप बरालको एक्टर्स स्टुडियोमा सातौं ब्याचकी विद्यार्थी बनेर पुगिन् । तीन महिनाका लागि भनेर एक्टर्स स्टुडियो पुगेकी उनले त्यहाँ झण्डै नौ महिनासम्म सिक्ने र काम गर्ने मौका समेत पाइन् ।
थिएटरमा औपचारिक रुपमा छिरेपछि सरुभक्तको लेखनमा उनका गुरु अनुप बरालको निर्देशन रहको नाटक ‘मलामी’मा उनले अभिनय गरिन् ।
वि.सं. २०६८ सालमा मञ्चन भएको नाटकमा अर्का रङ्गकर्मी आशान्त शर्मा समेत थिए । जुन नाटकले उनलाई रङ्गकर्मीका रुपमा उभ्याइदियो । त्यसपछि उनले बरालकै निर्देशनमा ‘ओ स्टार दुनियाँ’ खेलिन् । जुन नाटकमा बरालको समेत अभिनय थियो ।
दयाहाङ राईसँग ‘कर्ली हेयर’ नाटक पनि उनले अभिनय गरिन् ।
केही समय ‘डबली स्पेश’ मार्फत उनले बाल नाटक पनि गरिन् । सुरेश चन्दको निर्देशनमा बाल नाटक ‘रेल गाडी छुकछुक’ लिएर विभिन्न विद्यालयहरुमा लामो समय देखाइएको उनी स्मरण गर्छिन् ।
त्यसपछि मण्डला थिएटरमा जोडिएकी उनी थिएटरकी संस्थापक सदस्य समेत हुन् । त्यही नै रङ्गकर्मी भारतीसँग उनको जम्काभेट भएको थियो ।
त्यही भेट नै प्रेम हुँदै विवाहमा परिणत भयो । यस अवधिमा उनले ‘सुनकेशरी,’ ‘चरणदास चोर,’ ‘जय माया आफू मात्र लिखापानी आइपुगी,’ ‘यार्मा,’ ‘डिग्री माइला,’ ‘भजाइना मनोलग,’ ‘सलेदो,’ ‘मिल्क टी’ लगायतका दर्जनौं नाटकहरु खेलिन् ।
भारतीकै लेखन रहेको ‘सलेदो’ र ‘मिल्क टी’ नाटकलाई उनले नै निर्देशन गरिन् ।
२०७४ मा मण्डला थिएटरबाट छुटेपछि भारती र अधिकारी दम्पतीले काठमाडौँ सिनामङ्गलस्थित ‘पुरानो घर’ थिएटर सञ्चालनमा ल्याए । २०७८ सालमा भारतीकै लेखन, निर्देशन तथा सोलो एक्टमा नाटक ‘म’को मञ्चनसँगै नाटकघर सुचारु गरिएको थियो ।
त्यसपछि ‘खत,’ ‘लाटीको छोरा,’ ‘मोन्टाज,’ ‘एन इन्स्पेक्टर कल्स’ लगायतक नाटकहरु पुरानो घर थिएटरमा मञ्चन भए । नाटकघर निर्माणकै क्रममा कोरोना महामारी, आर्थिक कठिनाई उनले सबै भोगिन् ।
काखे बच्चालाई च्याप्दै यी दम्पतीले नाटकघर ठडाएरै छोडे ।
रङ्गमञ्चका हिजोका दिनहरु र भोलिका दिनलाई स्मरण गर्दा यसप्रति उनको कुनै गुनासाहरु छैनन् । जुनदेखि उनी यसमा छिन्, कुनै न कुनै रुपमा लागिरहेकै छिन् ।
उनलाई लाग्छ, उनका सपना र खुसीहरु रङ्गमञ्चमै छन् । उनको रङ्गमञ्चको यात्राले बुवाआमाको सपना भने बिथोलियो, यसमा चाहिँ कहिलेकाहीँ उनी सोच्ने गर्छिन् ।
बुवाको जागीर वीर अस्पतालमा भएकोले उनलाई पनि त्यही काम लगाउने परिवारको चाहना थियो । उनको कलाप्रेमको ढिपीले परिवारको केही चलेन । उनलाई अहिले लाग्छ, नाटक यात्राले नै उनले जीवनको बाटो पहिल्याइन् ।
भन्छिन्, ‘के गर्ने, कसरी गर्ने भन्ने बरालिने उमेरमै मैले नाटकको काम पाएँ । नाटकले गर्दा मलाई अरु सोच्ने फुर्सद थिएन । यसैले मलाई सबथोक सिकायो ।’
विवाहपछि वास्तविक रुपमै बुहारीको भूमिका निभाएर पनि उनले नाटकलाई समय दिइन् । छोरा जन्माएर आमा बनेपछि पनि नाटकमै रहिन् । चार महिनाको गर्भमै बोकेर उनले छोरालाई नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा(एनएसडी)को नाट्य महोत्सवमा पुर्याइन् ।
आठ महिना गर्भकै समयमा नाटक ‘सलेदो’ देखाइन् । यतिमात्र नभएर सुत्केरी भएको १४ दिनमै तीनताका उज्यालो नेटवर्कमा जारी ‘रेडियो नाटक’ प्रस्तुतिमा समेत उनी पुगिन् । कुनै पनि महिलाको विवाह हुँदैमा र आमा बन्दैमा कमजोर नै हुन्छ भन्ने समाजको भाष्यप्रति उनी खेद प्रकट गर्छिन् ।
‘जतिबेला महिला गर्भवती र सुत्केरी हुन्छिन्, त्यहीबेला कमजोर बनाएर एक्लै राखिन्छ । पहिलोपल्ट आमा बन्नु सबैका लागि नौलो अनुभव हो । तर हाम्रोमा कुराकानी गर्ने र सिकाउनुको सट्टा सुत्केरी बनाएर एउटा कोठामा राखिन्छ । यो एकदमै गलत हो,’ उनी भन्छिन् ।
गर्छु भनेर अगाडि बढ्ने महिलाहरुका लागि समेत समाजले प्रश्न उठाएको उनका कतिपय अनुभवहरुले बताउँछन् ।
आफ्नो यात्रामा उनी घर, परिवार भन्दा पनि आफ्नै हिम्मतलाई जस दिन्छिन् । महिलाले अरुको भरोसा र आश भन्दा आफ्नै हिम्मतले अगाडि बढ्नुपर्ने उनको तर्क छ ।
उनी थप्छिन्, ‘केही गर्नुछ भने आफ्नो लागि बाटो सहज त आफैंले बनाउने हो नि । तिमी गर्नैपर्छ भनेर बाटो देखाउने र सजिलो बनाइदिने कसले गरिदिन्छ र ।’
थिएटरमा पनि पितृसत्ता छ भन्ने कुरामा उनी सहमत छिन् । जसरी पुरुष रङ्गकर्मीहरुलाई पनि थिएटरमा टिक्न कठिन छ, त्यो भन्दा दोब्बर रङ्गकर्मी महिलाहरुलाई कठिनाई भएको उनी सुनाउँछिन् ।
अग्रजदेखि उनकै समकालीनहरु समेत रङ्गमञ्चबाट टाढिएर घर गृहस्थीमा रमाइरहेका उनले देखेकी छिन् । उनी चाहिँ जसोतसो यतै छिन् । उनको यही दौरानमा छोरा हुर्किँदै छ । दुवै दम्पती नाटक मात्र नभएर फिल्म र टेली सिरियलका कामहरुमा समेत सक्रिय छन् । ‘बुवाआमा दुवै यता हुनुहुन्छ ।
अब बाबुलाई पनि यतै ल्याउने त होला नि ?’ भन्ने प्रश्नमा उनले ठाडै असहमति जनाइन् । उनी भन्छिन्, ‘बाबु आफैं यसमै गर्छु भनेर आएमा ठिकै छ, होइन भने उसलाई पनि यतै ल्याउने मेरो रहर छैन ।’
थिएटरमा अझै व्यावसायिकताको अभ्यास छैन । सबै कुरामा राम्रो देखिएपनि आर्थिक रुपमा थिएटरहरु अझै पारदर्शी नभएको उनको दुखेसो छ ।
थिएटरहरुले नयाँ पुस्तालाई नाटकको सपना देखाएर ल्याउने कामलाई लामो समयदेखि गरिरहेका छन् । युवाहरुलाई सपना मात्र होइन, यहाँको सङ्घर्ष, चुनौती र अप्ठ्यारा बाटाहरुका बारेमा समेत शुरुवाती समयमै बुझाउनुपर्ने उनको मत छ ।
उनका अनुसार यही कुरा नबुझाउँदा नाटकमा आएका युवाहरु अन्यौलमा छन् । यही भोगाइ आफ्नो छोराले पनि भोगोस् भन्ने उनी चाहँदिनन् ।
‘खाग,’ ‘श्री ५ अम्बरे,’ ‘सतीदेवी,’ ‘तान्द्रो’ लगायत फिल्म र ‘शान्ति,’ ‘सक्किगोनी’ लगायत टेलिफिल्महरुमा उनले काम गरेकी छन् । उनले आफ्नो स्तर र चाहेको अनुसारको काम गर्न त पाएकी छैनन्, तर यही क्षेत्रबाट जीविकोपार्जनसँगै कलायात्रालाई निरन्तरता दिइरहेकी छिन् ।
आजका नयाँ पुस्ताहरुले यी अवसरहरु समेत नपाइरहेको अवस्था छ । थिएटरका गुरुहरुले संस्थागत सीमिततालाई तोडेर नाटकमा आउने युवाहरुलाई जीविकोपार्जन गर्ने बाटोहरु पनि देखाइदिएमा सहज हुने उनको बुझाइ छ ।
नाटक सिक्नु, अभिनय कला देखाउनु, कला सिर्जनाबारे जान्नु आफैंमा नराम्रो चीज होइन, तर यसको गहिराईसम्म बुझेर मात्र थिएटरमा आउन युवापुस्तालाई उनको आग्रह छ । उनकै भनाइमा अरुसँग तुलना गरेर भन्दा पनि आफैंले आफैंलाई स्वीकारेर खुसी हुन सक्छु भन्नेहरुका लागि मात्र थिएटरको मञ्च दिगो हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया