मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धरानको बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

धरान – धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।

इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताए । उनले भने, “बूढासुब्बाप्रति अगाध आस्था छ । भर्खरै विवाहबन्धनमा बाँधिएका दम्पतीले यहाँ भाकल गरेर भाकल बुझाएमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।” यस मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले धागो बाँध्ने चलन रहिआएकाले धागो बाँध्न आएको उनले बताए ।

भाकल पूरा गर्न झापाबाट धरान आएकी अञ्जा कार्की पनि साउनमा बलि दिन नमिल्ने भएकाले असार अन्तिममा भाकल पूरा गर्न आएको बताइन् । उनले भनिन्, “म वर्षेपिच्छे बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न भाले लिएर आउने गर्छु । मैले भाकल गरेर मागेको कुरा पूरा पनि हुने गरेको छ ।”

दश वर्ष अघिसम्म बूढासुब्बा मन्दिरको बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासले बाँसमा नाम लेख्ने चलन थियो । विस्तारै यहाँका बास मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसयता बाँसको वरिपरि माला बाँध्ने लहर बढेको हो ।

बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । यहाँ पूजा गर्न मुलुकका अधिकांश ठाउँ र भारतको सिक्किम दार्जिलिङलगायतका स्थान बाट आउने गरेका छन् । भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी वा पोथी नभएमा कुखुराको अण्डा चढाउने परम्परा छ । मन्दिर नजिकै फूलमाला बेच्दै आएका मोहम्मद जमिन अन्यबेला भन्दा असार अन्तिममा भक्तजनको भीड धेरै भएको बताउछन् । उनले साउन महिनाभरि काटमार गर्न नहुने भएकाले असार अन्तिममा वर्षेनी भिडभाड हुने गरेको बताइन् ।

असारको अन्तिम शनिबार हिजो र आज सबैभन्दा धेरै भक्तजन आएको बुढासुब्बा मन्दिरका पुजारी डम्बर आलेमगरले बताए । शनिबार पाँच हजारभन्दा बढी भक्तजन आएका थिए । साउनभर धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकाले धरानका सबै मठमन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने चलन छ ।

साउन महिनाभरि बोलबम मेला लाग्ने भएकाले भाकल पुरा गर्न र बलि चढाउन साउन अगाडि बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायतका मन्दिरमा भक्तजन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?