मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युरोकप

युरोकपको फाइनल ‘ब्याटल’ आज, स्पेन र इङ्ग्ल्याण्डमध्ये कसले मार्ला बाजी ?

कति बजे हुँदैछ स्पेन र इङ्ग्ल्याण्डको रोचक खेल?

काठमाडौँ– जर्मनीमा जारी युरोकपको फाइनलमा स्पेन र इङ्ग्ल्याण्ड भिड्दैछन् । बर्लिनको ओलम्पियास्टाडियोनमा आयोजना हुने यो खेल नेपाली समयअनुसार आजै राति पौने १ बजे शुरु हुनेछ ।

इङ्ग्ल्याण्डले सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने स्पेनले फ्रान्सलाई हराएको थियो ।

इङ्ग्ल्याण्ड समूह सीको विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको थियो भने स्पेन समूह बीको शीर्ष स्थानमा रहँदै राउण्ड अफ १६ मा पुगेको थियो । समूह चरणमा इङ्ग्ल्याण्डले सर्बियालाई पराजित गरेको थियो भने डेनमार्क र स्लोभेनियासँग बराबरी खेलेको थियो । स्पेनले भने समूह चरणमा क्रोएशिया, इटाली र अल्बानियालाई पराजित गरेको थियो ।

राउण्ड अफ १६ मा भने इङ्ग्ल्याण्डले स्लोभाकियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो । क्वार्टरफाइनलमा भने इङ्ग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी शुट आउटमा ५–३ गोल अन्तरले हराएको थियो ।

उता स्पेनले भने राउण्ड अफ १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । क्वार्टरफाइनलमा भने स्पेनले जर्मनीलाई २–१ ले हराएको थियो । यो प्रतियोगितामा स्पेनमात्र त्यस्तो टोली हो, जसले सबै ६ खेलमा जित हासिल गरेको छ ।

स्पेनले यसअघि तीन पटक युरोकपको उपाधि जितिसकेको छ । स्पेनले सन् १९६४, सन् २००८ र सन् २०१२ मा युरोकपको उपाधि उचालेको थियो । त्यसबाहेक सन् १९८४ मा पनि स्पेनले युरोकपको फाइनल खेलेको थियो । त्यसबेला स्पेन फ्रान्ससँग २–० गोल अन्तरले पराजित भएको थियो ।

इङ्ग्ल्याण्डले भने हालसम्म एक पटक पनि युरोकपको उपाधि उचाल्न सकेको छैन । इङ्ग्ल्याण्डले एक पटक मात्रै युरोकपको फाइनल खेलेको छ । यसअघि आयोजित सन् २०२१ को युरोकपको फाइनलमा इङ्ग्ल्याण्ड पेनाल्टी शुटआउटमा इटालीसँग पराजित भएको थियो ।

इतिहास भने इङ्ग्ल्याण्डको पक्षमा देखिन्छ । इतिहासमा यी दुई टिम २७ पटक भिडेका छन् । जसमा स्पेनले १० पटक जित निकालेको छ भने ३ खेल बराबरीमा सकिएको छ । १४ खेल भने इङ्ग्ल्याण्डले जितेको छ । पछिल्लो पटक सन् २०१८ को अक्टोबर १५ मा युएफा नेसन्स लिगमा इङ्ग्ल्याण्डले स्पेनलाई ३–२ गोल अन्तरले हराएको थियो ।

तर, पछिल्ला १४ भेटमा भने इङ्ग्ल्याण्डले स्पेनविरुद्ध केबल ४ खेलमा जित हासिल गरेको छ । बाँकी १० मध्ये ७ खेलमा स्पेन विजयी भएको छ भने बाँकी तीन खेल बराबरीमा सकिएका छन् । त्यसअघि इङ्ग्ल्याण्डले स्पेनलाई लगातार ८ खेलमा पराजित गरेको थियो ।

युरोकपमा भने यी दुई टिमबीच दुई पटक भेट भएको छ । सन् १९८० को समूह चरणमा इङ्ग्ल्याण्डले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी, पछिल्लो पटक सन् १९९६ को युरोकप क्वार्टरफाइनलमा यी दुई टिमबीच भेट भएको थियो ।

त्यस खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि भएको पेनाल्टी शुटआउटमा इङ्ग्ल्याण्डले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

जर्मनी र इटालीजस्ता टिमलाई पराजित गर्दै फाइनलमा पुगेको स्पेन उच्च मनोबलका साथ मैदान उत्रिने तयारीमा छ । इङ्ग्ल्याण्ड पनि सन् १९६६ मा विश्वकपको उपाधि उचालेयता पहिलो पटक ठूलो प्रतियोगिता जित्न चाहन्छ ।

स्पेनी टिममा उनाइ सिमोन, ड्यानी कार्भाहल, रोबिन ले नार्माण्ड, फाबियान रुइज, पेड्री, ड्यानी ओल्मो, अल्भारो मोराटाजस्ता खेलाडी छन् । स्पेनी टिममा सबैको नजरमा चाहिँ १७ वर्षे लामिन यामाल रहनेछन्, जसले सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्दै युरोकपको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएका थिए ।

त्यसबाहेक निको विलियम्स र रोड्रीले पनि स्पेनी टिमबाट राम्रो प्रदर्शन गर्ने फुटबल फ्यानहरुको अपेक्षा छ ।

इङ्ग्लिश टिममा जोर्डन पिकफोर्ड, कायल वाकर, जोन स्टोन्स, ट्रेन्ट अलेक्जाण्डर अर्नोल्ड, मार्क गुही, बुकायो साका, फिल फोडेनजस्ता भरपर्दा खेलाडी छन् । इङ्ग्ल्याण्डको टिममा जुड बेलिङ्घम पनि रहेका छन्, जसले गत सिजन रियल मड्रिडमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यसबाहेक कोबी मानियो र ह्यारी केनले पनि इङ्ग्ल्याण्डलाई फाइनल जिताउन भूमिका खेल्ने अपेक्षा छ । धेरैले यो फाइनललाई यामाल र बेलिङ्घमबीचको भिडन्तका रुपमा पनि हेरेका छन् ।

स्पेनी किपर सिमोनले यो प्रतियोगिताका ५ खेलमा केबल तीन गोल खाएका छन् भने १२ सेभ गरेका छन् । इङ्ग्लिश किपर पिकफोर्डले ६ खेलमा ४ गोल खाएका छन् भने १४ सेभ गरेका छन् । यो प्रतियोगिताभर इङ्ग्ल्याण्डका केन र स्पेनका ओल्मोले समान तीन गोल हानेका छन् ।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले आफूहरुले उच्च आत्मविश्वासका फुटबल खेल्ने र टिमको मजबुत पक्षमा ध्यान दिने उल्लेख गरेका छन् । यद्यपि अझै पनि स्पेनी टिममा सुधारको खाँचो रहेको उनको भनाइ छ ।

उता इङ्ग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने टिमलाई फाइनलमा पु¥याउँदा आफू गौरवान्वित भएको बताएका छन् । उनले यस प्रतियोगितामा स्पेनी टिम उच्च लयमा रहेको उल्लेख गर्दै कठिन भएपनि स्पेनलाई फाइनलमा हराउने आफूहरुको चाहना रहेको बताएका छन् ।

युरोकपको उपाधि कुन टिमले जित्ला भन्ने आम फुटबल फ्यानलाई चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?