मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

उपियाँको टोकाइबाट हुने ‘स्क्रब टाइफस’ कस्तो रोग हो?

काठमाडौँ– वर्षायाम शुरु भएसँगै नेपालमा भारइरल रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । मौसम परिवर्तनसँगै भारइरल ज्वरो आउने सम्भावना हुन्छ ।

यस्तै काठमाडौँ लगायत नेपालभर नै डेङ्गीको पनि उत्तिकै जोखिम छ भने रुघाखोकी, हैजा, स्क्रब टाइफस लगायतको पनि भय हुन्छ । स्क्रब टाइफसको जोखिम बाह्रै महिना हुने भएपनि वर्षाको समयमा अझ बढी हुने गर्छ । यो उपियाँ अथवा किर्नाले टोकेर लाग्ने रोग हो । यो मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रब टाइफस कस्तो रोग हो यसका लक्षण र बच्ने उपायका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत डा. शेरबहादुर पुनसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

कस्तो रोग हो स्क्रब टाइफस ?

नेपालमा वर्षा सिजनमा देखापर्ने सरुवा रोगमध्ये एक हो, स्क्रब टाइफस । यो रोग उपियाँको टोकाइबाट मानिसमा सर्दछ । एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित जीवाणुले टोकेमा स्क्रब टाइफस रोग लाग्छ । यो जीवाणु झाडी, खेतबारी, वन जंगल, घर वरिपरि घाँस भएको ठाउँमा हुने गर्छ ।

मुसाले एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि ‘माइट’ जातको किर्ना घाँसपातमा झार्छ र उक्त घाँसपातमा काम गर्दा वा टेक्दा शरीरमा टाँसिएर टोक्दा सर्छ ।  स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो ।

विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ । समयमै उपचार नगरेमा मस्तिष्क, कलेजो, फोक्सो लगायतका अंगमा संक्रमण गराउँछ भने मल्टी अर्गान डिस्फंसनको अवस्था पनि सिर्जना हुन सक्छ ।

यो रोग लाग्दा के–कस्ता लक्षणहरु देखापर्छ ?

स्क्रब टाइफस संक्रमित व्यक्तिमा टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थि सुनिने लगायतका लक्षण देखिन्छ ।

यो रोगबाट बच्न कस्तो संयमता अपनाउनुपर्छ ?

स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको हुन्छ । तर समयमै उपचार नगरेमा यसले गम्भीर रुप लिएर मानिसको ज्यानैसमेत जान सक्छ । स्क्रब टाइफसबाट बच्न खाली खुट्टा खेतबारी वा जंगलमा जानु हुँदैन । खेतबारी वा जंगलमा जानै परेमा बुट लगाउने र शरीर पुरै ढाकिने गरी कपडा लगाउनुपर्छ ।

यसले गर्दा शरीरमा किर्ना प्रवेश गर्न पाउँदैन र त्यसको टोकाइबाट बच्न सकिन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । घर वरिपरि घाँसहरु बढ्न नदिने, वरिपरिको वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त ढंगले अन्नको भण्डारण गर्नुपर्दछ ।

कस्तो व्यक्तिहरुमा यो रोगको उच्च जोखिम हुन्छ ?

कृषिजन्य तथा खेतीपाती काम गर्ने मानिसमा यो रोगको उच्च जोखिम हुन्छ । घरभित्र र वरपरको वातावरण सफा राख्ने, वरपरका झाँडीहरु हटाएर पनि जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सीधै बस्ने या पल्टिने क्रममा यो परजिवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पन्जा लगाउनुपर्छ । समग्रमा भन्नुपर्दा गाउँघरमा खेती किसान गर्ने मानिसहरु यो रोगका शिकार हुन्छन् यद्यपि शहरका मानिसहरुमा यो रोग लाग्दै नलाग्ने भन्ने होइन ।

यो रोग कसरी सर्छ ?

‘स्क्रब टाइफस’ मानिसबाट मानिसमा सर्दैन । नेपालको ग्रामीण क्षेत्रमा गाई–भैँसी, बाख्रालगायत  घर पालुवा जनावर पालिन्छ । यी जनावरहरूमा उपियाँ हुन्छन् । ती उपियाँले मानिसलाई टोकेमा सङ्क्रमण हुने हो ।

के यो रोग वर्षायाममा लाग्ने रोग हो ?

स्क्रब टाइफसको जोखिम बाह्रै माहिना हुने भए पनि वर्षामासको सिजनमा बढी जोखिम हुन्छ । अरु सिजनमा घर पालुवा जनावरलाई चराउनका लागि गोठबाहिर लाने गरिन्छ तर वर्षायाममा गोठमै राखेर बाँधेर घाँस हालिने भएकाले पनि यो सिजनमा स्क्रब टाइफसको जोखिम बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?