काठमाडौँ– २० औं शताब्दीका प्रसिद्ध कलाकार जोन मिरो, जसले रङहरूमा मानवीय भाव र बिम्बहरुलाई केवल चित्र मात्र नभएर शब्द, सङ्गीत र कविताको आकार दिएका छन् ।
उनका चित्रहरुमा अमूर्त र सरियलस्टिक सौन्दर्यको जादु संयोजन भएको पाइन्छ । उनको कलामा आधुनिकताको झलक अझै विशेष मानिन्छ ।
उनको चित्रकलामा कोरिएका रेखा, जैविक आकार र रङको अभिनव प्रयोगले कला क्षेत्रमा अतियथार्थवाद शैलीमा ठूलो योगदान पुर्याएको पाइन्छ । नीलो, कालो, सुन्तला रङभित्र उनले आधुनिक संसारलाई जीवन्त रुपमा चित्रण गरेका छन् ।
बार्सिलोनाको बन्दरगाह शहर स्पेनमा सन् १८९३ मा जन्मेका क्याटलान कलाकार मिराले मूर्तिकला, चित्रकला, र सेरामिक कलामा आफ्नो कला छवि देखाएका छन् । उनका कलासिर्जनामा विशेषत समुद्री किनारको सौन्दर्य र शहरको परिवेश चित्रण भएका छन् । जुन उनको छुट्टै शैलीको रुपमा स्थापित छ ।
उनका बाबु घडी बनाउने काम गर्थे भने आमा सुनका गहना बनाउने काममा थिइन् । बाल्यकालदेखि बुवाआमाको कामलाई देख्दै आएका उनले यसैमा कला सिर्जना देखे । विशेषत आमाले गर्ने काममा सानैदेखि कलाका विभिन्न रूपहरूसँग उनी परिचित भए ।
उनका बुवा मिरोलाई आफ्नै जस्तै काममा लगाउन चाहन्थे तर मिरोले भने सानैदेखि चित्रकलातिर नै रुचि देखाए । आठ वर्षकै उमेरमा उनले चित्रकला सिर्जना गरेका थिए ।
उनले १९१४ मा सिर्जना गरेका किसान जस्ता वर्गका चित्रहरुले उनलाई चित्रकारका रुपमा स्थापित गरे । जुन चित्रहरु उनले आफ्नो जीवनको अन्तिम समयसम्म राखे ।
१९१८ मा मिरोले बार्सिलोनाको ‘डालमाउ ग्यालरी’मा आफ्नो पहिलो एकल प्रदर्शनी गरेका थिए । उनी शुरुवाती कला सिर्जनाहरुमा विश्व प्रशिद्ध कलाकारहरु भिन्सेन्ट भ्यान गग र पल सेजेनबाट प्रभावित भएको देखिन्छ ।
शुरुवाती समयमा वाणिज्य व्यवस्थापनसँगै आर्ट स्कूलमा समेत पुगेका उनी १९११ बाट भने आफ्नो सम्पूर्ण जीवन चित्रकलामा नै समर्पित गरे । किशोरावस्थामै टाइफाइड रोगसँगको गम्भीर लडाइँपछि उनले नयाँ जीवन पाए र त्यसपछि कलातिरै पूरै समय दिए ।
उनको कला सिर्जनामा अर्का विश्व प्रशिद्ध कलाकार पाब्लो पिकासोको उत्प्रेरणा समेत थियो भनेर ‘मिरोज होमएज टु पिसाको’ शीर्षक लेखमा एरिन हलेले लेखेकी छिन् । लेख अनुसार दुवै जना स्पेनी मूलका कलाकार मात्र नभएर मिरोकी आमा र पिकासोकी आमा साथीहरू थिए ।
मिरो २७ वर्षको हुँदा उनले पिकासोलाई भेटेका थिए । त्यसपछि उनको कला यात्रा झनै फैलियो । पिकासोले उनलाई कला सिर्जनामा उत्प्रेरणासँगै कला व्यापारीहरू र कला समुदायमा परिचित गराए । त्यसकारण मिरोले सन् १९६६ तिर पिकासोकै लागि महिला, चरा, तारा जस्ता संसारलाई चित्रमा उतारे ।
सन् १९७३ मा पिकासोको मृत्युपछि ती उनका चित्रहरु मार्फत नै उनले श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि मात्र पिकासो उनका लागि प्रेरणा दिने व्यक्तित्व र सल्लाहकार समेत रहेको आम मानिसले थाहा पाए ।
मिरोका सिर्जनाहरुमा महिला, चराहरू र ताराहरू सहित प्रतीकहरू प्रतिबिम्वित भएका छन् । उनी भन्ने गर्थे, ‘मेरो लागि रूप कहिल्यै अमूर्त कुरा होइनन् । यो सधैं केही कुराको संकेत हो । यो सधैं एक मानिस, एक चरा, वा अरू केही भएर आए ।’
उनले ल्याण्डस्केप शैलीका चित्रमा समेत समकालीन समय र बिम्बलाई नै उतारे ।
कलायात्रामा उत्तराद्र्ध जीवनमा उनले भविष्यको लागि कला बनाउँदै छन् भन्ने कुरामा दृढ भए । उनी भन्ने गर्थे, ‘यदि मैले काम गरिरहेँ भने, यो २००० सालको लागि हो र भोलिका आम जनताको लागि हुन् । उनको अर्थमा भोलिका मानिसहरू भन्नु नै आजका नयाँ पुस्ताहरु हुन् ।
उनले उमरको सत्तरी र असीको दशकमा समेत चित्र र मूर्तिकलाहरू सिर्जना गरे । उनको जीवनी कथालाई हेर्दा ८२ वर्षको उमेरमा उनले औंलाले चित्र बनाउन थालेका थिए । उनले आफ्नो जीवनकालमा दुई हजार चित्रकला, पाँच सय मूर्तिकला, चार सय सेरामिक कला, पाँच हजार रेखाचित्र र एक हजार लिथोग्राफ सिर्जना गरे ।
उनको ९० वर्षको उमेरमा २५ डिसेम्बर १९८३ मा स्पेनको पाल्मा डेमालोर्कामा निधन भएको थियो । अहिले उनका कलाकृतिहरु अमेरिकाको सिकागोस्थित कला संस्थान, न्यूयोर्कको आधुनिक कला संग्रहालय, लन्डनको टेट ग्यालेरी र बार्सिलोनाको फन्डेसियो जोन मिरो संग्रहालयमा राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया