काठमाडौँ – शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार बिहानै देखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र वाटर ड्रोन क्यामरा प्रयोग गरिएको हो ।
टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउने जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ ।
साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । प्रहरीका अनुसार वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमान गर्न सकिने बाहेक खोजीमा अन्य कुनै घटनाक्रम विकास भएको छैन ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया