काठमाडौँ – आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती मनाइँदै छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ।
उनले नेपाली भाषाका लागि दिएको यही योगदानका आधारमा उनलाई आदिकवि भनिन्छ । यसै अवसरमा उनको सम्झनामा शनिबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिँदै छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।
उनका ‘वधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ प्रसिद्ध कृति हुन। त्यसबाहेक अन्य धेरै फुटकर रचनालगायत कृति नेपाली साहित्यलाई दिएका उनकाबारे त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्।
भानु जयन्तीको अवसरमा शनिबार बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया