मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कास्की पहिरोः कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले दिएका थिए सल्लाह

जोयनेपाल
221
Shares
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गएराति अविरल वर्षापछिको पहिरोमा पुरिएको कुलबहादुर परियारको घर । सो पहिरोमा परी कुलबहादुर सहित उनका परिवारका छ जना र छिमेकी एक गरी सात जनाको मृत्यु भएको छ । तस्बिर : कृष्ण दवाडी/रासस

कास्की – कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले  बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन् ,‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’  

सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न  देवरको घर गएकी थिइन् । साँझ छोरीज्वाईँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर गइन् ।

सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बसेकी थिइन् । अन्य सबै जना घरमा एउटै कोठामा थिए । राति  १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उनी र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै थिए । भूकम्प जस्तो भयो । दुवैजना डरले कोठाबाट बाहिर निस्किए ।

राधिका डरले पल्लोघरतिर भागिन् । श्रीमान् सूवर्ण भाइको परिवारलाई बचाउँछु भनेर जाँदा टिनले छाएको ढुङ्गा माटोले बनेको एकतले घर पहिरोले पुरिसकेकेको थियो ।

पहिरोले कुलबहादुर सहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुरेको थिए । पहिरोमा परेर उद्धारका लागि पुगेका छिमेकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल भयो । पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । घरमाथि अघिल्लो दिननै सानो पहिरो खसेको थियो । जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरेपनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए ।

“अस्ति सानो पहिरो खसेको थियो । अब तल आउँदैन होला भन्ने भयो । आयो भने भाग्ने भनेर बसेका पनि थियौँ ।” राधिकाले भनिन् उनकाअनुसार कुलबहादुरका ज्वाईँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न गएका थिए । माथि सामान्य रहेकाले चिन्ता नगर्न ज्वाईले भनेपछि उनी आफ्नो घर फर्किएको थियो । “माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ । पहिरो आउदैन भन्नुभयो । तर मैले लापरबाही गर्नुहुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै गुर्र घरमाथि पहिरो खस्यो ।” उनले भनिन् । कुलबहादुरलाई पहिराको त्रास भएपनि घरमा पाहुना आएकाले घर छाड्न नमानेको उनले बताइन् । 

पहिरोले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ । अर्को कोठामा बसेकाले उनी पहिरोबाट जोगिएकी हुन् । राधिकाको सुत्ने कोठा पहिरोले पुरिएको हो । गएराति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताइन् । पहिरोबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उनी विक्षिप्त छिन् । “जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली । कसरी खबर गर्नु, कस्तो दिन भोग्नु पर्यौँ ।”राधिकाले आँखाबाट आँसु झार्दै भनिन् ।

स्थानीयका अनुसार कुलबहादुरलाई पहिरोको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो । छिमेकीहरूले वैकल्पिक व्यवस्था गर्न भनेका थिए ।  अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छाडेन । पहिरोको त्रासमा भने बसेको थियो ।

पोखरा–१९ का वडा सदस्य विकास आचार्यले बिहीबार साँझ बजेतिर कुलबहादुरलाई खाना घरमै खाएपनि बास नबस्न आग्रह गरेको बताए । उनले भने,“पानी परिरहेको छ, पहिरोको जोखिम छ आजलाई खाना पकाएर खाएपनि रात नबस्नु हामी अर्को व्यवस्था गछौँ भनेर निस्केको थिएँ, त्यसै गर्नुपर्ला भनेको पनि थियो । राति ठूलो आवाज सुनेर बाहिर निस्कँदा अरूलाई पहिरोले पुरिसकेको रहेछ । छोरालाई मात्र जोगाउन सफल भयौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?