मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक समीक्षा

नाटक ‘पूर्णविराम’: कसको अधीनमा छ ब्रम्हाण्डको आयु ?

काठमाडौँ– पछिल्लो समय मानिसको अनियिन्त्रित गतिविधिकै कारण पृथ्वीको सन्तुलित प्रणाली खलबलिने सँघारमा पुगेको छ । दिनानुदिन बढ्दै गइरहेको तापक्रम वृद्धिले पृथ्वी नै सङ्कटोन्मुख छ भनेर विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

यस्तो अवस्थामा मानव समुदायको भविष्य कतातिर जान्छ भन्ने अन्यौलता छ । यही अन्यौलतालाई चिर्न यतिबेला नाटक ‘पूर्णविराम’ आएको छ । नाटकले आम मानिसलाई प्रश्न गरेको छ, ‘आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ?

फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ? कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधीनमा छ, ब्रम्हाण्डको आयु ?’

कालिकास्थानस्थित सर्वनाम थिएटरमा असार १७ गतेदेखि मञ्चन भएको नाटकमा प्रकृति र पर्यावरणको बढ्दो विनाशले भविष्यमा आइपर्ने संकटप्रति समकालीन मानव जगतलाई सतर्क गराएको छ । मानिसका तीव्र आकाङ्क्षाहरु र प्रविधिको उच्चत्तम प्रयोगले प्रकृतिको प्राकृतिक लयलाई कसरी क्षयीकरण तर्फ धकेलिरहेको छ भन्ने देखाउँदै नाटकले मानिसको अस्तित्वमाथि आइपर्ने संकटलाई सूक्ष्म रुपमा नियाल्ने जमर्को गरेको छ ।

शहर र गाउँ कंक्रिटका संचरनाहरुमा बदलिँदै छन् । प्रकृतिलाई जोगाउने भन्दा यसको अधिकत्तम प्रयोगमा मानव समुदाय लागिरहेका छन् । आज रुखभन्दा घर जस्ता भौतिक संरचनाको संख्या थप्ने कुरामा मानव समुदायबिच होडबाजी छ ।

‘पर्यावरण र जलवायु प्रणाली विपरीत मानव समुदाय अगाडि बढिरहेका छन् । यो प्रक्रिया कहिलेसम्म अगाडि जान्छ ? पृथ्वीमा बहने हावा, उत्पादन हुने पानी, अन्न उब्जनी हुने माटो र पृथ्वीलाई छानो बनेर बसेको यो ब्रम्हाण्डले कहिलेसम्म मानव क्रियाकलापलाई सहन गर्लान् ?’ नाटकले मानव माथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।

नाटकको शुरुवाती दृश्यमै सुनसान मरुभूमि र घाटजस्तो स्थानमा एकजना वृद्ध मानिसको निकै दर्दनाक शब्दहरु सुनिन्छ । जंजर र सुख्खा बालुवामा वृद्ध मानिसको अलवा मानव कंकालहरु वरीपरी देखिन्छन् । त्यहीबेला पृथ्वीमा संकटग्रस्त अवस्था सिर्जना भएपछि जीवित रहन सफल पाँच मानवहरु अक्सिजनसहित पानीको खोजीमा त्यही आइपुग्छन् ।

उच्चतम प्रविधिबाट निर्मित मेसिनले ती मानिसहरुले उक्त स्थानमा पानी रहेको पत्ता लगाउँछन् । तर वृद्ध मानिसले पानी निकाल्न दिँदैनन् । ती वृद्ध मानिस र पाँच मानवहरुको अवस्था कसरी त्यो स्थितिसम्म पुग्यो भन्ने फ्ल्यासब्याकको कथालाई केलाउँदै नाटक ‘पूर्णविराम’का दृश्यहरु अगाडि बढ्छन् ।

नाटकले वृद्ध मानिस र पाँच मानवहरुको सम्बन्धमा दुई पुस्तालाई इंगित गरेको देखिन्छ । अघिल्लो पुस्तामा पृथ्वीमा संकट आइपरेपछि वृद्ध मानिस एकजनाको अस्तित्व रहन्छ भने पछिल्लो पुस्तामा पाँच मानवहरु मात्र रहन्छन् । मानिसको अनियन्त्रिक क्रियाकलापकै कारण ती वृद्ध र पाँच मानवहरुले बाँच्नलाई गरेको सङ्घर्षका नालीबेली नै नाटकमा छन् ।

ती मानिसहरुले अक्सिजनकै लागि एउटा बिरुवा पाउन गरेको सङ्घर्ष होस् या एक मुठी सासमा जीवन अड्काइरहेकाहरुलाई नाटकमा निकै दर्दनाक रुपमा प्रस्तुत गरिएको छ ।

मानिसको बुद्धि र विवेकले संसारलाई चकित त पारे, तर आफैं रहने पृथ्वीको आयुप्रति मानव जगतको ध्यान किन पुगेन ? आम मानिसलाई नाटक ‘पूर्णविराम’ नाटककै दृश्य भन्दा पनि ठाडो प्रश्न हो । आधुनिक मानव जगत रोवटिक दुनियाँमा सयर गरिरहेका छन् ।

रोवटैमा मानव मस्तिष्क राखेर कृत्रिम दुनियाँका लागि मानिस सफल भएका छन् । यो पृथ्वी र ब्रम्हाण्डको अस्तित्व नभएपछि मानिसका यी उन्नतिहरुको अस्तित्व कता रहला त ? नाटकमा उच्च तामक्रमले मानिसहरु एक पछि ढलिरहेका छन्, अक्सिजनको खोजीमा मानिसहरुको भागदौड छ ।

यही भागडौडमा पनि राजनीति, शक्ति र पहुँचवालाहरुको हैकमवाद हाबी छ । अन्त्यमा शक्ति, पहुँच र पैसा यी सबै मानिसका लागि बेर्थ बनिदिन्छन् । 

नाटकमा ठ्याक्कै संकटको समय तोकिएको छैन, तर दृश्यमा देखाइए जस्तै मानव माथि आइपर्ने संकटको घण्टी बजिसकेको कुरा भने हामीले थोरबहुत महसूस गरिसकेका छौं । यसकारण नाटक भविष्यमा आइपर्ने संकटपूर्ण अवस्थाका लागि चेतावनी र वर्तमानकालीन मानिसका क्रियाकलापहरुमाथि व्यङ्ग्य पनि हो ।

नाटकको शुरुवाती दृश्य र मञ्चिय दृश्य नै जीवन्त छ । उक्त दृश्यका लागि प्रयुक्त संवाद, प्रप्स, प्रकाश, कस्ट्युम, अभिनयले नै दर्शकले नाटकको सारबारे पत्तो पाउँछन् ।

नाटक जब फ्ल्यासब्यामा जान्छ, तब मानवमा आइपर्ने संकटपूर्ण अवस्थालाई देखाउन केही हतारो गरिएको हो कि भन्ने भान हुन्छ । प्रकृति विनाशको प्रक्रियालाई समकालीन समयलाई छोड्दै एक्कासी नाटक समस्याको केन्द्रतिर नै अगाडि बढेको छ ।

समस्यालाई उच्च विन्दुमा पुर्‍याउँदै गर्दा त्यसमा दोषी राजनीतिक शक्तिलाई देखाउन भने नाटक सफल देखिएको छ । नाटकमा राजनीतिक पात्रका रुपमा जगुका बुवा हरिवन नगरपालिका मेयर धनराजलाई देखाइए पनि उक्त पात्रले राजनीतिक शक्तिलाई प्रतिनिधित्व गरेको छ ।

वृद्ध मानिस ८५ वर्षिय जगत राजले दर्शकदीर्घातिर औंल्याउँदै पटक पटक भनिरहन्छ, ‘यी सबै मेरा आफन्तका चिहानहरु हुन् ।’ फेरि उनी भन्छन्, ‘पृथ्वी सकिनुमा तिमीहरु एक–एक जिम्मेवार छौ ।’ उनले यसो भनिरहँदा आम दर्शकमा पृथ्वी र पर्यावरण बिगार्नु र सपार्नुमा स्वयं आफैं पनि कति जिम्मेवार छौं भन्ने हुन्छ । ‘यी शब्दहरु कतै मलाई नै इंगित गरेर त भनेको होइन’ भन्न भाव प्रत्येक दर्शकलाई हुन सक्छ ।

साथै नाटकका दृश्यहरुमा जसरी पात्रहरुलाई सास फेर्न गाह्रो भइरहेको छ, उनीहरु जीवन जिउनै लागि जसरी भौतारिरहेका छन्, त्यसमा भइरहेको छटपटीले यता दर्शकदीर्घामा समेत कठिनताको महसूस गराउँछ । यसलाई दर्शकमा प्रभाव छोडेकै हिसाबमा नाटकको सबल पक्षका रुपमा लिन सकिन्छ ।

यद्यपि मानसिक पक्षमा हेर्ने हो भने केही अप्ठ्यारो भने महसूस गराउँछ । संकटको पक्षलाई द्वन्द्व भन्दा पनि केही बिम्वात्मक लयमा ढाल्दा पनि नाटकको सारमा अझै सिर्जनात्मक सौन्दर्य थपिन्थ्यो । नाटकमा पृथ्वीको संकट मानवमाथि परेको अवस्थालाई मञ्चको संरचना र प्रयुक्त प्रकाशले निकै गहन भूमिका खेलेको छ ।

पृथ्वीको समकालीन मानवदेखि प्रविधिको रोवटिक दुनियाँको झलक दिने मानव, संवाद, हाउभाउ, कस्ट्युममा समेत नाटकमा ध्यान दिइएको छ । समग्रमा हेर्दा कलाकारहरुको अभिनयमा खोटै लगाउनु पर्ने ठाउँ देखिँदैनन् । नाटककार सुरज पराजुलीले मानव सभ्यता अन्त्य हुन सक्ने संकेतलाई नाटककै रुपमा पूर्णविराम गरिदिएका छन् ।

नाटकको शीर्षकमाथि अझै खेल्न सकिन्थ्यो भन्ने भान हुन्छ । नाटकका परिकल्पनाकार तथा निर्देशक आरुष मगरले पहिलो प्रयासमै आफ्नो गज्जबको निर्देशन क्षमता प्रदर्शन गरेका छन् । 

असार २९ गतेसम्म मञ्चन हुने नाटकमा प्रकाश परिकल्पना कृष्ण खड्का र परिचालन जीवन भट्ट र धिरज थापामगरले गरेका छन् । त्यस्तै ध्वनीमा धिरजसँगै आभाष भेटवाल छन् । भेषभुषामा शीतल थोकर र मञ्च निर्माणमा बिल बहादुर राई, वाई यस पौडेल र जीवन छन् ।

मञ्चमा:

रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियार   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?