मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अविरल वर्षाले निम्त्याएको विपद्: देशभर कति क्षति पुग्यो?

काठमाडौँ– करीब एक साता अघिदेखि परेको अविरल वर्षाका कारण देशभरका अधिकांश क्षेत्रमा बाढी पहिरोलगायत प्राकृतिक प्रकोप बढ्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारसम्म पनि मुलुकको अधिकांश स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

गत शुक्रबारदेखि परेको पानी केही दिनको लागि रोकिए पनि पुन बिहिबारदेखि सक्रिय भएको विभागले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनका अनुसार भोलिसम्म विभिन्न प्रदेशको करिब १० वटा खोला नदीमा पानीको बहाव बढ्ने र सचेत रहनसमेत अनुरोध गरेको छ ।

सो बुलेटिनका अनुसार कोशी प्रदेशको सप्तकोशी, तमोर, त्रिवेणी, अरुण, सिम्ले, दूधकोशी, तामाकोशी र सुनकोशीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएको छ । यसैसगरी नारायणीको नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक खोला नदीहरुमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने अनुमान गरिएको छ ।

आज मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका साना तथा ठूला नदीहरुमा पानीको बहाव बढेर एक्कासी बाढी हुन सक्ने पूर्वानुमान शाखाले जनाएको छ । यस्तै गरी शनिबार देशभरका अधिकांश ससाना नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । भोलिसम्म अधिकांश क्षेत्रमा अविरल वर्षाको सम्भावनासँगै बाढी पहिरो तथा डुबान हुन सक्ने भएकोले सर्तकता अपनाउनका लागि मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

गत शुक्रबारदेखिको वर्षाले विस्थापित भएको बाढी पहिरो पीडित आफ्नो घरमा फर्कन नपाउँदै बिहिबारदेखि फेरी वर्षा हुन थालेको छ । यसले गर्दा थप प्रभावहित हुने छन् ।

बाढी पहिरोको अपडेट

पोखरामा पहिरोबाट एक परिवारको ११ को मृत्यु

लगातार आएको वर्षाबाट आएको पहिरोबाटा पोखरा महानगरपालिकाको वडा नम्बर १९ को एकै परिवारको ७ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोबाट कुलबहादुर परियारको घर पुरिएको हो । पहिरोबाट घर पुरिदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखराकै चैनपुरमा थप तीन जनाको मृत्यु भएको छ । यसैगरी पहिरोबाट मादी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । पहिरोमा परेका व्यक्तिको उद्धार कार्य भइरहेको छ ।

पहिरोसँगै आएको ढुंगाले लागेर चालकको मृत्यु

चितवनको नारायणगढ–मुग्लिन सडकमा पहिरासँगै खसेको ढुंगाले लागेर बस चालक मेगनाथ विकको मृत्यु भएको छ । आज बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरोबाट बसमा खसेर उनको मृत्यु भएको हो ।

लेदो माटोसहित आएको पहिरोले दुई बस बगायो

चितवनको नारायणगढ मुग्लिन खण्डमा लेदो पानीसहित आएको पहिरोबाट दुई बस बगाएको छ । शुक्रबार बिहान साढे तीन बजेतिर आएको पहिरोले वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसलाई भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा लेदो माटोसहित आएको पहिरोले बगाएको हो ।

सो बसमा करिब ६५ जना यात्रु रहेको जनाइएको छ । पहिरोले बगाएको बसलाई सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तलास तथा उद्धार गर्दै आएको छ ।

पहिरोबाट पृथ्वी राजमार्ग अवरुद्ध

बिहीबार रातिदेखि परेको वर्षाले तनहुँको विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरोबाट बन्दीपुर गाउँपालिका वडा नम्बर ५, ब्यास नगरपालिका वडा नम्बर १२, म्याग्दे गाउँपालिका वडा नम्बर ६ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सिमलटारका ४० घर डुबानमा

वर्षाका कारण व्यास नगरपालिका ४ को ४० घर डुबानमा परेका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बुल्दीखोलामा आएको बाढी बस्तीमा पस्दा तल्लो सिमलटारका ४० घर डुबानमा परेका हुन् ।

बाढीले मानवीय क्षति नभए पनि आर्थिक क्षति भएको जनाइएको छ । घरको तल्लो तल्लामा रहेको सामग्रीहरु डुबानमा परेको छ ।

१३२ सडक प्रभावित

गत सातायता परेको वर्षाका कारण देशभरका करिब १३२ सडक खण्ड अवरुद्ध भएका छन् । सडक विभागको तथ्यांक अनुसार बिहीबारसम्म बाढी पहिरोले सडक अवरुद्ध भएको हो ।

अवरुद्ध भएका सडकमध्ये १३ सडक खण्ड पूर्ण रुपमा र ११ ९ वटा सडकखण्ड एकतर्फी रुपमा सञ्चालन हुँदै आएका छन् । बाढी पहिरोबाट बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल, विराटनगर–इटहरी–धरान, तानसेन–रिडी–कोरालगायतको राजमार्गहरु अवरुद्ध भएको विभागले जनाएको छ ।

अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको अनुरोध

बिहीबारदेखि परेको अविरल वर्षाले मुलुकभरका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढेकाले अत्यावश्यकबाहेकको यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । बाढी पहिरोले सडक ठाउँ ठाउँमा भाँसिएको, भत्किएको र अवरुद्ध भएका जनाइएको छ ।

शनिबारसम्म भारी वर्षा हुन सक्ने भएकाले सडक थप अवरुद्ध हुन सक्ने प्रहरीले जनाएको छ । यात्रा गर्नुपरेमा सडक सुरक्षासम्बन्धी जानकारी लिएर मात्रै गर्न अनुरोध गरेको छ ।

साथै यात्राको समयमा कुनै समस्या भएमा ट्राफिक प्रहरीको १०३, नेपाल प्रहरीको १००, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासोको ११ १३ मा सम्पर्क गनसमेत प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?