मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक

परितोशिकाको डेब्यु नाटक ‘राधा’: महिला सशक्तिकरण र साहसको कथा

काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा मङ्गलवार दुई शो मात्र मञ्चन गरिएको नाटक ‘राधा’मा परितोशिका पन्त एक विवाहित महिलाको भूमिकामा देखिइन् । नाटकमा उनी भर्खरै सुत्केरी बनेकी महिलाको भूमिका निर्वाह गरेकी थिइन् ।

यसअघि उनले गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘धेरै माया नदेऊ मलाई’ बोलको गीतमा अभिनय गरेकी थिइन् । नाताले अञ्जु पन्त र परितोशिका आमाछोरी हुन् ।

अभिनेता कुन्साङ बोम्जनकी जोडीकी रुपमा देखिएकी उनको त्यो डेब्यु अभिनय थियो । हालै मण्डलामा ‘ल्याब चौध’की विद्यार्थीकी रुपमा नाटक सिकिरहेकी परिताेशिकाको ‘राधा’ भने डेब्यु नाटक हो । डेब्यु नाटकमै उनले मुख्य पात्र राधाको भूमिका निभाउने मौका पाइन् ।

सामाजिक परिवेशमा आधारित रहेको नाटकमा विवाह सम्बन्धपछि महिलाले निभाउनुपर्ने भूमिकासँगै उनको साहसको कथा प्रस्तुत गरिएको छ । जसमा एउटी महिला कसैकी छोरी, बुहारी, श्रीमती, आमा मात्र नभएर आफू भएर अस्तित्वको लडाइँ लड्नुपर्छ भन्ने पात्रका रुपमा उनी छिन् ।

पतिपत्नीको सम्बन्धमा दरार आएपछि राधाजस्तै महिलाहरुलाई समाजले हेय दृष्टिमा हेरिन्छ । वैवाहिक सम्बन्ध टुट्नुमा पुरुषको भन्दा पनि महिलाकै कमजोरी र गल्तिहरु केलाइन्छ र झन कमजोर बनाइने परिपाटी छ ।

श्रीमानले छोडेर गएपनि महिलाहरुले घर र समाजको इज्जत, प्रतिष्ठाका लागि आफ्ना सपनाहरु त्यागेर बाँचिदिनुपर्छ भन्ने समाजले नै राधाहरुलाई उठ्न दिएको छैन । राधाकी आमा दुर्गा त्यही भूमरीमा पिल्सिएकी छिन् । दुई छोरीहरु सीता र राधासहित उनलाई छोडेर श्रीमान् लापत्ता हुन्छन्, तर उनी समाजकै लागि छोरीहरु हुर्काएर उभिरहन्छिन् ।

त्यही दुःख छोरीहरुमा नआओस् भन्ने चाहने दुर्गाले छोरीको पनि त्यही विरह देख्छिन् । सकेसम्म छोरीको घरवार बसाउन उनले ठूलो जमर्को गरेकी हुन्छिन् । उनकी छोरी राधा जसलाई गर्भवती अवस्थामै श्रीमान् केशवले छोडेर जान्छन् र दोस्रो विवाह गर्छन् । उनी सुत्केरी अवस्थामै माइतीमै हुन्छिन् ।

छोरा सुप्रिम र अर्को भर्खरै जन्मिएको काखे शिशुको जिम्मेवारी उनीमाथि आइपर्छ । घरपरिवारले नस्वीकारेकै कारण राधालाई छोडेर अर्की विवाह गरेका केशवले दुई छोरालाई लालनपालनमा सघाउने बताउँछन् ।

तर, उनीसँग बस्न नसक्ने बताएपछि विरक्तिएकी राधा आमा दुर्गाको जीवन सङ्घर्षलाई हेरेर पुनः आफैं उभिन्छिन् । महिलाको आत्मबलका लागि पहिला आर्थिक रुपमा सबल बन्नुपर्छ भन्ने पक्षलाई नाटकले जोड दिँदै राधाले रोजेको नयाँ बाटोलाई नाटककै अन्तिम दृश्यमा देख्न सकिन्छ ।

अन्त्यमा पतिविना पनि महिलाहरु सक्षम, सबल र आफ्नो लागि आफैं उठ्नुपर्छ भन्ने सन्देश नाटकले दिएको छ । राधालाई सुत्केरी अवस्थाकै दृश्यबाट थालनी गरिएको नाटकमा उनी आफैं बलियो भएर उभिएको दृश्यसँगै नाटकको बिट मारिएको छ ।

यसमा उनको प्रेम, वैवाहिक जीवन र सङ्घर्षका लामा कथाहरु नाटकमा समेटिएका छैनन् । यद्यपि नाटकमा महिला सशक्तिकरण र साहसलाई जोड दिइएको छ ।

नाटकमा परितोषिकाको डेब्यु अभिनय भएपनि उनले आफ्नो भूमिका निकै सुन्दर ढङ्गले निर्वाह गरेकी छिन् । सुत्केरी अवस्थामा देखाइएको उनको अभिनय होस् र शारीरिक लचकताले दर्शकको मन तान्न सक्छ । श्रीमान् र आमासँगको टकरावमा पनि उनको अभिनय, संवाद र मुहार अभिव्यक्तिमा परिपक्कता देखिएको छ ।

आमा दुर्गाको भूमिका देखिएकी कलाकार सर्जिका मिजारको अभिनय पनि उत्तिकै परिपक्कता देखिन्छ । दिदी सीता, तारा, पण्डितको भूमिकामा देखिएका कलाकारले पनि आफ्नो तहबाट राम्रो अभिनय कला देखाएका छन् ।

नाटकमा मण्डला ड्रामा स्कूल दोस्रो ब्याच र ‘ल्याब चौध’का विद्यार्थीको समन्वय थियो । मण्डलामा एक वर्षसम्म अध्ययन गरेका विद्यार्थीहरुले पढेका र सिकेका ज्ञानलाई व्यवहारिक रुपमा ल्याउन फाइनल प्रोडक्सन स्वरुप ‘ल्याब चौध’का विद्यार्थीसँगको सहकार्यमा नाटक मञ्चन गरिएको हो ।

नाटक ‘राधा’ले उठान गर्न खोजेको विषय आफैंमा गहन र विशेष छ । यसलाई अझै गम्भीर रुपमा मञ्चमा पस्कन सकिन्छ । यसमा मञ्च व्यवस्थापन, पात्र छनोट, प्रयुक्त प्रप्स, प्रकाश, संवाद, कस्ट्युमहरु जस्ता पक्षमा अझै खेल्न सकिने ठाउँहरु छन् । खैर अभ्यासकै रुपमा विद्यार्थीहरुको प्रोडक्सनलाई दर्शकले चित्त बुझाइदिन सक्छन् । नाटकमा प्रयुक्त कलाकार ‘र’को गीतसङ्गीतलाई भने हाम दर्शकले मनमा राख्न सक्छन् । प्रयुक्त कविताहरु पनि उत्तिकै मिठा छन् ।

सुमित्रा बोगटीको लेखन रहेको नाटकको निर्देशन तुलसी परियारले गरेकी हुन् । नाटकको उत्पादन प्रबन्धकको रुपमा आरति गौतम छिन् । उनैले ध्वनी र मञ्च व्यवस्थापनमा गरेकी थिइन् भने प्रकाशमा पुकार चापागाईं थिए ।

मञ्चमा:

आर्जु खरेल, अजय कार्की, हेमन्त खड्का, कृतिका बस्नेत, मिशेल घिमिरे, नविन शाही, परितोशिका पन्त, प्रेमा गुरुङ, सर्जिका मिजार, उदित थापा, युगल श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?