काठमाडौं– अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा कोलम्बिया र अर्जेन्टिना भिड्ने भएका छन् । पछिल्लो खेलमा उरुग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।
त्यसअघि साबिक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा क्यानाडालाई २–० गोल अन्तरले पराजित गरेको थियो । अब क्यानाडा र उरुग्वेले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल नर्थ क्यारोलाइनाको सार्लटमा रहेको बैंक अफ अमेरिका स्टेडियममा आगामी आइतबार सबेरै पौने ६ बजे शुरु हुनेछ ।
कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र कोलम्बियाबीच भेट भएको यो पहिलो अवसर हो । कोलम्बिया सन् २००१ यता कोपा अमेरिकाको फाइनल पुगेको छैन । त्यसबेला मेक्सिकोलाई पराजित गर्दै कोलम्बियाले कोपा अमेरिकाको उपाधि नै जितेको थियो । पछिल्लो समय अर्जेन्टिना उच्च फर्ममा छ ।
अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिका र सन् २०२२ को फिफा विश्वकपको उपाधि नै जितेको छ । पक्कै पनि अर्जेन्टाइन टिमका मुख्य आकर्षण लेजेण्ड लियोनल मेसी नै हुन् । तर, अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले पनि यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
इङलिश क्लब एस्टन भिलाबाट व्यवसायिक फुटबल खेल्दै आएका गोलकिपर मार्टिनेजले यो प्रतियोगिताभर केबल एक गोल खाएका छन् । क्वार्टरफाइनलमा इक्वेडोरविरुद्ध पेनाल्टी शुट आउटमा पनि उनले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाएका थिए ।
अर्जेन्टाइन टिममा मेसी र मार्टिनेजसहित निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, मार्कोस अकुन्या, अलेक्सिस म्याक अलेस्टर, रोड्रिगो डिपोल, एङ्गल डिमारिया, अलेजान्ड्रो ग्रनाचो, लौटारो माट्रिनेज, हुलियन अल्भारेजजस्ता दिग्गज खेलाडी सामेल छन् ।
उता कोलम्बियाको टिम पनि कम बलियो भने छैन । कोलम्बिया पछिल्ला २८ खेलमा पराजित भएको छैन । समूह चरणमा कोलम्बियाले पाराग्वे र कोस्टा रिकालाई पराजित गरेको थियो भने ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको थियो । क्वार्टरफाइनलमा भने कोलम्बियाले पानामालाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।
प्रशिक्षक नेस्तर लोरेन्जोको व्यवस्थापनमा कोलम्बियन टिम उच्च लयमा छ । यो प्रतियोगिताभर कोलम्बियाले केबल २ गोल खाएको छ । लेजेण्ड जेम्स रोड्रिग्वेजको उपस्थितीले कोलम्बियालाई थप प्रेरणा दिएको छ । कोलम्बियन टिममा क्यामिलो भार्गासले गोलरक्षणमा सशक्त भूमिका निभाउँदै आएका छन् ।
कोलम्बियन टिममा रोड्रिग्वेज र भार्गाससहित डानियल मुन्योज, यारी मिना, जोहान मोहिका, जेफरसन लेर्मा, रिचर्ड रियोस, जोर्गे कारास्काल, यासेर एस्प्रिल्ला, जोन आरियास, जोन डुरान, जोन कोर्दोबाजस्ता खेलाडी सम्मिलित छन् ।
फाइनलमा उच्च लयमा रहेका दक्षिण अमेरिकाका दुई उत्कृष्ट टिमको भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ । फाइनल खेल सोमबार पौने ६ बजे फ्लोरिडाको मायमीमा रहेको हार्ड रक रंगशालामा आयोजना हुनेछ । यो प्रतियोगिताको उपाधि कुन टिमले उचाल्छ भन्ने आम फुटबल प्रसंशकमाझ निकै चासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया