काठमाडौँ– गत शुक्रबारदेखि आएको अविरल वर्षाका कारण मुलुकभरका अधिकांश स्थानमा प्राकृतिक प्रकोप बढेको छ । लगातार लामो समय पानी परेपछि काठमाडौँका खोला तथा नदी क्षेत्र मात्रै नभई तराईका बस्तीहरु समेत डुबानमा परेका छन् ।
डुबानकै कारण सोमवार कञ्चनपुरमा एक शिशुको ज्यान गयो । साथै एक जना युवक बेपत्ता भए । कञ्चनपुरमा आइतवारदेखि परेको पानीले सोमवार एक हजार आठ सय भन्दा बढी घर डुबानमा परेका थिए । लगातार वर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेपछि शारदा ब्यारेजका २४ वटै ढोका खोलिए ।
यसका साथै पहाडी क्षेत्रका बाढी पहिरो बढेको छ । लगातार परेको पानीको कारण लामो दूरीका राजमार्गहरु अवरुद्ध भएका छन् । अवरुद्ध भएका केही सडकहरु नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरी र स्थानीयको सक्रियता सञ्चालनमा ल्याएका छन् । तर पनि सबै राजमार्गहरु सञ्चालनमा ल्याउन सकेको छैन ।
शुक्रबार यता मात्रै बाढी पहिरो तथा डुबानबाट १५ जनाको मृत्यु भइसकेको छ । जेठ २८ यता मात्रै नेपालभरीको विभिन्न स्थानमा बाढी पहिरोबाट ७४ जनाको मृत्यु भइसकेको छ । बाढी पहिरो तथा विपद्मा परी काठमाडौँ उपत्यकाबाट एक जना, मधेश प्रदेशबाट ३ जना, बागमती प्रदेशबाट ४ जना, कर्णाली प्रदेशबाट ४ जना, सुदूरपश्चिमबाट ४ जना र गण्डकी प्रदेशबाट २२ जना गरी ७४ जनाको मृत्यु भएको छ ।
यसैगरी विपद्बाट ८८ जना घाइते भएका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा तीन जना, लुम्बिनी प्रदेशबाट ४ जना, बागमती प्रदेशबाट ४ जना, सुदूरपश्चिम प्रदेशबाट १० जना, कोशी प्रदेशबाट २१ जना र गण्डकी प्रदेशबाट २६ जना रहेका छन् ।
बाढी पहिरो तथा डुबानलगायत विपद्जन्य घटनाबाट आर्थिक तथा मानवीय क्षतिसँगै खेतीयोग्य जमिनमा पनि नकारात्मक असर पार्ने गरेको छ । विशेष गरी नेपालमा वर्षेपिच्छे असारदेखि ४ महिना विपद्को घटना बढ्ने गर्छ । अन्य समयको तुलनामा यो अवधिमा पानी निकै पर्ने भएकोले पनि विपद्जन्य घटना बढुने मौसमविद् बताउँछन् ।
विपदजन्य घटनामा नेपाल किन जोखिम ?
नेपालको अधिकांश भूभाग पहाडी क्षेत्रले ओगेटको कारणले पनि मनसुनको चार महिना अवधिमा विपद्को जोखिम बढ्ने विज्ञहरु बताउँछन् । छोटो अवधिमा धेरै पानी पर्ने, भिरोलो जमिन, कमजोर बनोटले गर्दा पनि धेरै क्षति हुँदै आएको भूसंरक्षण अधिकृत दिवाकर पौडेल बताउँछन् ।
यस्तै गरी २०७२ सालमा गएको विनासकारी भूकम्पले पहाडी क्षेत्रका अधिकांश जमिन चर्केर कमजोर भएको र त्यसमा पानी पस्न थालेसँगै जोखिम बढ्ने गरेको उनको भनाइ छ । पछिल्लो समयमा विकास निर्माणको नाउँमा जथाभावी डोजर प्रयोग गर्ने, मनपरी वन जङ्गल विनास गर्ने तथा विविध कारणले जोखिम बढ्दै गएको छ ।
जोखिम कम गर्नको लागि वातावरण अनुसारको विकास निर्माणको काम गर्नुपर्ने उनको धारणा छ । सोका लागि ५ ज (जल, जमिन, जनता, जंगल र जनावर) को संरक्षण हुने गरी विकास निर्माण कार्य गर्नुपर्छ । प्राकृतिक बनोट अनुसार पनि विकास निर्माण गर्ने, डोजर आतंकलाई कम गर्दा पनि जोखिमलाई तुलनात्मक रुपमा न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
जलस्रोतविद् अजय दिक्षितका अनुसार मनसुन अवधिमा करिब ८० प्रतिशत र अन्य ८ महिना २० प्रतिशत मात्रै पानी पर्ने भएकोले पनि नेपालमा यो समयमा विपद्जन्य घटना बढेको होे । पछिल्लो समयमा पानी पर्ने दरको फेरबदल, प्रकृति, वातावरण र प्राकृतिक खनिजको दोहन तथा जथाभावी विकास निर्माणको काम गर्दा पनि बाढी पहिरोबाट घटना बढेको उनको भनाइ छ ।
विपद्बाट बच्न सचेत रहन अनुरोध
नेपालमा जुनदेखि अक्टोबरसम्म मनसुन अवधि हुने भएकोले जुनसुकै समय पनि जोखिम आउने सक्ने भएकोले सचेत रहन सर्वसाधारणलाई उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत जल तथा मौसम विभागले अनुरोध गरेको छ । विभागको सूचना अधिकारी विभूती पोखरेलका अनुसार यो चार महिना भनेको मनसुनको अवधि हो ।
यो अवधिमा जुनसुकै बेला पनि पानी पर्ने सक्ने र रोक्न सक्ने उनको भनाइ छ । ‘यो समयमा मनसुन एक्टीभ हुने ब्रेक हुने भइरहेको हुन्छ । अस्ति शुक्रबारदेखि मनसुन एक्टिभ भएको हो,’ उनले जोय नेपालसँग भनिन्, ‘फेरि बीचमा पानीको ब्रेक हुन्छ । लगातार पानी रहने भन्ने हुँदैन ।’
यो समयमा अधिकांश कृषकले बाली विभिन्न बाली लगाउने र उब्जनीसमेत हुने भएकाले पनि पानी आवश्यक रहेको उनको भनाइ छ । ‘त्यसैले पानी नपर्दा पनि हामीलाई आपत नै हुन्छ । पानी धेरै पर्दाखेरी पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढी र डुबानको समस्या हुने गर्छ’, उनले भनिन् ।
खेतीपातीको लागि हाम्रो पानीको मुख्य स्रोत मनसुन भएकाले पनि वर्षा नभए पनि खडेरीको समस्या हुने उनले बताइन् ।
तर यो समयमा अत्याधिक पानी पर्ने भएकोले जोखिम बढ्ने गरेको उनको भनाइ छ । साथै भौगोलिक विकटताले गर्दा पनि समस्या हुने गर्दछ । ‘हाम्रो भौगोलिक बनावटले गर्दा पनि मनसुनमा समस्या हुने गरेको छ । छोटो समयमा धेरै पानी पर्ने भएकोले पनि समस्या हुन्छ,’ उनले भनिन् ।
मनसुनबाट हुने सबै क्षति रोक्ने मानिसको हातमा नभएको उनले सुनाए । त्यसको लागि व्यक्ति आफैँ सचेत हुनुपर्ने र सचेत रहन समेत उनले अनुरोध गरेका छन् । ‘यसमा पूर्वानुमान हेर्ने, आफू पनि सचेत भएर बस्ने, सम्भावना भएमा पूर्वानुमान सचेत भएर बस्ने गर्नुपर्छ,’ उनले भने ।
विपद्जन्य घटनाबाट कसरी बच्ने ?
–ठूलो खोलामा सानो खोला मिसिएको ठाउँमा अकस्मात बाढी आउने भएकोले सचेत रहनुपर्छ ।
–पानीमा अचानाक धमिलो पानी वा लेदो पानी आएको देखेमा बाढी आउने संकेत बुझ्नु पर्ने र सुरक्षित ठाउँमा जाने ।
–अचानक बाढी आउने भएकोले सुरक्षित स्थानमा जाने ।
–पहाडी क्षेत्रमा जमिन फाटेमा वा फुसफुस माटो खसेमा पहिरो आउन सक्ने संकेत हुन सक्छ । यस्तो देखेमा अरुलाई जानकारी गराई सुरक्षित ठाउँमा जाने ।
–आफू बसेको स्थानभन्दा माथि ठूलो पानी परेको छ की भनेर समय समयमा हेर्ने र सचेत रहने ।
–सम्भावित विपद्बारे पहिले नै सचेत भएर बस्ने ।
–जोखिमको स्थान पहिचान गरी सम्बन्धित निकायलाई जानकारी गराउने ।
–जोखिम क्षेत्रलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नको लागि ठाउँको छनोट गर्ने ।
–विपद् आइहालेमा सम्बन्धित व्यक्तिलाई बचाउनका लागि स्थानीयलाई प्राथमिक उपचार गर्नको लागि तालिम दिने ।
–जोखिमको सूचनाबारे पहिले नै जानकारी गराउने ।
–विपद्बारे आउने म्यासेजलाई संवेदनशीलता पूर्वक लिने र सुरक्षित ठाउँमा जाने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया