काठमाडौँ- फ्रान्सका सम्राट् नेपोलियन बोनपार्टको स्वामित्वमा रहेका दुई वटा बन्दुक लिलाम गरिएको छ । राजधानी पेरिसनजिमै रहेको फोन्टेन्ब्लू दरबारमा राखिँदै आएका ती बन्दुक १६ लाख ९० हजार युरो अर्थात् झण्डै २४ करोड ५० लाख नेपाली रुपैयाँमा लिलाम भएको बीबीसीले जनाएको छ ।
कुनै बेला ती हतियार प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको बताइएको छ । नेपोलियनले सन् १८१४ को अप्रिलमा गद्दीत्याग गर्न बाध्य पारिएपछि आत्महत्याको प्रयास गर्न ती बन्दुक राखेका थिए ।
ती बन्दुक १२ देखि १५ लाख युरोमा लिलाम हुने अपेक्षा गरिएको थियो । केही समयअघि फ्रान्सको संस्कृति मन्त्रालयले ती बन्दुकलाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा गर्दै विदेश पठाउन रोक लगाएको थियो ।
नेपोलियनको बन्दुक खरिद गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । ती दुवै बन्दुकमा सुन र चाँदीका सुन्दर बुट्टासहित नेपोलियनको चित्र पनि कुँदिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया