काठमाडौँ– रङ्गकर्मी किरण चाम्लिङले थिएटरका हरेक गतिविधिहरुलाई मिडियाको साथ, समर्थन र माया रहेको बताएका छन् ।
मण्डला थिएटरका युवा रङ्गकर्मीहरुले गरेको ‘म्याड फेस्ट–२०२४’ अन्तर्गत ‘केही माया केही विचारका कुरा’ मिडिया र थिएटरमाथि भएको बहसमा चाम्लिङले उक्त धारणा राखेका हुन् ।
जोखना, खुवालुङ जस्ता बहुचर्चित नाटक निर्देशन गरिसकेका चाम्लिङले मिडियाले सधैं माया गरेर थिएटरलाई हेरिरहेको बताए । ‘मैले गरेको नाटकहरुमा पनि मिडियाको उत्तिकै माया र साथ पाएँ,’ उनले भने, ‘थिएटरमा काम गर्ने क्रममा हाम्रा केही कमजोरीहरु पनि हुन्छन् , तर मिडियाले माया गरेर सधैं राम्रो कुरा मात्र लेखिदिनुभएको छ ।’
मिडियामा थिएटरको गहिराईभन्दा पनि सहतमा देखिएका सामान्य सूचना दिने हिसाबले कभरेज भइरहेको उनले गुनासो गरे । बहसमा चाम्लिङसँगै पत्रकार सुशीला तामाङ नाटककार तथा कला लेखक सुरज सुवेदी पनि थिए ।
बहसमा कला पत्रकारिता, नाटक समीक्षा, थिएटरमा मिडियाको पहुँच, थिएटरले निर्माण गरिरहेको विचार र त्यसलाई मिडियाले कसरी लिएको छ त भन्ने दृष्टिकोणबाट अर्का पत्रकार रीना मोक्तानले बहस अगाडि बढाएकी थिइन् ।
नाटककार सुवेदीले थिएटरको फैलावट र यसको विचार निर्माण प्रक्रियामा मिडियाको ठूलो भूमिका रहेको भन्दै हाल भइरहेको मिडियासम्मको पहुँचलाई सन्तोषजनक नै रहेको बताए ।
उनले भने, ‘एउटा नाटक चलेपछि त्यसको समीक्षा र मिडिया कभरेजको कुरा मैले अझ मेरो नाटक आएपछि बुझेँ । मैले पनि धेरै समीक्षा गरेको छु । नाटक र थिएटरलाई अगाडि कसरी लैजाने भन्ने कुरामा पनि मिडियाले भूमिका हुन्छ जस्तो मलाई लाग्छ ।’
पत्रकार तामाङले पनि सुवेदी र चालिङकै भनाइलाई सही थप्दै कभरेजकै हिसाबमा हेर्ने हो भने थिएटरले मिडियाको साथ र माया पाइरहेको बताइन् । उनका अनुसार मिडियाले गरिरहेको कभरेजको धारलाई आगामी दिनमा परिवर्तन गरेर लैजानुपर्छ ।
‘मिडियाले थिएटरलाई माया र सहानुभूति मात्र दियो भन्ने गुनासो रङ्गकर्मीहरुबाट सुनिन्छ । हामीले आलोचनात्मक रुपमा लेख्न अब माया गरी लेखेर मात्र हुँदैन होला ।’
थिएटर र रङ्गकर्मीहरुले नाटक चल्ने अवधिमा नभएर मिडियासँग थिएटरकै विषयमा निरन्तर संवादमा रहनुपर्ने धारणा राखिन् । थिएटर र मिडियासँगको सम्बन्धलाई दिगो बनाउन नाटकको कभरेज, समीक्षा मात्र नभएर रङ्गकर्मीहरुले मिडियाकर्मीको ठाउँमा बसेर सोचिदिन उनले आग्रह गरिन् ।
आइतबार समापन गरिएको म्याड फेस्टमा मण्डलाकै युवारङ्गकर्मीहरुका ६ वटा नाटकहरु मञ्चनका साथै, छलफल, सङ्गीत र कविता प्रस्तुतिका कार्यक्रमहरु समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया